“निरोगी डाक्टरकहाँ आउँछन्, रोगी भएर जान्छन्”

स्वास्थ्य माघ ७ २०७६ ekhabarnepal
Img 1892

डा. सुन्दरमणि दीक्षित

प्रविधिको विकास भयो तर गुणस्तर…

२०२६ सालमा मैले वीर अस्पतालबाट सेवा शुरु गर्दा वीरलगायत आर्मी अस्पताल, टेकुमा सरुवा रोग अस्पताल थियो । जनसंख्या कम भए पनि बिरामीको चाप धेरै । रोगको पहिचान गरेर उपचार गर्नेभन्दा पनि बिरामीलाई तत्काल रिलिफ दिने कुराले प्राथमिकता पाउँथ्यो ।

त्यस बेला सरुवा रोग र कुपोषणका रोग धेरै हुन्थे । मानसिकलगायत नसर्ने खालका रोग धेरै कम हुन्थे । अहिले आउने बिरामीका रोगहरु घुमाई–फिराई तनावसँग नै जोडिएको हुन्छ । रक्तचाप, डायबिटिज, हृदयघात, स्ट्रोक आदिको जड तनाव नै भएको हुन्छ ।

क्यामेरा भएको क्याप्सुल खुवाएर इन्डोस्कोपी पाइप नपुग्ने तल्ला भागको समेत फोटो खिचेर दिसासँगै क्याप्सुल निस्कन्छ । त्यो हेरेर भित्र कतै ट्युमर छ कि, रक्तश्राव भएको छ कि पत्ता लगाइन्छ ।

हामी सरुवा रोगबाट मुक्त भएका छैनौँ, साथै पश्चिमी जीवनशैलीका कारण नसर्ने खालका रोग पनि बढेका छन् । जस्तो– हिँडेर हुने ठाउँमा साइकल चढ्ने र साइकल चढेर हुने ठाउँमा मानिसहरु मोटर चढ्न थाले ।

ढिलो सुत्ने, ढिलो उठ्ने उताको जीवनशैली भित्रियो । मकै, भटमास, साग, भात, दाल, दूध, मही खाने ठाउँमा बन, पिज्जा, पास्ता, टोस्ट, जाम, जेली, चिसो पेय खान थाले, जसमा क्यालोरीको मात्रा धेरै छ ।


फलफूलको सट्टा जुस खान थालिएको छ । अल्कोहल त व्याप्त नै भएको छ । पहिला खानपानमा विषादी, रंग हालिएको हुँदैनथ्यो, शुद्ध हुन्थे, सबै अर्गानिक । विदेशीको प्रभाव बढ्न थालेपछि विषादी प्रयोग हुन थाल्यो, मासु बढी खान थालियो ।

कोलन क्यान्सर, हार्ट अट्याक, युरिक एसिड, कोलेस्ट्रोल, रक्तचाप, स्ट्रोक, ग्याष्ट्रिक, क्यान्सर, डायबिटिज बढ्नुमा यिनै कारण छन् । त्यस बेला रोग निदानका लागि अल्ट्रासाउन्ड, इन्डोस्कोपीको समेत सुविधा थिएन । हरेक कुरा हेर्न एक्स रे नै गर्नुपथ्र्यो ।

गलब्लाडर हेर्नलाई पनि औषधि खुवाएर हेर्नुपथ्र्यो । अहिले प्रविधिको विकासका कारण धेरै परिवर्तन आयो । सिटी स्क्यान, एमआरआई मात्र होइन क्याप्सुल इन्डोस्कोपी आइसक्यो । जसमा क्यामेरा भएको क्याप्सुल खुवाएर इन्डोस्कोपी पाइप नपुग्ने तल्ला भागको समेत फोटो खिचेर दिसासँगै क्याप्सुल निस्कन्छ । त्यो हेरेर भित्र कतै ट्युमर छ कि, रक्तश्राव भएको छ कि पत्ता लगाइन्छ ।

विषयगत हिसाबले पनि अहिले सुपर स्पेसलाइजेसनको कुरा आएको छ । त्यस बेला मभन्दा सिनियर डा. साबहरु– सिद्धिमणि बा, डा. हल्डर, डा. जीतसिंह मल्ल एमबी हुनुहुन्थ्यो, ब्याचलर अफ मेडिसिन । पछि सर्जरी जोडिर एमबीबीएस भयो । त्यसपछि २६ सालमा म आउँदा एमडी भएको थियो ।

संसारभरि एमडी भनेपछि फिजिसियनका लागि टप मोस्ट थियो । म हार्ट, लंग्स, बे्रन सबै हेर्छु । तर अहिले एमडी केही न केही भयो । त्योभन्दा माथि डीएम आएको छ, डक्टरेट इन मेडिसिन । यसमा पनि थपिँदै गयो । लंग्सको, ग्यास्ट्रिकको विशेषज्ञ हुन थाले । यति सूक्ष्म भएर गयो कि मुटुभित्र पनि मसलको, नर्भसको आदि विभिन्न विशेषज्ञ हुन थाले ।

एकले जानेको कुरा अर्कोले जान्दैन । जबकि २६ सालमा कुनै मानिस छाती दुखेर आउँदा म हार्ट पनि सोच्थेँ, लंग्स पनि सोच्थेँ, पेट पनि सोच्थेँ, हड्डी पनि सोच्थेँ । सबै कुरा सोचेर, सोधेर रोग डायग्नोसिस गर्थें । अहिले फरक भयो ।

अहिले छाती दुख्यो भने तपाईं कार्डियाकमा जानुहुन्छ । उसले सबै परीक्षण गर्छ । केही न केही देखेर औषधि दिन्छ, तर ठीक हुँदैन । अनि तपाईं ग्यास्ट्रिकमा जानुहुन्छ, इन्डोस्कोपी गर्छ । केही देख्छ र उपचार गर्छ, तर ठीक हुँदैन ।

पल्मोनरीमा पुग्यो, टेस्ट गर्छ, केही गडबडी पाउँछ । यसरी विशेषज्ञ खोजेर रोग डायग्नोसिस गर्नमा नै धेरै समय बित्छ, बिरामीले दुःख पाउँछ, खर्च बढ्छ । बिरामी दिक्क हुन्छ ।

अहिले सुपर स्पेसलाइजेसनमा गयो । हार्टभित्रको त सबै कुरा एउटै विशेषज्ञलाई थाहा हुँदैन भने उसलाई पेटको, फोक्सोको त थाहा हुने कुरै छैन ।

हार्ट नै ट्रान्सप्लान्ट गर्नुपर्यो भने, कोरोनरी आर्टरी खोल्नुपर्यो भने, बे्रनको अप्रेसन गर्नुपर्यो भने ठीक छ तर आमबिरामी (जो झन्डै ९० प्रतिशत हुन्छन्) लाई सुपर स्पेसलाइजेसनले डे टु डे रोगमा राम्रो भएको छैन, दुःख पाइरहेका छन् । यसले गर्दा स्वास्थ्य सेवाको गुणस्तरमा नै प्रश्नचिह्न लाग्न थालेको छ ।

यसमा पनि मुख्य त दुईवटा कारण छन् । बिरामी आफैँ र डाक्टरहरु । अज्ञानताले गर्दा बिरामीहरु गलत ठाउँमा पुग्छन् । कसैलाई नसोधी आफूखुशी दौडिएर खोजेको ठाउँमा पुगिँदैन । बिरामी

शुरुमा जनरल फिजिसियनकहाँ गए उसले सही सल्लाह दिन सक्छ । बिरामी विनागाइड आफैँ परीक्षण रिपोर्ट बोकेर दौडिँदा सही ठाउँमा पुग्दैन, दुःख पाउँछ । अर्को त डाक्टहरुको पनि गल्ती छ।

‘डा. साब नमस्कार’ भन्छन् तर ‘पाए तँलाई काट्छु तर नमस्कारचाहिँ गर्छु’ भनेजस्तो लाग्छ । किनभने अहिले बिरामीको मनमा परेको छ, ‘डाक्टरहरु व्यापारी हुन्, पैसा कमाउन बसेका छन् ।’ हामीले महल बनाएका छौँ, स्वीमिङ पुल छ, छोराछोरी बेलायत–अमेरिकामा पढ्छन् ।

आफ्नो ज्ञान क्षेत्रबाहिरको बिरामी भन्ने थाहा हुँदाहुँदै पनि अधिकांशले भन्दैनन् र अरुकहाँ पठाउँदैनन् । किनकि नपठाउँदा पैसा आइरहन्छ । ‘यो मेरो केस होइन, पैसा फिर्ता लिएर अन्यत्रै जानुस्’ भन्न सक्नुपर्छ । नत्र बिरामीले दुःख पाइरहन्छ । जस्तो बिरामी आए पनि, जति बिरामी आए पनि सबैलाई हेर्न थाले सेवाको गुणस्तर राम्रो हुँदैन ।

गुगलमा हेरेर औषधि आफैं खान्छन्

पचास वर्षयता इन्टरनेटको विकासले मानिसमा धेरै चेतना बढेको छ । इन्भेस्टिगेसन, औषधि, उपचारको ढाँचामा जस्तै बिरामीको चेतनामा पनि वृद्धि भएको छ । टाउको दुखे पनि, पेट दुखे पनि गुगलमा गएर हेर्ने अनि डाक्टरकहाँ उपचार गर्न जाने बानी परेको छ ।

डाक्टरले भनेको कुरा गुगलसँग मिलेन भने बिरामी पत्याउँदैनन् । कतिपय बिरामी त गुगलमा हेरेर आफैँ औषधि खान थाल्छन्, टेस्टहरु गरेर जँचाउन आउँछन् । मैले त कतिपय बिरामीलाई खाएको औषधि रोक्नुपरेको छ ।

‘ब्लड टेस्ट किन गर्यौ ?’ भनेर सोध्नुपरेको छ । पुरानो जमानामा जब हामी बिरामी जाँचेर उपचार गथ्र्यौं, निको भएर जान्थे । अब निरोगी डाक्टरकहाँ आउँछन् र रोगी भएर जान्छन् । किनकि अहिले आपूmखुशी होलबडी चेक गर्ने प्रवृत्ति बढेको छ ।

डाक्टरीमा परम्परागत पद्धति छ, बिरामी आएर डाक्टरलाई के भएको छ भनेर आप्mनो समस्या बताउँछ । त्यसको आधारमा म बिरामीलाई जाँच्छु । मेरो फोकस त्यसका आधारमा बन्छ । बिरामीको हिस्ट्री र आफ्नो अनुभवको आधारमा यो रोग हुन सक्छ भनेर अनुमान गर्छु र त्यसको आधारमा टेस्ट गराउँछु ।

मैले सोचेको कुरालाई बढी महत्व दिन्छु, टेस्ट त सहयोगी मात्र हो । मैले बिरामीको औषधि गर्ने हो, टेस्ट रिपोर्टको होइन । बिरामीलाई यो रोग हुन सक्छ नत्र यो हुन सक्छ भनेर मेरो डायग्नोसिस भएको हुन्छ । प्राथमिकताअनुसार औषधि गर्छु । पहिलो अनुमानमा मिल्यो भने ठीकै छ, नत्र अरुमा जान्छु ।

तर अहिले यो पद्धति छोडेर सर्टकर्टमा गएको छ । बिरामी आपूmखुशी होलबडी चेक गरेर आउँछ । कसैको परिवारमा हार्ट अट्याकको समस्या छ, टिबी, एड्स, स्ट्रोक भएको हिस्ट्री छ भने त्यो अनुसार टेस्ट गरेर आउँदा ठीकै हो तर अनावश्यकरुपमा सोझै सिटी स्क्यान, एमआरआईलगायत होलबडी चेक गरेर आइदिएपछि डायग्नोसिसमा समस्या हुन्छ ।

शंका धेरै हुन्छ । परीक्षण उपकरणहरु ज्यादै सेन्सेटिभ छन्, सानो कुरा पनि दाग देखाउँछ । यो देखेर बिरामी गुगलमा जान्छ, यस्तो दागलाई गुगलले प्रायः क्यान्सर इंगित गरेको हुन्छ । अनि केही नभएको बिरामी तनावमा पर्छ र बिरामी हुन्छ ।

हालैको न्यू इङ्गल्यान्ड जर्नलमा यससम्बन्धी अध्ययन रिपोर्ट प्रकाशित भएको छ । अध्ययनकर्ताहरुले मानिसलाई दुई समूहमा राखे । डाक्टरले नभनीकन होलबडी चेक गरेर आउने र डाक्टरले भनेबमोजिम गरेर आउने ।

आपूmखुशी होलबडी चेक गर्ने वा डाक्टरलाई होलबडी चेक गराइदेऊ भनेर चेक गर्ने समूहको मृत्युदर अर्को समूहको भन्दा २५ प्रतिशत बढी भएको पाइयो । चिन्ताको कारण उनीहरुको मृत्यु छिटो भएको निष्कर्ष छ ।

डाक्टरी गर्नका लागि १०–१५ वर्ष त पढ्नै पर्छ । साथै अनुभव हुन्छ । मेरो पचास वर्षको अनुभव छ । तर गुगलसँग त त्यो अनुभव हुँदैन । गुगलमा टाउको दुख्यो भनेर खोज्न थाल्यो भने सबैभन्दा पहिला नै ट्युमर, क्यान्सरको कुरा गर्छ ।

छातीमा दाग देखिएर सोध्यो भने सर्वप्रथम निमोनिया भन्दैन, क्यान्सर नै भनिदिन्छ । यस्तो अवस्थामा मानिसलाई धेरै चिन्ता पर्छ, निरोगी पनि बिरामी पर्छ ।

डाक्टर–बिरामी व्यापारिक सम्बन्ध

पहिला बिरामी र डाक्टरको सम्बन्ध देवता र भक्तको जस्तो थियो । भित्रै मनदेखि ‘ओहो डा. साब’ भन्थे । अहिले ‘डा. साब नमस्कार’ भन्छन् तर ‘पाए तँलाई काट्छु तर नमस्कारचाहिँ गर्छु’ भनेजस्तो लाग्छ । किनभने अहिले बिरामीको मनमा परेको छ, ‘डाक्टरहरु व्यापारी हुन्, पैसा कमाउन बसेका छन् ।’ हामीले महल बनाएका छौँ,

स्वीमिङ पुल छ, छोराछोरी बेलायत–अमेरिकामा पढ्छन् । ‘डाक्टरले कसरी पैसा कमाए त ?’ भन्ने कुरा आउँछ । त्यसैले मलाई बिरामीले झुकेर नमस्कार गर्दा पनि ‘पख् तँलाई’ भनेको हो कि जस्तो लाग्छ ।

कारण पनि छ, डाक्टरहरु बिरामीलाई समय दिन छोडे । कतिपयले स्टेथेस्कोपसमेत लगाउँदैनन् । बिरामी धेरै हुन्छन्, सबै भ्याउनुपर्ने, डाक्टर सर्टकर्टमा जान्छन् । बिरामी पनि होलबडी चेकअप गरेर आएपछि त सकिगो ।

रिपोर्टको आधारमा औषधि लेख्छन् । बिरामी जाँच्ने पद्धति छ, त्यो छायामा पर्दै गयो । हतारले गर्दा समयमै रोग डायग्नोसिस हुँदैन । समयकै कारण डाक्टर–बिरामीबीच सञ्चार सम्बन्ध पनि ग्याप हुँदै गएको छ, जसले गर्दा बिरामी र डाक्टरहरुबीच पनि द्वन्द्व बढ्दै गएको देखिन्छ ।

एउटा प्रसिद्ध मेडिकल जर्नलले केही वर्षअघि सम्पादकीयमा ‘डाक्टरहरुले कमसे कम बिरामीलाई छुनुसम्म त पर्यो नि’ भनेर लेखेको थियो । यो त्यत्तिकै लेखेको होइन । धेरै डाक्टरले बिरामी छुँदैनन् । कतिपय त बिरामी र डाक्टर आमनेसामने नै हुँदैनन्, रिपोर्ट मात्र हेर्छन् ।

तीन महिना अघिको न्यू इंग्ल्यान्ड जर्नलमा आएको छ– एउटा इन्डियन डाक्टर भिजिटिङ प्रोफेसरका रुपमा अमेरिका पुगेछन् । अस्पतालमा सहायकहरुले उनलाई बिरामी भएको ठाउँमा नलगी कम्युनिकेसन सेन्टरमा लगेछन् ।

कम्प्युटराइज सिस्टम रहेछ, हरेक बिरामीको डेटा कम्प्युटरमा छ, बिरामी भाइबरमा आइरहेको छ । त्यसैका आधारमा औषधि लेख्नुपरेछ । उनले ‘मैले बिरामी पनि हेर्नुपर्छ’ भन्दा सहयोगीहरुले छक्क परेर भने रे, ‘बिरामीलाई किन हेर्नुपर्छ, सबै सूचना यहीँ छ’ । उनले ‘मैले बिरामी हेर्न, छुन पाइन’ भनेर जर्नलमा गुनासो पोखेका छन् ।

बिरामीको चाप, डाक्टरको पैसा कमाउने प्रवृत्ति बढी भएको कारण यसो हुँदै छ । यसो नहोस् किन, ६०–७० लाख खर्च गरेर पढेको हुन्छ । कलेज र अस्पतालहरु मानवीय दृष्टिले भन्दा व्यापारिक दृष्टिले आउन थाले ।

डाक्टरहरु पनि विशुद्ध व्यापारी भइदियौँ । यो सबैको मार बिरामीलाई परिरहेको छ । यसले गर्दा डाक्टर र बिरामीको रिलेसनसिप एकदमै बिग्रियो । अब हाम्रो सम्बन्ध एउटा हितैषीको जस्तो नभई पूरा व्यापारिक भयो ।

कमिसनको चक्कर

एउटा नाम चलेको अस्पतालमा महिला डाक्टर हुनुहुन्थ्यो । उहाँ चाहिने टेस्ट गराउने, नचाहिने टेस्ट नगराउने । एकदिन व्यवस्थापनको मानिसले भनेछन्, ‘तपाईं त न सिटी स्क्यान गराउनुहुन्छ, न एमआरआई, न अल्ट्रासाउन्ड । परीक्षणहरु नै छैनन् त ? बिरामीलाई अलि परीक्षण गर्न लगाउनुपर्यो ।’

‘मैले अनावश्यक परीक्षण किन गराउने ? चाहिने गराइरहेको छु’ भनिछन् । ‘अरुले गर्छन् तपाईंले पनि गर्नुपर्यो’ भनेर दबाब दिएपछि उनले त्यो अस्पताल नै छोडेको मलाई सुनाएकी थिइन् । अस्पताल राम्रो छ, पैसा खर्च गरेर राम्रा उपकरण पनि ल्याएका छन्, ऋण पनि लागेको होला तर बिरामीसँग अनावश्यक असुली गर्नु ठीक होइन ।

अहिले डाक्टरहरुका लागि एउटा भनाइ आएको छ, ‘तिमीले त्यो टेस्ट मात्र गर्नु, जसको आधारमा तिमीले बिरामीलाई फाइदा पुर्याउन सक्छौ ।’

औषधि कम्पनीहरुले डाक्टरहरुलाई खिलाइ–पिलाइ गरेर बिरामीलाई महँगो औषधि भिडाउन प्रेरित गर्छन् । यसले पनि स्वास्थ्य सेवा महँगो भएको छ ।धेरै महँगो एउटा एन्टासिड आएको थियो ।

त्यसको एजेन्टले मलाई, ‘कलकत्तामा कन्फ्रेन्स हुँदै छ, विभिन्न देशबाट आउँदै छन्, बस्ने–खाने, साइट सिनको राम्रो प्रबन्धसहित तपाईंलाई निम्ता छ’ भन्यो । ‘एकदिनको लागि म किन कलकत्ता जाने ? त्यो रिपोर्ट दिनुस्, भैहाल्छ नि’ भनेँ ।

त्यसले ३ हप्ताअगाडि घडी ल्याएर दिएको थियो, मैले त्यति बुझिन । जब यो प्रस्ताव ल्यायो, मैले ‘सरी जान्न’ भनेँ । किनभने म गएँ भने उसको महँगो औषधि मैले बेच्नुपर्छ, नबेचे उसले मलाई बेइमान भन्छ भन्ने लाग्यो ।

औषधि उत्पादक कम्पनीले डाक्टरलाई यति रकमभन्दा बढी दिन पाइँदैन भनेर अहिले अमेरिकन सिनेटबाट पास गरेको त्यत्तिकै होइन ।

पहिला नेपालमा सिटी स्क्यान नहुँदा आवश्यक परेका बिरामीलाई गोरखपुर पठाउँथेँ । त्यहाँबाट एकदिन रजिस्टर चिठी आयो । खोलेर हेर्दा भारु तीन हजार पाँच

सयको चेक रहेछ । खालि कागजमा लेखेको थियो– ‘योर कमिसन’ । अनि मैले ‘कमिसनका लागि बिरामी पठाएको होइन, नेपालमा सिटी स्क्यान छैन, तिम्रो रिपोर्टिङ राम्रो छ, त्यसैले म बिरामीचाहिँ पठाइरहन्छु तर मलाई कमिसन नपठाऊ’ भनेर लेखेँ अनि चेक त्यसैमा फिर्ता गरेँ ।

अहिले मलाई कसैले पनि यस किसिमको कमिसन दिने आँट गर्दैनन् तर मैले बजारमा यस किसिमको चक्कर चल्ने गरेको घुइरो सुनेको छु, यथार्थ थाहा छैन । कमिसनको मार बिरामीलाई पर्छ । त्यसो हुन दिनुहुँदैन ।

फिस फिर्ता माग्नु गलत

अहिले मेडिकल स्टुडेन्टहरुले बढी फिस फर्काऊ भन्दै जाँच नदिने, हड्ताल गर्ने गरिरहेका छन् । मेडिकलमा जाँच नदिनु आफैँलाई धोका दिनु हो । पहिला सरकारले फिस तीस लाख तोकिदिएको थियो । कतिपय कलेजले साठी लाखसम्म मागे ।

धनीले त्यत्ति नै र मध्यमवर्गले ४०–४५ लाखसम्म तिरे । तर गरिब विद्यार्थीले ट्यालेन्ट भए पनि ३० लाखभन्दा बढी जम्मा गर्न सकेन, ऊ अन्यत्रै लाग्यो ।जसले त्यस बेला बढी तिरेर एड्मिसन गरे, उनीहरुको पैसा फिर्ता गर्नुहुँदैन ।

किनभने उनीहरुले त्यस बेला सम्पत्तिको धाक लगाएर ६० लाखसम्म तिरेका कारण ३० लाख मात्र तिर्न सक्नेले भर्ना हुन पाएन । अहिले बढी तिर्नेको पैसा फिर्ता गरिदिने हो भने त त्यस बेला तीस लाख मात्र तिर्न तयार हुनेलाई अन्याय हुन्छ । धनीहरुकै बेइमानीले उसले भर्ना हुन पाएको थिएन ।
आन्दोलन गर्ने, अदालत जाने भए त्यही बेला गर्नुपथ्र्यो । कसैसँग पैसा छ भन्दैमा पद्धति बिगारेर भित्र पस्ने अनि खुट्टा जमाएर राजनीतिक पार्टीको भरोसामा आन्दोलन गरेर रकम फिर्ता माग्ने ?

आफू पनि जाँच नदिने, अरुलाई पनि जाँच दिन बाधा पुर्याउँदै प्रश्न च्यातिदिनु अन्याय हो । कलेजले सरकारले तोकेको भन्दा बढी लिनुहुँदैनथ्यो र विद्यार्थीले पनि पैसा छ भन्दैमा बढी तिर्नुहुँदैनथ्यो । तिरेपछि किन फिर्ता माग्ने ?

काउन्सिलको परीक्षा सच्याउनुपर्ने

हालै मेडिकल काउन्सिलले लिएको लाइसेन्सिङ परीक्षामा एमबीबीएसतर्फ ४९ प्रतिशत र बीडीएसतर्फ ४२ प्रतिशत मात्र पास भएछन् । यो धेरै नराम्रो रिजल्ट हो । मैले पचास वर्ष बिरामीको उपचार गरेँ, अध्ययन पनि गरिरहेको छु ।

तर मलाई कसैले आएर जाँच लियो भने फेल हुन्छु । नेपाल मेडिकल काउन्सिलको जाँच पनि यस्तै भइरहेको छ । सबैलाई एकै किसिमको प्रश्न दिएर कडा जाँच लिनु ठीक होइन । जाँच लिनेहरुमा इगो देखिएको छ ।

कोही नेपाल, कोही चीन, कोही बंगालादेश, कोही अजरबैजानमा पढेका छन् । सबैले पढेर पास गरेरै आएका हुन् । देशअनुसार पढाइ फरक हुनु स्वाभाविक हो । समान खालका प्रश्न दिएर कुनै देशमा पढेको विद्यार्थी फेल भयो भन्दैमा त्यहाँको पढाइ खराब भन्न मिल्दैन ।

पढाइको पद्धति फरक छ, त्यही पद्धतिअनुसार प्रश्न सोध्नुपर्छ । बिरामीको उपचार गर्न सक्छ वा सक्तैन, प्राक्टिकलरुपमा हेर्नुपर्छ । समान रुपको थ्यौरी जाँच लिने विधि उपयुक्त छैन । जस्तोसुकै कलेजमा पढेर आएका भए पनि ५१ प्रतिशत फेल हुने हुँदैन । परीक्षा प्रणाली र सोचमै त्रुटि छ, सच्याउनुपर्छ ।

प्रस्तुति ः लक्ष्मण अधिकारी
साधनावाट 

प्राप्त प्रतिकृयाहरू

To Top