पाँच दशकको पर्खाइपछि गोपाल दाईको संसदीय यात्रा

राजनीति माघ १० २०७६ ekhabarnepal
1578057359gopal


डी.आर. घिमिरे
गोपाल भट्टराई अर्थात् गोपाल दाई नेकपाभित्र सर्वमान्य ब्यक्तिको रुपमा स्थापित हुनुहुन्छ । उहाँको उमेर, पार्टीप्रतिको निष्ठा, लगाव र पार्टी निर्णयप्रति सतिसाल जस्तै उभिएर जोसुकैसंग कुम ठोकेर निर्भिकताकासाथ वोल्न सक्ने गोपाल दाई ५० वर्षको पर्खाइपछि राष्ट्रियसभामा पुग्नुभएको छ । उहाँको यो यात्रालाई राजनीतिमा न्याय पाउने प्रक्रिया शुरु भएको रुपमा लिन थालिएको छ । यद्यपि एउटै घटनाले उपर्युक्त निष्कर्षमा पुगि हाल्नु अलि हतारो हुनसक्छ । 
सार्वजनिक र राजकीय पदप्रति पटक्कै आशक्ति नराख्ने उहाँको स्वभावले उहाँलाई भन्दा उहाँपछिका कार्यकर्तालाई लज्जावोध हुन्थ्यो । ग्लानी हुन्थ्यो र नतमस्तक हुन्थे । त्यसैलेत उहाँ प्रायः सवैका दाई हुनुहुन्छ । उमेरले ७० वर्षका । राजनीतिमा लागेको २०२४ सालदेखि । २०२७ सालमा वामदेव गौतमसंगै पार्टीको पूर्णकालिन कार्यकर्ता भएर रुपन्देहीदेखि परासीसम्मका गाउँ गाउँमा संगठन निर्माण गर्दै यो ठाउँसम्म आइपुग्नु एउटा जुनी पार गर्नु हो । यही कारणले हुनुपर्छ उहाँ सवैका प्रिय दाइ हुनुहुन्छ ।
रुपन्देही जिल्लाको सुखानगरमा रहेको पुष्पलाल स्मृति भवन नेकपाको कार्यालय हो । तत्कालीन एमालेले वनाएको सो भवनवाटै अञ्चल, क्षेत्र र नगर कार्यालय चलेका थिए । सम्भवतः सो कार्यालयमा सवैभन्दा वढी वसेको र भवनले चिनेको ब्यक्ति उहाँनै हुनुहुन्छ ।
यसको अर्थ यो भवन वनेपछिको विषयमात्र हैन त्यो भन्दा पहिला भैरहवामा रहेको जिल्ला कार्यालयमा वस्ने पनि उहाँनै हुनुहुन्छ । किनकि दुवै ठाउँमा कार्यालय सचिवको रुपमा धेरै समय ब्यतित गर्नेमा उहाँनै पर्नुहुन्छ ।
२००७ सालमा स्यांङजाको बिर्घामा पिता तोलाकान्त र आमा टिका भटराईको कोखबाट जन्मनुभएका गोपाल दाई ११ बर्षको उमेरसम्म त्यही हुर्कनुभयो ।
गुरुकुल शिक्षा पढेर बेद र चण्डीका धेरै श्लोक खरर पाठ गर्नसक्ने गोपाल दाई गुरुकुल शिक्षालाई छोडेर रुपन्देहीको मणिग्राममा रहेको शान्ति स्कुलमा (हालको शान्ति नमुना मावि) अध्यायन सुरु गर्नुनै राजनीतिक प्रवेशको मुलद्वार वन्न पुग्यो ।
शान्ति मावि मणिग्रामवाट २०२४ सालदेखि उहाँको राजनीतिक यात्रा शुरु भयो । सोही क्रममा देवेन्द्र घिमिरेसंग उहाँको संगत वढ्यो । २०२४ सालमा पार्टीको रुपन्देही सचिव हुनुभएका देवेन्द्र घिमिरे रुपन्देहीको कम्युनिष्ट राजनीतिका संस्थापकमध्येमै पर्नुहुन्छ । 
त्यसोत त्यस अघि लालसिंह भण्डारी, पृथ्वी शेरचन, पीवी मल्ल, तीरथ हरिजन, श्यामसिंह प्रधानहरु थिए तथापि देवेन्द्र घिमिरे सहित जीवराज आश्रित, मोदनाथ प्रश्रित, गोविन्द ज्ञवालीहरु पहिलो पुस्तामै पर्दथे । तिनै घिमिरेले अध्ययन गर्ने विद्यालयमा गोपाल दाई भर्नाभएपछि स्वभावैले संगत वढ्यो ।
“ देवेन्द्र घिमिरे शान्ति माविका शैक्षिक सुधारक हुनुहुन्थ्यो । उहाँले विद्यार्थीलाई फाइदा हुने विषय उठाउनुहुन्थ्यो, त्यसैले पनि हामी उहाँवाट प्रभावित हुन्थ्यौ, त्यस्तो ब्यक्ति गिरफ्तार हुँदा हामी सवैलाई रिस उठ्नु स्वभाविक हुन्थ्यो”, गोपाल दाइले ति दिनलाई स्मरण गर्दै भन्नुहुन्छ । पढाईमा अब्वल र तिक्ष्ण देवी घिमिरे (देवेन्द्र घिमिरे) लाई २०२० सालमा बिद्यालयले राजनितिमा लागेको भन्दै निश्कासन गरेपछि त भट्टराईमा बिद्रोहको आगो सल्कियो ।
२०२४ साल देखि बिद्यार्थी राजनीतिमा आकर्षित गोपाल दाई २०२५ मा सरस्वती पाण्डे र बावुराम पाण्डेको सम्पर्कबाट कम्युनिष्ट पार्टीको निकट हुनु भएको हो । यसको कारण के छ भने २०२४ सालमा विद्यालयमा ठूलै आन्दोलन भयो । सो आन्दोलनको नेतृत्व चुरामणि खरेल, बाबुराम अर्याल, टीकानिधी गौतम, सरस्वती पाण्डे, वावुराम पाण्डेहरुले गरे । आन्दोलनमा गोपाल दाई र खिमलाल पुरी घाइते हुनुभयो । कविराज पुनले विद्यार्थीहरुलाई दवाउने काममा विशेष भूमिका खेलेपछि उनीमाथि कुटपिट पनि भयो ।  
उहाँलाई २०२६ सालको विद्यार्थी आन्दोलनलेनै राजनीतिक रुपले कम्युनिष्टप्रति आकर्षित वनाएको हो । के कारणले हो उहाँलाई हेक्का छैन तर, त्यतिवेला एकैपटक देशभरिका १८ वटा कलेज खारेजीमा परे । विद्यार्थीलाई यति भएपछि राम्रै विषय वन्यो र आन्दोलन उठ्यो । पक्लिहवाको रात्री कलेज  पनि खारेजीमा परेकोले हुनुपर्छ सो आन्दोलनको दौरानमा भैरहवामा जीवराज आश्रितको नेतृत्वमा विशाल जुलुस निस्क्यो । 
जुलुसले प्रहरीका लाठीलगायतका औजारहरु खोस्यो । पुलिस भागे । विद्यार्थीहरु हौसिए र पक्लिहवामा गएर आमसभा गरे । पुलिस पुनः हतियारसहित तयारीकासाथ आयो । यो कुरालाई वामदेव गौतमले नेकपा एमाले अञ्चल समन्वय कमिटी, लुम्विनीले प्रकाशन गरेको लुम्विनी सन्देश नामक पुस्तकमा प्राथमिकताका साथ उल्लेख गर्नुभएको छ । गौतमले पहिलो पटक आश्रितको भाषण त्यही सभामा सुन्नुभएको अनुमान आलेखवाट वुझ्न सकिन्छ । आन्दोलनकारीलाई घेरावन्दी गरेर रामधुलाई भयो । जीवराज आश्रित र पुण्यभक्तहरु पक्राउ परे । 
यो घटना नेपालको राजनीतिक इतिहासमा महत्वपूर्ण मानिन्छ । यही प्रकरणले नेपालमा पञ्चायती ब्यवस्थाको संरक्षणका लागि राष्ट्रवादी विद्यार्थी मण्डल जन्म्यो । अञ्चलाधीस टेकवहादुर रायमाझीको अगुवाइमा यो संगठन जन्मे पछि त्यतिवेलासम्म विद्यार्थी आन्दोलनको पक्षमा रहेका दीपक वोहरा, निरञ्जन थापा, विनोद थापाहरु सो संगठनमा लागे । यसलाई देवेन्द्र घिमिरेले भूमिगत यात्राका २० वर्षहरुमा “मुडुलापार्टी” को जन्म भनेर उल्लेख गर्नुभएको छ ।
पार्टीको पूर्णकालिन भएपछि २०२७ सालमा गोपाल दाइले हरुवा चरुवाको आन्दोलन उठाउनुभयो । रोहिणी नदीको पूर्वीभागमा जिम्मा लिएपछि उहाँ पार्टी सचिव हुनुभयो । केरवानीका किस्मतवहादुर मुनङ्गकर्मी जमिन्दार थिए । उनीसंग प्रसस्त हरवा चरवा थिए । जसले वर्षभरी काम गरेवापत ५ गुनदेखि ७ गुनसम्म धान, एक टीन दाल, दुइ लिटर तेल र चार किलो नुन दिइन्थ्यो । खान पनि नपुग्ने यो ज्यालालाई लिएर जमिन्दार विरोधी आन्दोलन उठाइएको थियाो ।
यो सन्दर्भमा जमिन्दारहरुसंग मुठभेडको अवस्थासम्म आयो र यही कारणले वारेण्ट काटियो । यसपछि उहाँ नवलपरासीतर्फ जानुभयो । र परासी क्षेत्रको राजनीतिक विस्तारमा योगदान गर्नुभयो । उहाँ २०२८ सालदेखि २०३४ सम्म मुक्तिमोर्चा तथा को–अर्डिनेशन केन्द्रसंगको एकता पछि वनेको नेकपाको पनि जिल्ला कमिटी सदस्य वन्नुभयो ।
२०३० सालमा चुरामणी खरेल नवलपरासीको ईन्चार्जबाट फिर्ता भएपछि गोपाल दाई ईन्चार्ज बनाइनुभयो जहाँ उहाँले ६ बर्ष बिताउनुभयो । कम्युनिष्ट पार्टीका संस्थापक पुष्पलालसंग एक बर्ष संगै काम गर्नुभएका उहाँले एकदेव आले र केशरमणीसंग चिस्सिएको पुष्पलालको सम्वन्धलाई पनि मध्यस्तकर्ता भएर मिलाउनु परेको अतित वडो रोमाञ्चक छ । कहिले केन्द्रको चिठी त कहिले जिल्लाको चिठी बोकेर पार्टीको हुलाकीको रुपमा गोरखपुरको कुणाघाट र बनारस धेरै पटक पुग्नु परेको इतिहास पनि मानसपटलमा ताजै छ ।
२०३१ सालमा मुक्ति मोर्चाको सदस्य हुनुभएका गोपाल दाई मुक्तिमोर्चा र कोअर्डिनेसन केन्द्रको एकतापछि पार्टी सदस्यता समेत खारेज भएको थियो । धैर्यताका प्रतिमूर्ति गोपाल दाईको राजनीतिक जीवनका उतारचढाव अन्य कम्युनिष्ट कार्यकर्ताका लागि उदाहरणीय र  पठनीय छ ।
दोश्रो पटक ०४५ देखि निरन्तर रुपन्देहीको जिल्ला कमिटी सदस्यको रुपमा रहनुभएका उहाँ नेकपा एमालेको तत्कालिन अञ्चल कमिटी हुँदै हाल एकीकृत नेकपाको प्रदेश सदस्य हुनुहुन्छ ।
 

प्राप्त प्रतिकृयाहरू

To Top