रुपन्देहीको लागि गौरवको आयाजना ः तिनाउ–दानव ‘रिभर रुट’

समाज माघ ८ २०७६ ekhabarnepal
Safe image


 बुटवल, माघ ८ । तिनाउ र दानव नदीको दुबैतर्फ बाइपास सडक (रिभर रुट) बनाइने  भएको छ । गौतमबुद्ध अन्तराष्ट्रिय विमानस्थल, बुद्ध जन्मस्थल लुम्बिनी र भारतसम्म जोड्ने गरी वनाइने भएको छ । 
 
 दुबै नदीको वारी र पारी ७ मिटरका दरले दुई लेन सडक, २ मिटर फुटपाथ, ३ मिटर ग्रीनरी र दुबैतर्फ १.५ मिटरको नाली हुनेतिनाउतर्फ १५–१५ किलोमिटरका दरले ३० किलोमिटर र दानवतर्फ १०–१० किलोमिटरका दरले २० किलोमिटर सडकको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयार भएको छ । 
तिनाउ र दानव नदी छुट्टिने बिन्दुबाट सुरु भई तिलोत्तमा र सैनामैना नगरपालिका हुँदै दक्षिणतर्फ भैरहवा–लुम्बिनी सडकलाई जोड्ने यो वैकल्पिक सडक बनाउन ४ अर्ब ३४ करोड रुपैयाँ लागत अनुमान गरिएको छ ।

संघीय सरकारले वैकल्पिक सहायक राजमार्ग विकास कार्यक्रम अन्तर्गत बनाउने सडकको वातावरणीय प्रभाव मूल्याङ्कन समेत भइसकेको छ । दुबै कोरिडोरमा एकसाथ काम सुरु गर्न चालु आ.व. मा ४५ करोड रुपैयाँ वजेट विनियोजन भएको छ । यो सडकको लागत प्रति किलोमिटर ८ करोड ७० लाख रहेको छ । 

यो सडक निर्माणका लागि अब छिट्टै सडक निर्माणका लागि टेण्डर आव्हान गरिने भएको छ, । यो सडक बनेपछि बुटवलबाट गौतमबुद्ध अन्तर्रा्ष्ट्रिय विमानस्थल र लुम्बिनी पुग्न झण्डै १० किलो मिटर दुरी छोटो हुने छ । यो सडक क्षेत्रमा सात सय ६ जनाको घररजग्गा परेकाले उनीहरुलाई स्थानान्तरण, मुआब्जा र क्षतिपुर्तिका लागि सम्बन्धित स्थानीय तहहरुले सहजिकरण गरिदिनुपर्ने सडक डिभिजनले स्थानीय तहका प्रमुखहरुलाई अनुरोध गरेको छ ।

बुटवल र भैरहवामा बढ्दै गएको ट्राफिकजामको दीर्घकालीन समाधान गर्न, यस जिल्लालाई नमुनाको रुपमा देखाउन र पर्यटकीय हिसाबले समेत महत्वपूर्ण यो सडकको निर्माणमा यस क्षेत्रका सांसद विष्णु पौडेलको विशेष भूमिका रहेको छ । रुपन्देहीका ठूला र दीर्घकालिन योजनामध्ये सेमलारको कृषि परियोजना, सिद्ववावा सुरुङ्ग मार्ग र यो सडक पर्दछन् । यी योजनाहरु यस क्षेत्रकम लागि गौरवका आयोजना हुन् ।


 

प्राप्त प्रतिकृयाहरू

To Top