महामारीका कथा

समाज चैत्र १२ २०७६ ekhabarnepal
Download

उत्तरकुमार पराजुली

हाम्रो परम्परागत चिकित्सामा हैजाभन्दा पनि ठूलो महामारीका रूपमा बिफर(गोटी)लाई लिइन्थ्यो । “हैजाको हस्को गोटीको झस्काे” भन्ने लोकोक्ति नै चलेको थियो । अर्थात् हैजा सर्नका लागि छोइ संसर्ग वा सम्पर्क पनि चाहिन्न, गन्ध नै रोग सर्नका लागि पर्याप्त हुन्छ । तर गोटी अर्काथात बिफरका लागि मन झस्के, तर्से, डराए पनि सर्छ भन्ने कुराले बिफरलाई कति विघ्न महामारीका रूपमा लिइँदो रहेछ भन्ने प्रमाणित गर्छ । 
२००८ साल अघिका कतिपय जनगणना तथ्याङ्क हेर्‌यौँ भने जनसङ्ख्याको वृद्धिदर ऋणात्मक घट्दो दरसमेत देखा पर्छ । यसमा ठूलो हात बिफरको रहेको कुरा भुक्तभोगीहरू भन्ने गर्छन् । गोटीको रोकथाम गर्न सकिने तर लागिसके पछि उपचार नहुने कुरा त्यसबेला पनि थाहा थियो । खोपबाट गोटी रोगको रोकथाम गर्न सकिन्थ्यो । खोपको व्यवस्था घरेलु तरिकाले नै गर्ने गरिन्थ्यो । 
गुल्मी (त्यसबेलाको इश्मा) जिल्ला भरभुङका सन्यासी (पुरी) हरूले त्यस बेला भेदी (खोप लगाउने वैद्य) को रूपमा नाम कमाएका थिए । वि.सं १९७० देखि २०११ सालसम्म मर्भुङबाट नियमित रूपमा (२ वर्षको एक पटक वा ३ वर्षको एकपटक .... ) आई भेद हाल्ने गरेको मैले हजुरबुबाबाट सुनेको हुँ र सो कुरा २०५६ साल फागुनमा सिर्सेनी ३ कैरालपाटा गुल्मी बस्ने रविलाल पुरी ८३ वर्षीयसँगको भेटघाटले समेत पुष्टि गरेको छ । उहाँ स्वयम् पटक पटक अर्घाखाँचीको तुम्कोट, झेँडी, डिभर्ना, धरम्पानी, अर्घा, वाङ्ला .... आदि ठाउँमा भेदी टोलीसँग जानुभएको रहेछ । सियेभेद(कपडा सिउने सियोहरू खोपका लागि प्रयोग गर्ने) गर्ने मर्भुङे टोलीमा हाल वहाँ मात्र जीवित हुनुहुँदोरहेछ । 
रविलाल पुरीका अनुसार—  भेदी पेशा हामीहरूको पुख्र्यौली पेशा हो । मेरो जिजुले नेपालमा (काठमाडौमा) गई भेद हाल्दा सबैभन्दा राम्रो भएकोले कम भन्दा कम मरेर सफल भएकाले अर्थात् कम मृत्युदर जहाँ गएर पनि भेद हाल्न सक्ने श्री ५ को हो वा श्री ३ को हुकुम प्रमाङ्गी पत्र पाउनुभएको थियो । त्यो पत्र म आफैले देखे जानेको हुँ । हामी मरभुङबाट यता (सिर्सेनी)तिर सर्‍र्यौँ । त्यो प्रमाण पत्र मरभुङको भुजुङ्गेमा अझै पनि हुनसक्छ । 
भेदको बारेमा जानकारी राख्न खोज्दा उहाँ भन्नुहुन्छ— अचाल खोप भन्छन् । उसबेला भेद भनिन्थ्यो । छाला छेडिने (भेदन हुने) भएको भेद भनिए होला । गोटीको भेद हाल्न गोटीकै घाउका माम्री (कतला, पाप्रा, पकला ) चाहिन्छ । गोटी आफै आएकालाई बिफर भनिन्थ्यो र भेद हालेर उब्जाएको बिफरलाई सिफर भनिन्थ्यो  । कहिलेकाहीँ भने बिफर उठेर जोर्नीजोर्नीमा बागिनी उठी फोका भए भने तिनैलाई सिफर भन्ने गरेको पनि पाइन्थ्यो । भेदका लागि बिफर वा सिफर जुनसुकै घाउका कतला, पाप्रा भए पनि हुन्थ्यो । ती घाउका माम्री सिसीमा सुरक्षित राखिन्थ्यो । अनि जहाँ भेद हाल्नुपर्ने हो उहीँ गएर ती कतलालाई राम्ररी पिस्ने, पानीमा घोल्ने,  कपडछान गर्ने र तीनवटा सियाको मुठाले हत्केलाको उल्टोपट्टिको नारीमा रगत आउन्जेल छपछप पारेर त्यो कपडछान गरेर बनाइएको औषधीको झोल लगाइन्थ्यो । एकैछिन सो औषधी लगाएको घाउ घाममा सुकाएपछि भेदको काम पूरा हुन्थ्यो । 
यसरी खोपेको सात दिनभित्र महामारी ज्वरो आउँँथ्यो । घाउ नपाके, ज्वरो नआए काँचो रहेको वा डाइनो रहेको भनिन्थ्यो र त्यसलाई फेरिको पटक खोपिन्थ्यो । कसैकसैलाई  त साँच्चै बिफरै भए जस्तै भएर सर्वाङ्ग घाउ खटिरा हुन्थे । त्यसलाई माई उच्छ्रेको भनिन्थ्यो । यसरी माई उच्छ्रेका मान्छे बित्तल परे मर्थे पनि । यसरी मान्छे मर्दा मुद्दा मामिलाको झमेला पनि आइलाग्न सक्थ्यो । त्यसैले हामीले त्यहाँका तालुकदार (जिम्मावाल, मुख्खे, थरी, डिठ्ठा, बिचारी) भद्रभलादमी राखेर “भेदीलाई दोष दिने छैनौँ” भन्ने व्याहोराको कागज बनाएपछि मात्रै भेद हाल्थ्यौँ । 
भेद हाल्दा पूरा गाउँमै हाल्नुपर्थ्र्यो । हुलाकी बाटाबाहेकका बाटाहरू काँढै लगाएर बन्द गरिन्थ्यो । भेद सुरु गर्नुअघि माई र भैरामको पूजाि गरिन्थ्यो । बोकाको बलि दिएर गरिने सो पूजामा मासुभात खान पाइने हुनाले भद्र भलादमीले पनि राम्रो मान्थे । भेद हालेका बेला खानपिनको निकै परहेज गर्नुपर्थ्र्याे । सुख्खासागको झोल ( तरकारी ), गहतको झोल र भातबाहेक केही खानहुन्नथ्यो । तर भेदको एक सातासम्म पनि ज्वरो आउने, माई उच्छ्रने भएन भने थोरै मुख छोड्न (परहेजको बारना कम गर्न ) लगाइन्थ्यो । अनि ज्वरो आउने माई उच्छ्रने हुन्थ्यो । कसैलाई भने पाँचौ दिनका दिन पट्टी पर्काएपछि ( पहिले खोपेको घाउमा फेरि रगत आउन्जेल सियाले छपछप पार्ने काम गरेपछि ) ज्वरो फुट्थ्यो । भेद हालिएकाले हेरबिचार गर्न कम्तिमा १५ दिनसम्म भेदीले भेद परेको ठाउँ छा्ड्न हुन्नथ्यो । खोपिएका १५ औँ दिनमा घाउमा तेलबेसार लगाई सामान्य पथपरहेजमा फुकुवा गरिन्थ्यो । १५ औँ दिनको हर्दीतेल दिने भन्ने कार्यक्रमलाई खोपबाट हुने विग्रहको अन्त्य भएको शुभ सङ्केतको रूपमा लिइन्थ्यो । 
कसैलाई खोपपछि सिफर(माई ) उच्छ«ेर बिचेत हुने गरी ज्वरो आयो भने ज्वरो फुकिन्थ्यो । शीतला माईको पूजा गरिन्थ्यो, गराइन्थ्यो । गाउँमा भेद परेको ४५ दिनका दिन सबै भेद परेका गाउँलेहरू जम्मा भई शीतला माईको पूजा गरेपछि बल्ल गाउँमा आवतजावत खुला गरिन्थ्यो । कहिलेकाहीँ सुत्केरी आमा र बच्चा दुवै काँचा ( नखोपिएका ) भएका अवस्थामा पहिले बच्चालाई खोपिन्थ्यो र १५ दिनपछि आमालाई खोपिन्थ्यो । यसो गर्दा त्यै घर मात्रै बारिन्थ्यो । तर बच्चा एक महिना नपुगेका अवस्थामा र १५ दिन भित्रै सुत्केरी हुने अवस्थामा भने त्यो गाउँमा भेद नहाली सो काम अलिपछि सारिन्थ्यो । गर्भिणाीलाई धागो मन्त्रेर डोरो बाँधिन्थ्यो र सुक्षित गरिन्थ्यो । 
भेद पेसाले आफ्नो जीविकोपार्जन सम्बन्धमा पुरीले अगाडि भन्नुभयो— भेद हाल्ने ठाउँका भद्रभलादमी  र गाउँलेहरू जम्मा भएर भेद लिएको मुढैपिच्छे (टाउका गिन्तीले ) यति पैसा दिने भन्ने निर्णय हुन्थ्यो । पैसा दिन नसक्नेले पैसाको दररेट मिलाए चामल पनि दिन्थे । चामल लैजान संभव भए लान्थ्यौँ, नभए  बेचेर पैसा लैजान्थ्यौँ । यत्ति भन्ने कुनै नियम बमोजिमको दर थिएन । जे होस् एक वर्षको र त्यही क्षेत्रको दररेट उही हुनसक्थ्यो । तर कहिलेकाहीँ भेद नहालेको ठाउँमा गोटी फैलियो भने हामीलाई  झिकाइन्थ्यो । त्यहाँ हामी गएर फुक्ने, शीतलाको पूजा गर्ने गथ्यौँ र गाउँका सल्लाह मिले वरिपरिका गाउँमा भेद हाल्थ्यौँ, आवतजावत गर्न नदिई सुरक्षा गथ्र्याैँ । यसरी आफै गोटी फैलिएको ठाउँमा गएर सन्चो गराएबापत आफ्नै राजीखुसीले राम्रो रकम दिन्थे । हामीले यति दिनुपर्छ भनी भन्नै पर्दैनथ्यो । हाम्रो साहै्र मानमर्यादा हुन्थ्यो । हामी खुसी हुन्थ्यौँ । मलाई सम्झना भएसम्म कुनै ठूलाठालूले त उस बेलाको ५० ÷६० चाँदीका रूप्पेसम्म दिएका थिए । त्यसबेला ५०÷ ६० रूप्पेले खेतबारी नै जोर्न सकिन्थ्यो । 
भेद हाल्ने औषधी (घाउका कतला, माम्री, पीप) र यसको सुरक्षा(अर्को ठाउँमा भेद हाल्नका लागि सुरक्षित कसरी राख्ने भन्ने) सम्बन्धमा श्री रविलाल पुरी भन्नुहुन्छ— भेदको औषधी बनाउन त्यै गोटीका घाउका कतला (माम्री) चाहिन्छ भन्ने कुरा मैले भनिसकेँ । मान्छेबाट निकालिएका यी कतला २२ ÷२५ दिनसम्म काम दिने हुन्छन् । त्यसपछि प्रयोग गर्नुपरे एक दुई जनालाई विचार गरेर मात्र ठिक भए प्रयोग गर्ने नत्र नगर्ने गर्नुपर्छ । २२÷ २५ दिनसम्म ती गोटीका घाउका कतला प्रयोग गर्न नपाएपछि हामी औषधीविहीन पनि हुन्थ्यौँ । तर अचाल जस्तो बिफरको पहिलो सूचना दिनेलाई एक लाख पुरस्कार दिने भन्ने जस्तो ऊ जमाना थिएन । कहिले कहाँ कहिले काहाँ गोटी हुन्थ्यो र हामीलाई खोज्न आउँथे । हामीले त्यै मौकामा औषधी जम्मा गथ्यौँ । हामीसँग औषधी सिद्धिए पनि कुनै समस्या जस्तै लाग्दैनथ्यो । भेद हाल्दाका दिन माईका पूजा गर्दा, बिफर फैलिँदा माईको पूजा गर्दा तथा भेद समाप्तिको बेला शीतला माईको पूजा गर्दा भनिने मन्त्र— 
ॐ नमः छपन्न कोटी देवी, बाउन्न कोटी वीर, चौसठ्ठी जोगिनी, पूर्वका देवी, पश्चिमका देवी, अक्कासे देवी, पत्ताले देवी, देशान्तरीको सबैको शरण छ सात पटक यै मन्त्रले पूजा गर्ने । 
भैराम (भैरव) को पूजा गर्ने मन्त्र— ॐ काला भैराम, राता भैराम, सेता भैराम, भैराम, देवी, गणेश । हामी सबैको रक्षा गर, तिमी जान हामी अजान परमेश्वर । 
ज्वरो फुक्ने मन्त्र 
ॐ नमः मखमख शिव रेखा लात्तिलिया सुर, असुर देश यश छपन्न कोटी देवी, बाउन्न कोटी वीर चौसठ्ठी जोगिनी तपार्इँहरूका नाममा नमस्कार छ, परमेश्वर । मर ज्वरा गुरुका पास, छोड ज्वरा हाम्रा पास । फूः मन्तरकी बाचा । सात पटक यै मन्त्रले फुक्ने । 
बिफर सिफर फुक्ने मन्त्र— ॐँ नमः करी मारम् अकरी मारम्, बिफर मारम् सिफर मारम्, दादुरा मारम्, पानीसरा मारम्, परमेश्वरकी बाचा, ईश्वर महादेवकी बाचा, गौरा पार्वतीकी बाचा, सीता पार्वतीकी बाचा । गौ गुहार फु मन्तरकी बाचा । ( सात पटक यही मन्त्रले फुक्ने । )
 

(आजभन्दा ठीक २० वर्ष पहिले यो सामग्री तयार पारी १६ वर्ष पहिले हाम्रो परम्परागत चिकित्सा पद्धति नामक सानो पुस्तिकामा प्रकाशन गरिएको थियो । हाम्रो चिकित्सकीय गाउँले परम्परा कस्तो थियो भन्ने सन्दर्भमा शोधखोज गरी तयार गरिएको सो पुस्तिकाको अंश यहाँ कोरोनाको महामारीका सन्दर्भमा पाठकज्यूको फुर्सतमा मन बहलाउनेबाहेक अरू कुनै अर्थ छैन । अहिलेको ज्ञानविज्ञानले राम्ररी प्रभावित समाजमा यस्तो कहाली लाग्दो कोरोना आयो । त्यस बखत भेद हालेकाे ठाउँमा मूल बाटाेमा काँढा लगाएर गाउँ बन्द गर्थे । अहिले प्रहरी प्रशासन लगाएर लक डाउन गर्नु परेको छ । हाम्रा लागि यो धेरै नाैलाे कुरा रहेनछ ।  यो कथा सुन्दा पढ्दा हामी सबैलाई लाग्नेछ हामी आत्मबलले बाँचेका थियौँ । र अहिले विज्ञानले बनाएको औषधी र हाम्रो परम्परागत आत्मबल संस्कारले कोरोनालाई परास्त गर्नेछौँ । यही कामनाका साथ यहाँहरूमाझ अर्पण गर्छु । यो सामग्री तयार पार्न साथी गुणराज खनालको सहयोग प्राप्त भएको थियो ।) 

प्राप्त प्रतिकृयाहरू

To Top