तीन दिन वर्षा/हिमपातको सम्भावना

समाज माघ १३ २०७६ ekhabarnepal
B94aa892bc4f4e37d067c12f1c5d6a01 w1000 h500 cp

नेपालमा पानी पार्ने मौसमी प्रणाली प्रवेश गर्दै 
काठमाडौं, माघ १३
नेपालमा फेरि पानी पार्ने मौसमी प्रणाली प्रवेश गर्दै छ। पश्चिमी वायुबाट विकसित पश्चिमी न्यून चापीय प्रणाली नेपाल प्रवेश गर्ने क्रममा रहेको मौसमविद्ले बताएका छन्।

मौसम पूर्वानुमान महाशाखाका मौसमविद् राजु प्रधानांगका अनुसार यो प्रणाली नेपालतर्फ नजिकिँदै छ र आज (सोमबार) दिउँसोसम्म यो प्रश्चिमी क्षेत्रमा प्रवेश गरिसक्नेछ।

‘देशको पश्चिमी क्षेत्रमा बेलुकादेखि यसको प्रभाव सुरु हुने देखिन्छ,’ सोमबार बिहान मौसमविद् प्रधानांगले नेपालखबरसँग भने, ‘आज बेलुकालाई पश्चिमी क्षेत्रका केही स्थानमा मात्रै वर्षा र हिमपात गराउनेछ।’

यो प्रणाली क्रमशः पूर्व सर्ने र भोलि मंगलबार मध्य क्षेत्रसम्म आइपुग्ने सम्भावना रहेको उनले बताए। उक्त प्रणालीका कारण मंगलबार काठमाडौंमा पनि पानी पर्न सक्ने उनको अनुमान छ।

‘बुधबार भने यो देशभरि फैलिने देखिन्छ,’ मौसमविद् प्रधानांगले भने, ‘यो यसअघिको जत्तिकै शक्तिशाली त छैन तर देशभर वर्षा तथा उच्च पहाडी तथा हिमाली भेगमा हिमपात गराउने सम्भावना छ।’

मौमस पूर्वानुमान महाशाखाको बुलेटिनअनुसार यस प्रणालीले बुधबारसम्म देशभर मौसम बदली गराउँदै विभिन्न स्थानमा वर्षा तथा हिमपात गराउने सम्भावना छ।

मौसम पूर्वानुमान महाशाखाले सोमबार बिहान ६ बजे आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श जारी गर्दै भनेको छ :

पश्चिमी भूभागका थोरै स्थानहरूमा हल्का वर्षा तथा पश्चिमी उच्च पहाडी तथा हिमाली भूभागमा हल्का हिमपातको सम्भावना छ। साथै तराईका केही भूभागमा हुस्सु/कुहिरो लागेका कारण घाम राम्रोसँग नलाग्ने भएकाले चिसोबाट बच्ने उपाय अपनाउनु हुन अनुरोध छ।

एक/दुई दिन तराईमा कुहिरो नलाग्ने
सोमबार बेलुका मौसम बदली सुरु हुने भएकाले अब एक/दुई दिन तराईमा कुहिरो नलाग्ने सम्भावना छ।

पश्चिमी न्यून चापीय प्रवेश गरेर आकाशमा बादल देखिन थालेपछि हुस्सु कुहिरो हट्ने मौसमविद् बताउँछन्।

सोमबार दिउँसो पश्चिमी न्यून चापीय प्रणाली नेपालको पश्चिमी क्षेत्रमा प्रवेश गर्दै छ। यसपछि पश्चिमी क्षेत्र हुँदै क्रमशः देशभर मौसम बदली हुने भएकाले कम्तीमा दुई दिन तराईमा कुहिरो नलाग्ने देखिएको हो।

 तीन दिनको मौसम पूर्वानुमान  
माघ १३ गते (सोमबार)
दिउँसो : देशको पश्चिमी भू-भागलगायत मध्य र पूर्वी  पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली  रहनेछ। तराईका केहि भूभागमा हुस्सु/कुहिरो लाग्ने सम्भावना छ।


माघ १४ गते (मंगलबार)
दिउँसो : देशभर आंशिकदेखि सामान्य बदली रहनेछ। पश्चिमी भू-भागका केही स्थान र मध्य तथ पूर्वी भू-भागका १-२ स्थानमा हल्का वर्षाको सम्भावना छ। उच्च पहाडी तथा हिमाली भू-भागमा हल्कादेखि मध्यम हिमपातको सम्भावना छ।


माघ १५ गते (बुधबार)
दिउँसो : देशभर आंशिकदेखि सामान्य बदली  रहनेछ। पश्चिमी भू-भागका अधिकांश स्थान र मध्य तथा पूर्वी भू-भागका केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। उच्च पहाडी तथा हिमाली भू-भागमा हल्कादेखि मध्यम हिमपातको सम्भावना छ। पश्चिमी उच्च पहाडी तथा हिमाली भू-भागका एक वा दुई स्थानमा भारी हिमपातको सम्भावना छ।


 

प्राप्त प्रतिकृयाहरू

To Top