जव आफन्तनै पराई हुनेछन् ......

बिचार चैत्र १६ २०७६ ekhabarnepal
Dr ghimire

डी.आर.घिमिरे
आज विहान मर्निङ्गवाकमा जानुपूर्व मेरो छिमेकी परम् मित्र तेजेन्द्र केसीलाई फोन गरें । पहिले पहिले सांकेतिक रुपमा कल ब्याक गर्ने चलन थियो । आज आएन । सोंचे शायद डर लागे होला । म आफू तयार भएर निस्के । सधैजसो हिंड्ने वाटो वँदेलपोखरीको प्रवेश नाका हुँदै गएँ । वाटोमा जाली लगाएर रोकिएको रहेछ । कतिपय ब्यक्तिहरु जवर्जस्ती जाँदै थिए । मैले सोंचे, अनुशासन पालन गर्नुपर्छ ।
म फनक्क फर्कें । राजमार्गतिर गएँ । यसो हेरें । दक्षिणतिर जाने सडकमा पनि त्यसरीनै घारा तेर्सिएका थिए । मलाई लाग्यो जनता सचेत् हुँदैछन् । हिँजो धेरैतिर अनुशासन उल्लंघन भएका टिप्पणीहरु सामाजिक सञ्जालमा हेरेको थिएँ । किशन ज्ञवालीले अलि धेरै चिन्ता गरेको सम्झें । आज फेरि मोवाइलमा उनको स्टाटस हेरें । 
स्टाटसमा लेखिएको थियो—
“बुटवल वार्ड नं. १३ वँदेलपोखरी न्यू गणतन्त्रपथमा आजै ३०० जनाभन्दा वढी काम नभएकाहरु ( जितेश्वरी वनवाट रुख काटेर दाउरा ल्याए । केही युवाहरु जर्किनका जर्किन रक्सी वोकेर जितेश्वरी स्कूलतिरवाट माथि लागे । कोही इभिनिङ्ग वाक भन्दै ।) लखर लखर हिंडे । दुईचार जनावाहेक अरु पहिचान नभएका वँदेलपोखरीभन्दा वाहिरका छन् । यी मनुवाहरुलाई के गर्दा ठिक होला ? आज जितेश्वरी टोल विकास सस्थाको नेतृत्वमा वाटो पूरै वन्द गरियो । राम्रो मुखले सम्झाउने यहाँभन्दा उत्तम विकल्प अव अरु वाँकी रहेन ।”
कोरोनाले विस्तारै मान्छेलाई गंभीर वनाउँदै छ । इटाली वा अमेरिकाको इतिहास नदोहोरियोस् भनेर प्रार्थना गर्ने अवस्था सृजना भएको छ । 
आफ्नै गाउँमा पराई 
उमलाल वन्जाडे संयोगवस पहाडतिर हुनुहुन्छ यतिवेला । अर्घाखाँची धारापानी उहाँको जन्मथलो हो । वुटवलको वेलवासमा स्थायी वसोवास गर्ने वन्जाडे आफन्तीको मृत्यु सस्कारका लागि जानु भएको थियो । उतै छँदै लकडाउन भयो । रोकिनुपर्ने अवस्था भयो । सहरतिरवाट कोरोना आउँछ कि भन्ने भय यतिवेला सवैमा छ । त्यसैले सहरतिरका मान्छे भेटिएमा तर्कने गर्छन् गाउँतिरका मान्छेहरु ।
कुनैवेला सहरवाट आएको मान्छे भेट्दा वा कुरा गर्दा आत्मसम्मानजस्तो हुन्थ्यो । नयाँ खवर छिटै पाइन्छ कि भन्ने पनि हुन्थ्यो । तर, अहिले फरक छ ।
 “हिँजो वाटोमा आउँदै थिएँ राम्रो चिनजान भएकी भाउजु घाँसको भारी वोकेर आउँदै हुनुहुन्थ्यो । सधै मिठो मसिनो कुरा गर्ने भाउजु त नवोली वाटो मुनी जानु भयो ।”
यो कुरा उमलालजीले सुनाउनु भएको थियो । हुनपनि अर्घाखाँचीमा अहिले वाहिरी मान्छे जान पूरै रोकिएको छ । आज मैले पाणिनि गाउँपालिका साविक मैदानका वडा अध्यक्ष जीवलाल घिमिरेलाई सम्पर्क गरें । उनले भने—“दाजुभाई, नातागोता, इष्टभित्र कसैकोमा जान वन्द भयो । घरभित्रै वसिउको छ । सम्वन्धनै हराउला जस्तो छ ।”
हुनपनि अर्घाखाँचीका नाकामै पनि वन्द गरिएको छ । पत्थरकोटवाट जाँदा डोंटे, सालझण्डीवाट जाँदा ढुङ्गे र गुल्मीतिरवाट जाँदा खज्र्याङ्गमा पुलिसले रोक लगाएको छ । आधिकारिक ठाउँको पास नभएसम्म जान आउन पूरै वन्द ।
यस्तो वढी किन भयो त ? सहरवाट र खासगरि भारतवाट अत्यधिक मान्छे पहाडतिर लागे । यसरी ह्वार् ह्वार्ति जाँदा रोग पनि आउन सक्ने भयले तर्सायो सवैलाई । त्यतिमात्र हैन सहरवाट आउनेहरु संक्रमितनै छन् कि भन्ने पनि लागे होला । यसर्थ उनीहरुले अलि वढीनै कडाई गरे । 
पछि चिन्ता गर्नुभन्दा पहिलेनै सतर्कता अपनाउनु नराम्रो हैन । किनकि हामीले इटाली, स्पेन  र अमेरिकाका इतिहास पढेकै छौं । 
आजमात्र मैले इटालीको कथा पढ्ने अवसर पाएँ ।
आज २८ मार्च हो । २३ मार्च यता चार दिनमा ६ हजार भन्दा बढी मानिसको मृत्यु भएको छ । जव बिरामी मर्ने निश्चित हुन्छ उनका आफन्त र प्रियजनहरु अलग हुन्छन् । मृतकको नजिक कोही जान्न । शवदाह गृहको बाहिर लाशको खात छ । अस्पतालको मुर्दाघर लाशले भरिएको छ । 
मैले नेपाली सस्कार अनुसार स्मरण गर्छु,—मरेपछि आफन्तले अन्त्येष्टी गर्नुपर्ने हो । लाशलाई छोपेर निर्धक्कसंग रुनुपर्ने हो । फूलमालाले अन्तिम विदाई गर्नुपर्ने हो । निःशब्द अनुहारमा वुढाले वुढीलाई  वा वुढीले वुढालाई अन्तिम पटक चुम्वन लिनुपर्ने हो । हरेक सन्तानले बाबुआमालाई पनि यस्तै गर्नुपर्ने हो । डाँको छोडेर रुनु पर्ने हो । हरेकका पिडामा आँशु देख्ने, पुछ्ने र दुःखमा सहभागी हुने मान्छेहरुको भिड हुनुपर्ने हो । १३ दिनसम्म शोक समवेदना प्रकट गर्ने, मृतकले दुःख नपाउन् भनेर विभिन्न कर्म गरिनुपर्ने र पिडामा रहेका परिवारका सदस्यलाई शान्त्वना दिनका लागि भेटघाट गर्ने अवस्था हुनुपर्ने हो ।
 ती सव गरिहँदा क्रियापुत्रीहरु अरुसंग नछोइने, अलग पकाएर खाने अथवा अहिले संसारभर भइरहेको क्वारेन्टाइनको अवस्थामा वस्नुपर्ने पनि शायद यस्तै अवस्थाले गराएको थियो कि ? वास्तवमा उनीहरुलाई रोगले नछोओस् भनेर अनेक विधि र प्रक्रिया अपनाएका हामीहरुमाथि त्यस्तै अवस्था आयो भने के गरौंला ?
संयोगनै मान्नुपर्छ यही वेलामा रुपन्देहीका चर्चित उद्योगपति डम्वरदेव अर्याल पुत्र शोकमा हुनुहुन्छ । अस्ति पाँचौ दिनको दिउसो समवेदना ब्यक्त गर्न नयागाउँस्थित निवासमा छिमेकी साथीहरु पुरुषोत्तम घिमिरे, शोभाखर पोख्रेल र वेदप्रसाद गैरेसहित गयौं । कोरोनाको प्रभावले टाढावाट साथीभाई, इष्टभित्र, नातागोता आउन सम्भव नहोला । नजिकका इष्टमित्रहरु त जानैपर्यो भनेर गयौं ।
घरवाहिर सूचना लेखेर सावुन पानीले हात धोएर मात्र भित्र जान अनुरोध गरिएको रहेछ । अनौठो लाग्यो । धेरैवेर दुःखसुखका कुरा भए । जीवनमा धेरै हण्डर खाने उद्योगीमा पर्नुहुन्छ उहाँ । ७० वर्षको हाराहारीमा पुत्र शोकमा पर्नुभएको छ । उद्योगको सम्पूर्ण रेखदेख गर्ने गरि सत्ता हस्तान्तरणको अवस्थामा पुग्नु भएका डम्वर दाई फेरि एउटा चक्रब्युहमा पर्नुभएको छ । 
नेपालमा कोरोना आएको छैन । तर, वैश्वीकरणको कारणले डम्वर दाइजस्ता धेरै ब्यक्ति अर्ध प्रभावमा पर्नुभएको छ । अर्ध यस अर्थमा कि नातागोता छिमेकी, इष्टभित्रवाट जुन स्नेह पाउनु पर्ने हो त्यो पाउन सक्नु भएको छैन ।
ठिक यही अवस्था नयागाउँकै अर्का साथी अकनवहादुर थापाले ब्यहोर्दै हुनुहुन्छ  । उहाँको वुवाले देह त्याग गुर्नभएको चार दिन भयो । अस्ति विहानै घरमा गएर मगरघाटमा अन्त्येष्टी गरियो । यस्तो वेलामा वस लैजानुभएन भनेर मोटरसाइकलमा जाने निर्णय गरियो । अन्तमा म आफै जान सकिन । किनकि मसंग मोटरसाइकल थिएन ।
अहिले हामी जे अवस्थामा छौं ठिकै छौं । अहिलेसम्म डराई डराई भेटघाट भएकै छ । पानी चलेको छ । भान्सा एउटै छ । वजारमा किनेर खान पाइएको छ । स्थिति लम्विदै जाँदा के हुन्छ भन्न सकिन्न । जव खाने कुरा सकिन्छ त्यसवेला भकारी फोरेर पनि वाँच्नुपर्ला । 
तर, इटालीको अवस्था यस्तो पनि छैन । 
यहाँसम्मकि शवलाई अन्तिम संस्कारका लागि तयार पार्ने काम पनि उनका परिवारले गर्न पाउँदैनन् । अन्तिम पटक मरेको लाशलाई हेर्न र अन्तिम संस्कारमा सहभागी हुन पाउँदैनन् । वरु मृतकको शरीरलाई तुरुन्तै ’शील’ गरिदो रहेछ । हो त्यही इटलीमा अहिलेसम्म करिब ८,२१५ जनाको मृत्यु भइसकेको छ । ८०,५८९ जना संक्रमित भेटिएका छन् । जहाँ आफन्तहरु पराई भएका छन् ।
निश्चयनै नेपालमा त्यस्तो हुने छैन । नेपाली मूल्य, सस्कृति र सभ्यताले पनि त्यसो हुन दिदैन । म विज्ञानको विद्यार्थी हैन । त्यसैले यसलाई प्रमाणित गर्ने हैसियत मसंग छैन तर, राजनीतिशास्त्र र पत्रकारिताको विद्यार्थी हुनुको कारणले केही तर्क अवश्यै छन् । जसलाई मैले अरु कुनै दिन सविस्तार उल्लेख गर्ने कोशीस गर्नेछु ।
अहिलेलाई यति मात्र कामना गर्छु त्यस्तो दुर्दशाको अवस्था नेपालले भोग्नु नपरोस् । यसका लागि लकडाउन्, ! लकडाउन् !! फेरि पनि लकडाउन् !! यसमा कसैले पनि लापरवाही नगरौं ।
 

प्राप्त प्रतिकृयाहरू

To Top