प्रधानमन्त्री ओली १२ दिनपछि डिस्चार्ज 

स्वास्थ्य फागुन ३० २०७६ ekhabarnepal
1

काठमाडाैं, फागुन ३०, २०७६
प्रधानमन्त्री केपी शर्मा ओली शुक्रवार साँझ अस्पतालबाट डिस्चार्ज भएका छन् । फागुन १९ गते अस्पताल भर्ना भएर २१ गते मिर्गौला प्रत्यारोपण गरेका प्रधानमन्त्री ओली १२ दिनपछि अस्पतालबाट डिस्चार्ज भएका हुन् ।
उनको मिर्गौला प्रत्यारोपण गरेको भने १० दिन पुगेको छ ।
प्रा.डा. दिव्या सिंह शाहले प्रधानमन्त्री ओलीलाई डिस्चार्ज गर्दै जारी गरेको विज्ञप्तिमा प्रधानमन्त्री ओली पूर्ण स्वास्थ्यलाभ गरेपछि डिस्चार्ज भएको जनाएकी छन् ।

“डिस्चार्जपछि उहाँ समयसमयमा नियमित फलोअपमा रहनुपर्ने छ,” उनले जारी गरेको विज्ञप्तिमा भनिएको छ,“साथै, उहाँ नियमित चिकित्सकको निगरानीमा रहनुहुनेछ । उहाँले यसपश्चात् आवश्यक सतर्कताका साथ आफ्नो नियमित आवश्यक सबै कार्यहरु गर्न सक्नुहुनेछ ।”

मिर्गौला रोग तथा प्रत्यारोपण चिकित्सा विभाग प्रमुख एवम् प्रधानमन्त्रीकी निजी चिकित्सक समेत रहेकी शाहले प्रधानमन्त्रीले त्रिवि शिक्षण अस्पतालका चिकित्सकहरुमािथ भरोसा गरेर उपचार गर्ने अवसर दिएको भन्दै अस्पताल परिवार गौरवान्वित भएको उल्लेख छ ।

त्रिवि शिक्षण अस्पतालको पहिलो तलामा उपचार गराएका प्रधानमन्त्री ओली डिस्चार्ज पछि हिँडेरै भर्‍याङ ओर्लिए र गाडीनजिक पुगेर हात हल्लाएपछि भर्‍याङबाट ओर्लेर गाडीसम्म पुगेका थिए ।

संक्रमण फैलिन सक्ने भन्दै चिकित्सकले सचेत गराएपछि प्रधानमन्त्री ओलीले उपस्थित सञ्चारकर्मीलाई कुनै प्रतिक्रिया दिएनन् ।

ओलीलाई स्वागत गर्न मन्त्रीहरू समेत अस्पताल पुगेका थिए ।

प्राध्यापक डाक्टर प्रेमराज ज्ञवाली नेतृत्वको टोलीले अघिल्लो साताको बुधवार प्रधानमन्त्री ओलीको मिर्गौला प्रत्यारोपण गरेको थियो ।

प्रधानमन्त्री ओलीलाई भाञ्जी नाता पर्ने झापाकी समीक्षा संग्रैलाले मिर्गौला दिएकी हुन् । 

समीक्षा भने बुधवार नै डिस्चार्ज भइसकेकी छन् । उनी प्रधानमन्त्री ओलीसँगै अघिल्लो साताको सोमवार अस्पताल भर्ना भएकी थिइन् ।

डिस्चार्ज हुनुअघि समीक्षाले प्रधानमन्त्री ओलीलाई भेटेर स्वास्थ्य अवस्थाबारे  जानकारी समेत लिएकी थिइन् ।

ओलीले मिर्गौला प्रत्यारोपण गराएको यो दोस्रोपटक हो ।

पहिलोपटक उनले १२ वर्षअघि भारतको एपोलो अस्पतालमा मिर्गौला प्रत्यारोपण गराएका थिए ।

त्यतिबेला उनलाई बुहारी अञ्जान घिमिरेले मिर्गौला दिएकी थिइन् । 

उक्त मिर्गौलाले काम गर्न छाडेपछि दोस्रोपटक मिर्गौला प्रत्यारोपण गरिएको हो ।

प्राप्त प्रतिकृयाहरू

To Top