आज कौवा रमाएजस्तो लाग्यो

समाज चैत्र १४ २०७६ ekhabarnepal
Dr ghimire


डी.आर.घिमिरे
आज विहानै सधैभन्दा फरक हिडाइ गर्ने योजना अनुरुप वेलभरियाको वाटो तताएँ । आरम्भ रिसोर्टका अध्यक्ष बाबुराम महतजीसंग हिजो साँझनै त्यसतर्फ जाने कुरा भएको थियो । ढवाहभन्दा ठिक पारी दुरीको हिसावले करिव ४ किलोमिटर होला । अर्थात् दानव नदी तरेर जानु पर्ने । त्यस ठाउँमा उहाँले तरकारी खेती गर्नुभएको र केही जग्गा वाँकी रहेकाले यो वर्ष ड्रागन फ्रुटको खेती गरेर प्रयोग गरौं भन्ने मैले प्रस्ताव गरेको थिएँ । सो कुरालाई उहाँले आत्मसात गरेकाले एकपटक हेर्न जाऔं भन्ने उहाँको आशय थियो ।
यसका लागि यही समय उपयुक्त हुने ठानेर जाने योजना थियो । उठ्न अलिकता ढिला भयो आज । ५.१५ वजे उठेर नित्यकर्म गर्दा ५.४० भयो । एकपटक मोवाइल गरें र म आउँदै छु भन्ने जानकारी दिएँ । म वेलवास वस्ने र उहाँ नयागाउँ वस्ने भएकोले त्यसैपनि मलाई सो ठाउँमा जान १५ मिनेट लाग्थ्यो ।  
राजमार्गमा के निस्केको थिएँ । नयागाउँतिर पस्ने चोकमा एउटा ठूलै पिपलको वोटमा कौवा कराइरहेका थिए । यसो एकछिन अडिएर सुनें । उनीहरुको आवाज वुझ्ने प्रयास गरें । वुझिन । मनमनै अर्थ लगाएँ । तिनीहरु आज खुशी छन् जस्तो लाग्यो । रमाएको जस्तो लाग्यो । सधैजसो गाडीको आवाजले तिनीहरुको वासस्थान लुटिएको थियो । चाहेर पनि वस्ने अवसर थिएन । हल्लाखल्लाले भाग्नु पर्दथ्यो ।
तर, आज मस्तीसंग रमाएका छन् । लकडाउनले ठिके गरेछ जस्तो लाग्यो । केही दिन अँघि हिमाल खवरपत्रिकामा मुकेश पोख्रेलेको एउटा रिपोर्टिङ्ग जंगली जनावरसम्वन्धी थियो । वन्यजन्तुविज्ञ डा.मुकेश चालिसेले मानिसको आवागमनले वन्यजन्तुको प्राकृतिक घुमफिर, बासस्थानमा बाधा पर्ने कुरा उदाहरणसहित वताएका थिए । र अहिले त्यो नहुँदा वन्यजन्तुलाई राहत भएको समाचार प्रकाशित थियो । 
कृष्णप्रसाद घिमिरेले सामाजिक सञ्जालमार्फत् वातावरण प्रदुषण अभूतपूर्व रुपमा घटेको वताएका थिए । मलाई पनि कौवाको अवस्था देखेर त्यस्तै लाग्यो ।
 नयागाउँ पुगेपछि बाबुरामजीलाई वोलाएँ र वेलभरियाको वाटो ततायौं । वास्तवमा कृषि कर्म कति महत्वपूर्ण छ भन्ने कुरा हिजोआज एकजना नेपाली वृटिस आर्मीको समाजिक सञ्जालको वयाननै काफी रहेको चर्चा गर्यौं. । सोको चर्चा हिजो काठमाण्डौवाट नारायणकाजी श्रेष्ठ (राजनीतिकर्मी हैन सामाजिक अभियान्ता जसलाई काजी दाई भनेर चिनिन्छ) ले मलाई सुनाउनु भएको थियो ।
ति रिटायर्ड वृटिश आर्मीको मासिक पेन्सन सवा लाख रहेछ । वेलायतको वैंकमा एक लाख स्टरर्लिङ्ग पाउण्ड र नेपाली वैकमा दुइ करोड नेपाली रुपैयाँ रहेछ । तर, खानका लागि वजारमा जाँदा चकलेटवाहेक अरु पाइएनछ । सुगरको विरामी चकलेट खाएर वाँच्नु पर्ने अवस्था आएको छ । यो भन्दा विडम्वना अरु के होला ? उनलाई अहिले महसूस भयो कि पैसा भन्ने कुरा केही रहेनछ । यो वुझाई हरेक नागरिकले गरेको हुनुपर्छ ।
यस्तै कुरा गर्दै जाँदा वाटो काट्न सहज भयो । खेतमा खुर्सानी भाण्टा फलेका रहेछन् । अलिकता टिपियो । आफै टिपेर खानुको मज्जानै फरक । फर्केर घर आएँ । नुवाईधुवाई गरेर सामाजिक सञ्जालमा वसेको दुइवटा स्टाटसले मन छोयो । मैले यसवीचमा कतिपय स्टाटसको अध्ययन गरेको छु । लकडाउनको पहिलो दिन सांसद विष्णु पन्थी र वेलवास निवासी मन्जु खानल पोख्रेलको स्टाटसले यसरीनै मन छोएको थियो ।
सांसद पन्थीको स्टाटस थियो—रुपन्देही सैनामैना नपा—५ बक्सडका २१ वर्षीय अजय सहानी ७ दिन अघि कपिलवस्तु गोबरीमा टैक्टर दुर्घटनामा परेका र त्यसको बुटवल मेडिटेक अस्पतालमा उपचार हुँदै थियो । उनलाई ज्वरो आएपछि आइसियुको लागि भैरहवा युनिभर्सल मेडिकल कलेजमा लैजानु भनेपछि पुर्याएको तर त्यहाँ भित्रै हाल्न मानेनछन् र ऊनी बाहिर अलपत्र छन् । मैले मेडिटेक र भैरहवा मेडिकल कलेजमा मोबाइल लगाए तर दुबैका बन्द छन् । अनि फेरि हाम्रा प्रदेशका सामाजिक बिकास मन्त्री तथा अहिलेको भवितव्यमा भैरहवा—दक्षिणी कमाण्डर तोकिनु भएका माननीय  सुदर्शन बरालजीलाई सम्पर्क गर्न खोजे तर उहाँका पनि दुबै नं उठेनन् । उता बिरामीका आफन्तको नंम्वरले मेरो मोबाईलमा घण्टी बजेको बज्यैछ । गर्ने कसो ? हेर्दैछु के गर्न सक्छु । हाम्रो यो तरिका लाउरे पारा भयो ।
यसरीनै मन छुने मन्जु खनाल पोख्रेलको स्टाटस थियो— यो वेलामा कालगतिले मरेपनि कसम कोही मलामी गए त वरै गारो छ अहिलेको अवस्था । 
त्यस्तै आज विहानका दुई स्टाटसले पनि मलाई भावुक वनायो । त्यसमध्ये एउटा मेरै पारिवारिक सदस्य भाई युवराज घिमिरेको थियो । जसमा भनिएको छ— “अधिकाशं एम्बुलेन्सहरूले फोन नउठाउने,विरामी ल्याउन, लैजान नमान्ने विषय उठिरहेका छन, राज्यबाट ९९ प्रतिशत भन्सार छुटमा ल्याईएका एम्बुलेन्सको अनुगमन गरौ । कठिन परिस्थितिमा जोखिम मोलेर सेवा दिनेलाई सम्मानित र प्रोत्साहित गरौ”। 
अर्को थियो प्रीति कार्कीको । प्रीति काठमाण्डौमा कानुन ब्यवसायमा संलग्न छिन् । उनीसंग एकपटक चिन जाँदा एयरपोर्टमा भेट भएको थियो । उनी आफ्नो साथी पिपलालाई विदा गर्न आएकी थिइन् । पिपला हाम्रो गाइड थिइन् । त्यसै प्रसंगमा सामान्य परिचय भयो । फोटा खिचियो र विदा भयौं । उनै प्रीतिको यो स्टाटसले संकटको वेला जिम्मेवार निकायले कसरी काम नगरि टार्छन् भन्ने कुरा देखाउँछ । 
उनले भनेकी छन्—“हाम्रो घर तल बस्ने दुई बर्षिय बाबुलाई विगत ५÷६ दिन   देखि १०४ डिग्री ज्वरो आईरहेको थियो । अस्तिको दिन उपचारको लागि बच्चालाई ईसान अस्पताल लगियो तर उपचार गर्न अस्पतालले नमानी गेट बाटै फर्किनु पर्यो । बाल डाक्टरको २ दिनदेखि मोवाईल स्वीच अफ हुँदा कुनै सल्लाह—सुझाव उनीहरुले पाएनन् । ईसान  अस्पतालले बच्चालाई टेकु अस्पताल लैजाउ भने पछी उनी कोरनाको बेलामा टेकु जानभन्दा सामान्य ज्वरोको दवाई लिई  घर फर्किए । 
दुइ दिनसम्म बच्चालाई हेर्दा पनि ज्वरो कम नभएपछि आज टेकु अस्पताल लग्दा  कोरानाको  आशङ्कामा बुवा, आमा छोरा तिनै जनालाई टेकु अस्पतालको क्वारेन्टाईनमा राखेको छ । अहिलेसम्मको रिपोर्टमा बच्चामा साधारण फ्लु ज्वरो आएको छ । अव बाँकी रिपोर्ट आउन तीन दिन लाग्छ । उनको  देवर  दुबइबाट आएको १४ दिन भएको हुँदा सबैजना कोरोनाको आशङ्का पर्नु भो । प्रार्थना गरौ कोरना नहोस् ।
  उहाँहरुसंगै सम्पर्कमा  हामी पनि रहेको हुँदा हामीमा पनि त्रास हुनु स्वभाविक होला । तर दुई दिन अघी हामी कहाँ—कहाँ पुग्यौ, वल्लो—पल्लो घर, अफिस, अदालत,  पसल । साेंचौ यदि तलको  परिवारमा कोराना पोजेटीभ भए उनीहरुबाट  हामीमा, हामीवाट कतिलाई सर्न सक्छ होला ? या सर्याे होला । 
थाहा छैन कोरोना को—को मा छ ? यहाँ छैन तर एक जनामा मात्रै भए पनि कतिमा कसरी सर्छ ? सबैमा राम्रो जानकारी पक्कै पनि छ । जुन त्रास मलाई अहिले छ , तपाईहरु कसैमा त्यो त्राससम्म पनि नहोस् भन्ने मेरो कामना छ । बिन्ति छ तपाईहरु घर भित्रै बस्नुस् । हामी पनि बाहिर निस्केका छैनौ । कोरोना आफै तपाई सामु आउँदैन जबसम्म तपाई घर बाहिर गएर लिएर आउनु हुन्न । 
लकडाउन भयो भनेर अव किन आत्तिने हजुर । सरकारले नगरे आफैले आफुलाई लकडाउन गर्ने अवस्था हो यो । अति आवश्यक काम नभइ घरबाट बाहिर नजाउँ । पूर्णरुपमा सुरक्षित भएर मात्रै निस्किनु होला । अव आत्तिएर अनेक गरेर, पास लिएर, हिडेर पनि बिन्ति छ गाउँघर नजानुस् । तपाई सितै कोरोना पनि जताततै जान सक्छ । आफु बाँचे फेरि घुमौला । परिवारसित बसौला ।  
अहिले तपाई, म घरभित्रै बसेर सबैलाई जोगाउन सक्छौ । यो कोरोना महामारीलाई  लापरवाही  विल्कुल नगरौ । घरभित्रै बसि आफु पनि बाँचौ, अरुलाई पनि बचाउँ । यो महामारीमा आफ्नो ज्यानको  बाजी राखी  हामीहरुको उपचारमा, सुरक्षामा, सूचनामा, सेवामा खटिनु हुने सम्पूर्ण  नेपाल आमाका सन्तानहरुमा कोटी—कोटी नमन । सदैव  सुरक्षित रहुन् ।”
२०७६ चैत १४ गते विहान १० वजे

प्राप्त प्रतिकृयाहरू

To Top