प्रदेशमा लगानी सम्मेलन हुंदै, प्रदेश सरकारले बिद्युत र सडकको जिम्मा लिने

राजनीति माघ ६ २०७६ ekhabarnepal
2

बुटवल,माघ ६ २०७६ ।

प्रदेश ५ सरकारले गर्न लागेको प्रदेश लगानी सम्मेलनको पुर्व तयारी स्वरुप आज बुटवलमा अन्तर संबाद कार्यक्रम गरिएको छ । प्रदेशको समृद्दीको खाका कोर्ने उद्देश्यले प्रदेश सरकारले यसै आर्थिक वर्ष भित्र प्रदेश लगानी सम्मेलनको पुर्व तयारीका चरणमा अन्तरसंबाद गरेको हो ।

आर्थिक मामिला तथा योजना मन्त्रालयले आज बुटवलमा आयोजना गरेको सार्वजानिक निजी साझेदारी संबाद कार्यक्रमको अध्यक्षता गर्दै प्रदेश ५ सरकारका मुख्यमन्त्री शंकर पोखरेलले औद्योगिक बिकासका लागि राजनितीक वाताबरण अनुकुल हुनु पर्ने बताउनु भयो ।
मुख्यमन्त्री पोखरेलले प्रदेश नम्बर ५ मा मक्का मदीनाको महत्वपूर्ण सम्पदा रहेको उल्लेख गर्दै ती सम्पदाहरु माटोमुनी लुकेर बसेको बताउनु भयो ।
नवलपरासी र कपिलवस्तुमा माटो मुनी सम्पदाको खानी भएको बताउंदै मुख्यमन्त्री पोखरेलले खानी उत्खनन् मात्र गर्न सके त्यो स्थान सम्पदाको शहर बन्न सक्ने बताउनु भयो ।
उहांले आर्थिक समृद्धी हासिल गर्न धार्मीक पर्यटनलाई ब्यवसायीकरण गर्न आवश्यक रहेको बताउंदै प्रदेश नम्बर ५ को स्वर्गद्धारी हिन्दुहरुका लागि पशुपतिनाथ पछिको दोस्रो तिर्थस्थल बन्न सक्ने स्पष्ट पार्नुभयो ।
कार्यक्रममा उपस्थित उद्योगी ब्यवसायीलाई सम्बोधन गर्दै मुख्यमन्त्री पोखरेलले ब्यवसायीले १ अर्व बढीको लगानी गर्ने गरि स्थान पहिचान गरे प्रदेश सरकारले बिद्युत र सडकको जिम्मा लिने आश्वासन समेत दिनुभयो ।
उद्योगी ब्यवसायीलाई बिद्युतको खपत बढाउन आग्रह गर्दै उहांले दिनमा बिद्युत खपत गर्दा बिद्युतमा छुट दिने तयारी सरकारले गरेको जानकारी दिनुभयो । ब्यवसायीले माग गरेको अवस्थामा प्रदेश सरकारले दक्ष जनशक्ति उपलब्ध गराउन समेत सरकार तयार रहेको उहांको भनाई थियो ।
उनले प्रदेश ५ मा कृषि, उद्योग, पर्यटन, सेवा, खनिज, जडिबुटी लगायतका क्षेत्रमा लगानी गरेर लाभ लिन सकिने प्रचुर सम्भावना रहेको र प्रदेश सरकारले लगानीमैत्री वातावरण बनाउन नीतिगत सुधार गर्न तयार रहेको बताए । उनले बुद्ध जन्मस्थल लुम्बिनी र यससँग सम्बन्धित कपिलवस्तु तिलौराकोट लगायतका क्षेत्र र पहाडी क्षेत्रमा हिल स्टेशनहरुमा लगानी गर्न सकिने औंल्याए । प्रदेश सरकारले सस्तो जग्गाको उपलब्धता र पुर्वाधारहरु बनाएर लगानीकर्तालाई सहज वातावरण बनाउन तत्पर रहेको बताए ।

त्यस अवसरमा लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत महाप्रसाद शर्माले सातवटा प्रदेश मध्ये प्रदेश ५ ले पहिलोपटक आयोजना गर्ने लगानी सम्मेलनले समग्र मुलुकको समृद्धि र विकासमा योगदान पुग्ने बताए ।
 उनले लगानी सम्मेलनमा तुलनात्मक लाभका क्षेत्र र राम्रो परियोजना छनोट गरेर मात्र लगानी गर्न प्रदेश सरकारले सघाउनुपर्ने सुझाव दिए ।

कार्यक्रममा कार्यपत्र प्रस्तुत गर्दै प्रदेश योजना आयोगका उपाध्यक्ष डा.ईश्वर गौतमले बिकास र समृद्दीका लागि प्रदेश ५ सबैभन्दा उपयुक्त प्रदेश भएको बताउनु भयो ।
यूकेएडसीप परियोजनाका बलजित बोहराले सरकारी नीति नियमहरु नीज क्षेत्र र लगानीमैत्री बनाउन आग्रह गरे । लगानी बोर्डका परामर्शदाता घनश्याम ओझा र अतुल गान्धीले सार्वजनिक निजी साझेदारी लगानीका सम्भावना, चुनौति र समस्याबारे जानकारी गराएका थिए ।
प्रदेश योजना आयोगका सदस्य विष्णु गौतमले प्रदेश ५ सरकारले योजनावद्ध आवधिक विकासको अवधारणा अनुसार अल्पकालीन र दीर्घकालीन लक्ष्य निर्धारण गरेर काम गरिरहेको बताए ।

आर्थिक मामिला तथा योजना मन्त्रालयका सचिव मधुकुमार मरासिनीले निजी क्षेत्रसँग संस्थागतरुपमा सहकार्य र सम्बन्ध विस्तार गरी स्वदेशी र विदेशी लगानी भित्राउने र दातृ निकाय र स्थानीय तहका राय सुझाव लिएर लगानी सम्मेलनलाई फलदायी बनाउन सरोकारवाला निकायसँग छलफल गरिएको बताए । निजी क्षेत्रसँगको छलफललाई निरन्तरता दिने मरासिनीले बताए ।
उद्योग वाणिज्य महासंघ प्रदेश ५ का अध्यक्ष गुणनिधि तिवारीले सरकारले लगानीमैत्री नीति र लगानीमैत्री वातावरण बनाउन जरुरी रहेको बताए ।


कार्यक्रममा प्रदेशका स्थानीय सरकारका प्रमुख तथा उद्योगी ब्यवसायीहरुको उपस्थिती रहेको थियो । सरकारले आगामी बसन्त ऋतुमा लगानी सम्मेलन गर्ने घोषणा गरेको छ ।

प्राप्त प्रतिकृयाहरू

To Top