कस्तो आयो यो मान्छेदेखि मान्छे डराउने युग

बिचार चैत्र १५ २०७६ ekhabarnepal
Dr ghimire

डी.आर.घिमिरे 
कोरोना भाइरसले मानिसलाई कहाँ पुर्याउँछ भन्न सकिन्न । यसले कस्तो भयावह सृजना गर्ने हो भनेर अनुमान गर्न सकिने अवस्था पनि छैन । तर, एउटा विचित्रको अवस्था भने आएको छ । मान्छेदेखि मान्छे डराउने ।
मान्छे सामाजिक प्राणी हो भनेर पढ्ने गरेको आजसम्मको अवस्थालाई हेर्दा कतै यो परिभाषानै फेरिने त हैन ? यही परिवेशमा अवको भविष्य कस्तो होला ? 
यद्यपि मान्छेदेखि मान्छे डराउने अवस्था नेपालका लागि नयाँ हैन । पत्रकार मोहन मैनालीले माण्ठादेखि माण्ठा डराउने युग भनेर एउटा पुस्तकनै लेखेका छन् । माओवादी युद्व कालमा उनले भोगको अवस्थालाई सुन्दर शब्दमा उतारेर तयार गरेको पुस्तक असाध्यै मिठो छ । 
अहिले ठिक त्यस्तै परिवेश आएको छ । उही रुपमा हैन, रुप फेरेर । मान्छे चोला फेरेर अर्को जुनीमा आउँछ भन्थे समय पनि त्यस्तै रहेछ । हरेक कुराको विकल्प दिने वैज्ञानिकहरु यतिवेला दुला पसेका छन् । दुला पस्नुको अर्थ भागेको अर्थमा हैन खोजका लागि हो । तर, के गर्नु उनीहरुको वाली अवरुद्व छ वरु ज्योतिषीलाई सोधे केही जवाफ आउला कि ? 
यस्तै भविष्यवाणी गर्ने ‘‘इन्ड अफ डेज्ः प्रिडिक्सन एन्ड फ्रोफिसेस अबाउट दी इन्ड अफ दी वल्र्ड’ पुस्तककी लेखक सिल्भिया ब्राउनको चर्चा छ । सन् २००८को गर्मीयामतिर दाबी गरिएको उनको ‘अशुभ भविष्यवाणी’ यस्तो रहेछ— 
‘उपलब्ध उपचार विधिले काम नगर्ने, फोक्सो र श्वासनलीमा आक्रमण गर्ने एक गम्भीर निमोनियाजस्तो रोग करिब सन् २०२० तिर विश्वभर फैलिने छ,’ 
‘रोगभन्दा चकित पार्ने तथ्य यो हुने छ कि यो जसरी आएको थियो, यो त्यसरी नै अचानक गायब हुने छ । १० वर्षपछि फेरि आक्रमण गर्नेछ र त्यसपछि पुरै हराउने छ ।’
ती भविष्यवाणी गर्ने लेखक ब्राउनको सन् २०१३ मा मृत्यु भयो । तर, कोरोना भाइरसको महामारीले उनको पुस्तकले संसारभरिकै ध्यान आकर्षित गराएको छ । यसको ‘हार्ड कपी’ सयौं डलरमा बिक्री भइरहेको छ । अमेजोनको ‘नोटिफिसेसन चार्ट’मा दोस्रो नम्बरमा छ ।  
उनी जीवितै छँदा उनको प्रसस्तै आलोचना भएको रहेछ । उनले गरेको यो भविष्यवाणी मिल्यो या मिलेन तर उनले आफ्नैवारेमा गरेको  भविष्यवाणी अुसार ८८ वर्षको उमेरमा मर्नुपर्नेमा ७७ वर्षमै मरिछन् ।
जे होस् अहिलेको चोला फेरिदा धेरै कुरा फेरिने अनुमान गर्न सकिन्छ । यसवाट सम्भवतः मानिसका चिन्तन प्रणालीहरु पनि फेरिने छन् । 
यसैवीच कोरोना भाइरस प्रकोपको अध्ययन गरिरहेका ब्रिटेनका वैज्ञानिकहरूले दशौँ लाख मानिसको ज्यान जोगाउने हो भने सरकारहरूले अत्यन्त चाँडो गतिमा कदम चाल्नु पर्ने बताएका छन् ।
इम्पेरियल कलेज लन्डनले गरेको अध्ययन अनुसार परीक्षण र एक्ल्याउने काम नगरे अनि सामाजिक दुरी कायम नराखे ठूलो सङ्ख्यामा मानिसहरूको ज्यान जान सक्छ । यद्यपि यो कुरा भन्न कुने वैज्ञानिक हुनु पर्दैन ।
बीबीसीका अनुसार कम्प्युटर प्रणालीबाट निकालिएको हिसाब अनुसार अत्यन्त खराब स्थितिमा सघन उपचार आवश्यक पर्ने बिरामीहरूको सङ्ख्या धान्न सकिने भन्दा २० गुना ज्यादा हुनेछ ।
युरोपको रोग नियन्त्रणसम्बन्धी एउटा निकायले बढी उमेरका मानिसभन्दा पनि धेरै धूम्रपान गर्नेहरूमा कोरोनाभाइरस सङ्क्रमणको वढी रहेको हुनसक्ने बताएका छन् । तर, यो नै अन्तिम सत्य भने हैन ।
उपाय लकडाउनको पालनानै हो 
सिङ्गापुरमा एक मिटर अर्थात् साढे तीन फिटको दुरी नराखेमा १० हजार डलर अथवा ६ महिना जेल वा दुवै सजायँ गर्ने ब्यवस्था भएछ । आज विहानसम्म ६८३ जना संक्रमित र १७२ जना निको भएर घर फिर्ता भएका छन् । अहिलेसम्म २ जनाको मृत्यु भएको छ । यो अवस्थामा राज्यले अलि कडाई गर्नुपर्ने अवस्था आएको होला ।
इटाली धेरै हदसम्म ध्वस्त भयो । अत्यधिक मानिस मर्ने अवस्था आयो । त्यसैले त्याहाँ पनि  घर वाहिर निस्के ५ वर्षसम्म जेल हुने ब्यवस्था गरियो ।
अमेरिका आजैदेखि अलि ठाउँमा आएको छ । राष्ट्रति डोनाल्ड ट्रम्प हिजोसम्म “चाइनिज भाइरस” वा “वुहान भाइरस”भनेर खिसीट्यूरी गर्ने अवस्थावाट आज ठिकै ठाउँमा आइपुगेका छन् । आजमात्र उनले कोरोना भाइरस भनेर वोले र चिनियाँ राष्ट्रति सी जिनपिङ्गसंग वार्तासमेत गरे ।
तर, उनी त्यसै यो ठाउँमा आएका हैनन् । यसपछि मैले न्यूयोर्कवाट प्रकाशित खसोखास डट कम हेरें । स्थिति डर लाग्दो छ । “यसकारण न्युयोर्क बन्यो कोरोनाको नयाँ इपिसेन्टर” शीर्षकको समाचार अनुसार विश्वमा कोरोना संक्रमितको संख्या सबैभन्दा धेरै भएको मुलुक अमेरिका बन्यो । त्यसमा पनि न्युयोर्क राज्यको न्युयोर्क सिटी नयाँ इपीसेन्टर बनेको छ । न्युयोर्क सिटी अमेरिकाको सबैभन्दा घनत्व भएको र ठूलो सिटी हो । 
शिकागो र फिलाडेल्फियाको भन्दा दोब्बर तथा लस एन्जलसको भन्दा तेब्बर ८ मिलियन भन्दा धेर जनसंख्या औषतमा एक बर्गमाइल क्षेत्रमा २७ हजारको बसोबास रहेको क्षेत्र न्यूयोर्क हो । न्युयोर्कमा निजी गाडीभन्न्दा सार्वजनिक गाडीको सुविधा वढी छ । यो मैले पनि ब्यहोरेको छु ।
न्युयोर्कमा यति धेरै फैलनुमा विद्यालयहरु बन्द गर्न, सामाजिक जमघटहरु रोक्न, भेलाहुनमा रोक्न ढिलाई हुनु मुख्य कारण मानिएको छ । मार्च २२ मा १५ हजार भन्दा धेरैमा संक्रमण भएपछिमात्र घरमा बस्न आदेश दिइयो ।
यस अर्थमा कुनै पनि हालतमा ढिला ढाला वा हेलचेक्राइ गर्नु आत्महत्या गर्नु हो भन्ने कुरा वुझ्न आवश्यक छ ।
बुटवलमा आजदेखि टोल विकास सस्थाहरुले आ—आफ्नो टोलमा प्रवेश निषेध गरेका छन् । यो राम्रो कुरा हो । धेरै ब्यक्तिले सामाजिक सञ्जालवाट कसैलाई घरवाट ननिस्कन प्रेरित गरेका छन् । यो अनुभूति हुनु ज्यादै राम्रो पक्ष हो । 
टोल विकास सस्थाहरु नेपालकै सन्दर्भमा असाध्यै उपयोगी सावित भएका छन् । विसं २०५४ सालदेखि गरिवी न्यूनिकरणका लागि सहयोगी हुने सोंचेर यसको सुरुवात गरिएको थियो । बुटवलमा शुरु गर्दा भोजप्रसाद श्रेष्ठ प्रमुख हुनुहुन्थ्यो । यसको सोंचसम्वन्धी सवै कुरा मलाई थाहा हुने कुरा भएन । त्यसैले आजै मैले मेरो छिमेकमा वस्ने बुटवल उपमहानगरका वरिष्ठ अधिकृत रामप्रसाद अर्याललाई फोन गरेर जानकारी लिएं । 
संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम ( यूएनडीपी), संयुक्त राष्ट्रसंघीय मानव वसोवास केन्द्र ( युएनसीएचआर), राष्ट्रिय योजना आयोग, स्थानीय विकास र भौतिक योजना मन्त्रालयको संयुक्त पहलमा यसको अवधारणा ल्याइएको रहेछ । २०५५ सालमा १२ वटा नगरपालिकामा पहिलोपटक शुरुवात गरियो । 
सीप, संगठन र वचत गर्ने मुख्य काम यसका थिए । यो कार्यक्रम गाउँनगर साझेदारी (रुप)  मार्फत गरिएको थियो । यसको मुख्य अवधारणा भनेको गाउँको उत्पादन सहरमा ल्याउने र सहरको प्रविधि, वीउ, मल गाउँ लैजाने भन्ने थियो । यसो गर्दा गाउँ र सहरलाई जोड्न सहज हुने भयो । पछि यसलाई २६ वटा नगरपालिकामा विस्तार गरियो र अहिले देशैभरी लागु गरिएको छ ।
नेपालमा यसको सफल प्रयोग भएपछि अहिले कम्वोडियामा पनि लागु गरिएको रहेछ । नेपालका लागि यो खुशीको कुरा हो । यीनले सुशासन प्रवद्र्वनमा महत्वपूर्ण सहयोग पुर्याएको पाइन्छ । अहिले सवै काम टोल विकास समितिमार्फत हुने गर्छन् । धारा पानी जोड्न पनि यीनको सिफारिस आवश्यक हुन्छ । जनतालाई चिन्ने भनेको टोल विकास समितिका नेताले हो । जनप्रतिनिधिले हैन । हरेक सूचना लैजाने माध्यम यीनै हुन् । 
मुख्यमन्त्रीको अपिल
 यस कारणले पनि हुनुपर्छ अस्ति वुधवार मुख्यमन्त्रीले सार्वजनिक रुपमै टोल विकास समितिहरुलाई अनुरोध गर्दै भनेका थिए—सहरी आवास क्षेत्रका टोल विकास सस्थाले स्थानीय सुरक्षा निकायको सहयोगमा आफ्नो टोलभन्दा वाहिरको ब्यक्तिलाई आउनवाट रोकौं । खाद्यान्न र तरकारीको व्यवस्था टोलकै पसलहरुमा मिलाऔं । कोराना भाइरसवाट जोगिन सामाजिक र ब्यक्तिगत दुरीलाई निरन्तर कायम राखौं । अत्यावश्यक कामका लागि वाहिर वानुनै परेमा स्थानीय सुरक्षा निकायको अनुमति लिएर मात्र जाऔं ।
वुधवार मुख्यमन्त्रीले गरेको अपिललाई शुक्रवारसम्म आइपुग्दा लागु गरेको पाइएको छ । ढिलै भएपनि यसलाई सकारात्मक मान्नुपर्छ । 
रुपन्देहीमा पहिलोपटक तिलोत्तमा नगरपालिकाले दैनिक ज्यालादारीमा मजदुरी गरेर जीविकोपार्जन गर्नेहरुलाई खाद्यान्न उपलव्ध गराउने निर्णय गरेर सवैलाई वाटो देखाउन अगुवाई गर्यो ।  उसले यो निर्णय वुधवारनै गरेको थियो । आज खाद्यान्न वितरण गरेरै नमुना प्रदर्शन गर्यो ।
तिलोत्तमाले टोल विकास संस्थाहरुको सिफारिशमा खाद्यान्न उपलव्ध गराउन थालेको हो । विपन्न परिवारलाई १० किलो चामल, २ किलो दाल र एक किलो नुन वितरण गरेको छ । यो सत्प्रयासलाई धन्यवाद दिनैपर्छ । एकैदिनमा करिव एकसय विपन्न घरपरिवारलाई खाद्यान्न उपलव्ध गराएको छ । नगरका १७ वटा वडामा करिब ८ सय अति विपन्न परिवार रहेको अनुमान गरिएको छ । यो सिको अन्य छिमेकी नगरपालिकाहरुले पनि गर्दैछन् ।
त्यस्तै बुटवलमा लायन्स क्लव अफ बुटवल युथले दैनिक ज्याला मजदुरी गरि खाने गरिव तथा बिपन्न परिवारलाई खाद्यान्न बितरण गरेको छ । 
बुटवल उपमहानगरपालिका वडा नं. ५ शिवालय मन्दिरमा त्यसै आसपासका सुकुम्बासी क्षेत्रमा बसोबास गर्ने ५० परिवारलाई चामल, दाल र नुन वितरण गरिएको समाचारले सवैलाई उत्प्रेरित गर्नसक्छ । 
संघीय सरकार, प्रदेश सरकार र स्थानीय तहले सञ्चालन गरेका काममा क्लवले सहयोग र सहकार्य गर्न तयार रहेको बताउँदै सरकारलाई आवश्यक परेमा स्वयम् सेवकको भूमिका निर्वाह गर्न तयार रहेको सन्देशसमेत दिनु स्वागतयोग्य कुरा हो ।
 

प्राप्त प्रतिकृयाहरू

To Top