बलात्कारका दोषीलाई फासी

समाज चैत्र ७ २०७६ ekhabarnepal
1

२०७६ चैत ७ 

सन २०१२ मा भएको निर्भया सामूहिक बलात्कार घटनाका चार दोषीलाई आज (शुक्रबार) फासी दिइएको छ ।

अक्षय ठाकुर, विनय शर्मा, पवन गुप्ता र मुकेश सिंहलाई शुक्रबार बिहान दिल्लीको तिहाड जेलमा फासी दिइएको भारतीय सञ्चार माध्यमले जनाएका छन् ।

उनीहरु चारैजनालाई सन २०१३ मा बलात्कार घटनामा दोषी ठहर गर्र्दै फासीको सजाय सुनाइएको थियो ।

भारतको राजधानी दिल्लीको तिहाड जेलमा शुक्रबार बिहान उच्च सुरक्षा सतर्कताबीच दिइएको फासी पछिल्लो पाँच वर्ष यताकै पहिलो घटना हो । यसअघि सन २०१५ मा भारतमा फासीको सजाय दिइएको थियो ।

सन् २०१२ को डिसेम्बर १६ मा भारतको राजधानी दिल्लीमा ६ जना व्यक्तिले आफ्ना केटा साथीसँग बसमा घर फर्किँदै गरेकी २३ वर्षकी मेडिकल छात्रालाई बसमा बलात्कार तथा निर्मम कुटपिट गरी गुडिरहेको बसबाट बाहिर फालेका थिए ।

निर्भयाका रुपमा चिनिएकी ती युवतीको केही दिनपछि उपचारको क्रममा निधन भएको थियो । यो घटनापछि दिल्लीसहित भारतभर ठूलो प्रदर्शन भयो र त्यसको प्रक्रिया स्वरुप बलात्कार विरुद्ध नयाँ कानून आएको थियो ।

घटनामा संलग्न भएका ६ जनालाई प्रहरीले पक्राउ गरेको थियो । त्यसमध्ये राम सिंह नाम गरेका अभियुक्त सन् २०१३ को मार्चमा जेलमै मृत भेटिएका थिए । उनले आत्महत्या गरेको खुलेको थियो।

यस्तै घटना भएका बेला १७ वर्षका रहेका अर्का एक सन् २०१५ मा जेलबाट छुटेका थिए । उनी नाबालक रहेकाले तीन वर्षको सुधारात्मक जेल सजाय काटेर रिहा भएका हुन् ।

चार अभियुक्तले आफू पछिल्लो समय आफूहरुको सजाय कम गरी जन्मकैदीको मात्रै सजाय दिन माग गर्दै सर्वोच्च अदालतमा अपिल गरेका थिए । तर शीर्ष अदालतले उनीहरुको अपिल खारेज गरेको थियो ।

यस्तै फासीको केही समयअघि गरेको अपिल पनि फासी हुनु भन्दा केही घण्टा अघि मात्रै खारेज गरिएको थियो ।

प्राप्त प्रतिकृयाहरू

To Top