शहरमा होम स्टे ः हलो काटी मुङ्ग्रो

समाज फागुन १९ २०७६ ekhabarnepal
Dr ghimire

डी.आर.घिमिरे
अहिले जताततै होम स्टे चलाउने लहर चलेको छ । शहरमा, गाउँमा, वजारमा, पहाडमा, तराइमा, हिमालमा होम स्टे चलाउन पालिकाहरुले प्राथमिकता दिन थालेका छन् । खासगरि पालिकाहरुले केही न केही नयाँ काम गरौं भन्ने अर्थमा पनि अनुदान दिएर होम स्टे चलाउन उत्साहित गर्दैछन् । 
यसलाई एक अर्थमा सकारात्मक मान्न सकिएला तर, होम स्टेको वास्तविक अर्थ के हो भन्ने नवुझिकन यिनलाई प्रोत्साहन गर्दा हलो काटी मुङ्ग्रो र धोती च्याति झुम्रो हुने हो कि भन्ने आशंका वढेको छ । होम स्टेको सुरुवात युरोप र अफ्रिकावाट भएको हो । यसका जानकारहरु खासगरि गरिव राष्ट्रहरुले यसलाई आम्दानीको श्रोत वनाउँने सन्दर्भमा होम स्टेको शुरुवात् गरेका हुन् भनेर भन्छन् । युरोपका गरिव देशले आफ्ना पाहुनालाई आतिथ्य गर्नका लागि घरघरमा रहेका कोठालाई ब्यवस्थापन गर्दै यो अवस्थामा पुर्याएका हुन् । 
अध्येताहरुको विचारमा गरिवीको रेखामुनि रहेका देशमा यसको व्यवस्थापन र सञ्चालन राम्रो रहेको छ । उनीहरु एकातिर पाहुनालाई परम्परागत भाषा, सभ्यता, सस्कृति, रहनसहन आदिको हस्तान्तरण गर्दै आएका छन् भने अर्कोतिर रोजगारीको माध्यम पनि वनेको छ । 
नेपालको सन्दर्भमा स्याङ्गजा सिरुवारीको घलेगाउँ पुरानो र मोडल होम स्टे हो । २०५४ सालमा नेपालमा पहिलो पटक होम स्टे सञ्चालन गरिए पनि यसका अभियान्ता रुद्रमान गुरुङले यसको परिकल्पना २०२५ सालमै गरेर २०४८ सालदेखि होम स्टे बनाउन पूर्वधारमा जोड दिएका थिए । त्यहाँ रहेका ३९ घरहरु मध्ये १७ वटा घरहरु होम स्टेका रुपमा दर्ता भई सञ्चालनमा छन् । तर, पछिल्लो पटक सो स्थानमा जानेहरुका अनुसार अव त्यो धेरै टिक्ने अवस्थामा छैन । किनकि नयाँ पुस्ताले वसाइसराई गरेको छ । पुरानो पुस्ता काम गर्न नसक्ने अवस्थामा पुगेको छ । २०६७ सालमा सरकारले सञ्चालन कार्यविधि ल्याएपछि होम स्टेले संस्थागत रुप लिएको हो । 
घलेगाउँका प्रायः घरहरु ढुंगाको छपनीले छाइएको छ । गुरुङ जातीको वसोवास छ ।  प्रायः घर मूलिहरु अवकाश प्राप्त ब्रिटिश र भारतीय लाहुरे छन् साथै सो ठाउँमा गुरुङ जातिको जीवन शैलीको जिवन्त चित्रण अवोलकन गर्न पाइन्छ  र स्थानीय रुपमा उत्पादित साग सब्जीबाट बनाइएको खानाले पाहुनाको सत्कार गरिन्छ ।
जहाँसम्म यसको अवधारणाको विषय हो यसको मुख्य चुरो कुरा हो— गाउँमा गएपछि संस्कृति र प्रकृति दुवै देख्न पाइने हुनाले ग्रामिण क्षेत्रमानै यस्को प्रभाव रहने गर्छ । यस अर्थमा होमस्टे अलि दुरदराज, सकभर यातायातको पहुँच नभएको, केही विशेषताले युक्त ठाउँनै हुनुपर्छ । तर, अहिले नगरपालिकाहरुलेनै होमस्टे चलाउन थालेका छन् । कतिपय पूर्वाधार नपुगीकनै वनेका नगरपालिकामा अपवादमा होम स्टे वनेपनि सुविधासम्पन्न ठाउँमा यीनको औचित्य हुँदैन मानिदैन ।
 नेपालमा सन् २०१८ को तथ्यांक अनुसार २ हजारभन्दा वढी होम स्टे चलेका छन् । त्यस यता ब्यापक लहर चलेकोले अव एक पालिका एक होम स्टे हुने सम्भावना वढेको छ । सुविधासम्पन्न घरमा राखेर वा एकदुइजनाले अलग अलग घर आधुनिक भाषामा भिल्ला वनाएर घरमा अडिने वा वस्नुलाई होम स्टेको रुपमा लिन सकिदैन । 
किन जाने होम स्टेमा ?
 हरेक मानिस एउटै प्रकारको खाना, वसाई वा निरन्तर कामको वोझवाट दिक्क लागेको अवस्थामा रिफ्रेस हुन चाहन्छ । यसका लागि फरक स्वाद चाहिन्छ । त्यो भनेको खानाको स्वाद, वसाइको स्वाद, दृश्यको स्वादमा फरक हुनु हो । त्यसैले होम स्टेमा वस्दा घरायसी वातावरण हुनुपर्छ र खानाको पनि विशेष परिकार वनाउने प्रचलन छ । 
यसका लागि धेरै परिवर्तन चाँहिदैन । परम्परागत खानानै भएपनि काफी हुन्छ । कोदो, फापर, अनदीको चामल, लोकल रक्सी, कुखुरा, माछा, गाउँको बोका, जाँड, आलु, कहीकतै फलफूलको आइटम हुन सक्लान् । भटमास, मकै, मुला, सिस्नो, गुन्द्रुक तथा स्थानीय परिकारहरूको स्वाद लिने व्यवस्था मिलाउनुपर्ने हुन्छ  । पर्यटकीय क्षेत्रहरुको अवलोकनसँगै रातको समयमा क्याम्पफायर गर्ने सुविधा पनि मिलाउन सकिन्छ ।
यस्तोमा कोक, वियर, चाउचाउ, विस्कुट, होटलमा तारेका चिज वा यस्ता खाद्यान्नको मतलव हुन्न । यसले होम स्टेको मर्म र भावनालाई मारिदिन्छ ।
जस्तो कि नवलपरासीको कावासोती अमलटारीमा सञ्चालित होम स्टेमा थारु, मुसहर बोटेलगायत २२ वटा घरमा होम स्टे छ । उनीहरु चिर्चर, माछा, घोगी, अचार, हाँसबाट बनाइने थारु परिकारवाट पाहुनालाई स्वागत गर्छन् । ‘हमार दिगो गाउँ’ (हाम्रो दिगो गाउँ) कार्यक्रम अन्तरगत यो गाउँमा होम स्टे संचालित छ ।
वारीमा गएर आफै टिपेको तरकारी पकाएर खुवाउनु, माछा पोखरी छ भने आफै जाल हान्ने, कुखुरा वा वोका पर्यटककै अघिल्तिर मार हान्ने ब्यवस्था मिलाउनुले पनि फरक स्वाद हुन्छ । अर्गानिक र ताजा खानाले ब्यक्तिमा ताजापन ल्याउँछ ।
बाँकेको गाभर भ्याली सामुदायीक होम स्टे पनि लोभलाग्दो मानिन्छ । गाभर भ्यालीमा थारु सहित मुगुको राराबाट स्थानान्तरण गरिएका जुम्लीबासी छन् । उनीहरुका आ–आफ्नै संस्कृति भएपनि गाभर भ्याली सामुदायीक होम स्टेमा मिश्रित संस्कृति र पहिचान छ । यस संगै ५ नम्बर प्रदेश सरकारले मानसरोवरको प्रतिमा सहितको पार्क बनाउँदै छ । यसले पनि गाभर भ्यालीलाई अझ सौन्दर्ययुक्त बनाउने छ ।
बाँके राष्ट्रिय निकुञ्जमा बाघको संख्या बढ्दै गएको छ । यसैलाई जोडेर गाभर भ्यालीले बाघ पर्यटनको अवधारणा ल्याएको छ । मानव र जनावरबीच एक किसिमको सम्बन्ध विस्तार गर्न गाभर भ्यालीले यस्तो अवधारणा ल्याएको हो ।
यहाँवाट १ दिनको चुर हाइकिङ देखि २ दिनको चुरे ट्रेकिङसम्मको कार्यक्रम छ । यसवाट चुरेमा पाइने महत्वपूर्ण बोटविरुवाको प्रचार हुनेछ । यसले चुर संरक्षण र त्यस क्षेत्रका बोटविरुवा र जडिबुटीको प्रचार हुन्छ । यस्ता नयाँ अवधारणालेनै होम स्टेको महत्व वढाउने छ । सुपथ मुल्यमा वसोवास गर्न पाउनु होम स्टेको अर्को विशेषता हो ।
५ नं. प्रदेशमा १ शय भन्दा बढी जातजातीहरू बसोबास गर्छन् । थारू र मगर संस्कृतिको बाहुल्यता रहे पनि अन्य जातजातिको पनि वसोवास रहेको छ । यीनै जातजातीको रहनसहन, परम्परा, खानपान आदिलाई ब्यवस्थापन गर्दा पनि राम्रो होम स्टेको विकास हुन सक्ने देखिन्छ । 
होम स्टे अहिले जसरी चलेका छन् त्यसरीनै चलाउने हो भने धेरै दिन टिक्ने छैनन् । अथवा जुन उद्वेश्यले चलाइएको हो सो प्राप्त हुन सक्ने देखिदैन । यसका लागि यसभित्र देखा परेका चुनौतिहरुको सामना गर्नुपर्ने हुन्छ ।
के हुन् चुनौति ः
पहिलो चुनौती ज्ञान र सीपको अभाव हो । होम स्टे पर्यटनमा संलग्न हुन चाहनेहरूले यसका विधिहरु जान्नैपर्छ । 
नेपाल सरकारले २०६७ सालमा जारी गरेको ‘होम स्टे सञ्चालन कार्यविधि’अनुसार, गाउँ क्षेत्रमा कम्तीमा २ वटा खाट भएको एउटा कोठा र बढीमा ४ वटा कोठा (८ बेड) मा होम स्टे सञ्चालन गर्न सकिने र शहरी क्षेत्रमा भने कम्तीमा २ खाट भएको एउठा कोठादेखि ८ वटा कोठा (१६ बेड) सम्ममा होम स्टे चलाउन सकिने प्रावधान छ ।
यस अनुसारको मापदण्ड पूरा गर्न सजिलो छ । तर, यसको मर्मलाई आत्मसात गर्न धेरै कठिनाई छ । जसकावारेमा पछि चर्चा गरिनेछ ।
दोस्रो चुनौती यो व्यवसाय प्रवद्र्धनमा सहजीकरण वा सहयोग नपुग्नु हो । खासगरी होम स्टे खोल्न चाहनेहरूलाई कम्तीमा एउटा अलग्गै कोठा, कोठामा आरामदायी खाट तथा ओछ्यानहरू, आवश्यक पर्ने झुल, ऐना, कुर्सी, चिया टेबल, डस्टबिन, तौलिया, चप्पल, डोरम्याट, भित्तामा आकर्षक पोष्टरहरू, ढोका तथा झ्यालहरूमा जालीहरू, आँगन र बरन्डामा फूल÷गमलाहरू, भान्सालाई धुवाँरहित पार्ने काम, उज्यालोको व्यवस्था, खाने ठाउँ (डायनिङ) लाई सुविधायुक्त बनाउने काम, स्नानकक्ष र शौचालयको सुविधा विस्तार एवम् स्तर उन्नतिजस्ता अनेक कामहरू अनिवार्यरूपमा गर्नुपर्ने हुन्छ । यसको जानकारी सम्वद्व पक्षमा हुनैपर्छ ।
तेस्रो चुनौती हो, होम स्टे पर्यटनमा खानाको विशेष व्यवस्था हुनुपर्छ । आवासको मात्र सोंच वनाएर हुँदैन । सकेसम्म आफ्नै खेतबारीमा उत्पादन भएका वा स्थानीयस्तरमा नै उत्पादन भएका अर्गानिक वस्तु खुवाउनु पर्छ । स्थानीय सांस्कृतिक रहनसहन र नाचगानमा रमाउने वातावरण बनाउनु पर्छ । पाहुना हिँड्ने बेलामा घर वा गाउँमै बनेका स्थानीय हस्तकलाका सामग्रीहरू वा अन्य घरेलु उपजका कोसेली लैजाने व्यवस्था मिलाउनुपर्छ । उनीहरुलाई भरपुर मनोरञ्जन दिनेगरि कार्यक्रम तय गर्नुपर्छ । ठूला होटलमा गएर खाने चिजको कुनै अर्थ रहन्न भन्ने कुरा वुझ्नैपर्छ ।
चौथोे चुनौती हो, होम स्टेवाट सम्पूर्ण गाउँलेले लाभ लिनुपर्छ । प्रायः लाभको बाँडफाँडमा उचित ध्यान दिएको पाइदैन । त्यसैले लाभको समानुपातिक वा न्यायोचित वितरणमा ध्यान पुग्नैपर्छ । यस्तो गाउँमा भरसक एउटै जातजातिको वसोवास हुनुपर्छ । ताकि रहनसहन, गीतसंगीत आदिमा पनि एउटै प्रस्तुति हुन सकोस् । 
पाँचौँ चुनौती ‘दिगो प्रवद्र्धन, बजारीकरण र व्यवस्थापन हो । हरेक होम स्टेहरुले आफ्नो प्रचार इन्टरनेटको माध्यमवाट गर्नुपर्छ । गुगल सर्च गर्दा थाहा हुनुपर्छ । खाना, कोठा, स्थानीय उत्पादन, कोशेली घरमा पाइने वस्तुको सचित्र विवरण, दररेट, प्राकृतिक दृश्य वा त्यस ठाउँको आकर्षण जे हो सोको स्पष्ट जानकारी हुनुपर्छ । त्यहाँ पुग्ने सडक, मूलद्वार (गेट) आदिको विवरण पनि राख्नु उचित हुन्छ । 
होम स्टेलाई वढ्ता ब्यावसायीकरण गर्नु हुन्न ः
 होम स्टे गरिव, विपन्न र आदिवासी जनजातिको त्यसमा पनि औपचारिक पढाइ नगरेका अथवा महिलालाई आय आर्जन गराउने वैकल्पिक ब्यवसायको रुपमा विकास गर्दा हुन्छ । त्यसैले कुनै धनी ब्यक्तिले सुन्दर वनाएर नामले होम स्टे भनेर मात्र हुँदैन । साँचो अर्थमा सामुदायिक ढंगले चलाएरनै यिनको महत्वलाई कायम राख्नुपर्छ । 
होम स्टे ग्रामीण गरीबी उन्मूलन कार्यक्रमको लागि उपयुक्त हुन्छ । दीगो पर्यटन विकास नीतिको माध्यमबाट नेपालमा गरीबी निवारणको कामलाई प्रभावकारी वनाउने हो भने यसैलाई जोड दिन सकिन्छ । तर, यसका लागि सम्भाब्यता अध्ययन भने उचित ढंगले गर्नुपर्छ । विपन्न र विपन्न वर्गमा रहेका पुरुष तथा महिला र सीमान्तकृत जातीय समूहहरूलाई केन्द्रीत गरेर होम स्टे सञ्चालन गर्न सकिन्छ । यसो गर्दा वातावरण संरक्षण, स्थानीय जनताको सहभागिता, स्थानीय अर्थव्यवस्थालाई मजवुतिकरण गर्ने, पूर्वाधारहरूको विकास गर्ने र पिछडिएका जातीय समूहलाई सहयोग पुर्याउने ढंगलेनै काम गर्न आवश्यक छ ।
अन्तमा होम स्टे चलाउनेले मौलिकतालाई जोगाइ राख्नुपर्छ । हरियालीलाई वचाइराख्नुपर्छ । डोजर लगाएर हरियाली डाँडालाई नाङ्गा डाँडामा परिणत गर्नु हुँदैन । समुदायको प्रचलन कायम राख्नुपर्छ । परम्परागत चाडवाड जोगाइराख्नुपर्छ । नृत्य संगीतलाई पनि जीवितै राख्नुपर्छ । भेषभुषा खानपानलाई सुरक्षित राख्नुपर्छ । वजारिया होटलजस्तो घण्टे बुकिङ्गलाई वन्द गर्नुपर्छ । अनुशासन र सद्भाव कायमै राख्नुपर्छ । परम्पराप्रति गर्व गरेरमात्र पहिचान जोगिन्छ ।

प्राप्त प्रतिकृयाहरू

To Top