प्रधानमन्त्रीलाई भोलि बिहान कालो चिया दिइने, सोमबारसम्म डिस्चार्ज गर्ने योजना

राजनीति फागुन २१ २०७६ ekhabarnepal
15833215950w gxqu5 %282%29

काठमाडौं, फागुन २१
प्रधानमन्त्री केपी शर्मा ओलीको मिर्गौला प्रत्यारोपण शल्यक्रियापछि होस खुलेको छ।
शल्यक्रियामा संलग्न  चिकित्सकका अनुसार प्रधानमन्त्री ओलीको केहीबेरअघि होस खुलेको हो। उनको नयाँ मिर्गौलाले काम गर्न पनि थालिसकेको छ।

‘नयाँ किड्नीले काम गर्न पनि थालिसकेको छ,’ ती चिकित्सकले भने। प्रधानमन्त्रीलाई अहिले पोष्ट अपरेटिभ वार्डमा सारिएको छ। 

प्रधानमन्त्री ओलीले आज दोस्रो पटक मिर्गौला प्रत्यारोपण गरेका हुन्। १३ वर्षअघि भारतको नयाँदिल्लीमा मिर्गौला प्रत्यारोपण गराएका ओलीले यसपालि स्वेदशमै त्रिवि शिक्षण अस्पताल रोजेका हुन्।

अस्पतालको मिर्गौला प्रत्यारोपण केन्द्रका प्रमुख डाक्टर प्रेमराज ज्ञवाली नेतृत्वको टोलीले प्रधानमन्त्री ओलीको बुधबार दिउँसो त्रिवि शिक्षण अस्पतालमा मिर्गौला प्रत्यारोपण गरेको हो।

शिक्षण अस्पतालका कार्यकारी निर्देशक प्रेमकृष्ण खड्काका अनुसार अहिले प्रधानमन्त्रीको स्वास्थ्य स्थिर छ भने सबै सूचांकहरूले पनि राम्ररी काम गरिहरेका छन्।

अहिले उनलाई प्रत्यारोपण उपचार कक्षमा राखिएको छ।

प्रधानमन्त्री ओलीको होस पनि खुलिसकेको छ। उनको शरीरमा प्रत्यारोपण गरिएको मिर्गौलाले काम गर्न थालिसकेको छ।

अब अरू कुनै समस्या नदेखिए भोलि बिहानदेखि उनलाई मुखबाट तरल खानेकुरा दिइनेछ।

‘भोलि बिहान उहाँलाई कालो चिया दिन्छौं। अरू कुनै समस्या देखिएन भने सोमबारसम्म डिस्चार्ज गर्ने योजना छ,’ उपचारमा संलग्न एक चिकित्सकले भने,‘अवस्था धेरै राम्रो भयो भने आइतबार पनि डिस्चार्ज गर्न सकिन्छ।’

प्राप्त प्रतिकृयाहरू

To Top