बुटवलमा रातभर वर्षा, २४ घण्टा वर्षा तथा हिमपात नराेकिने

समाज माघ ३ २०७६ ekhabarnepal
Barsa 11

काठमाडौं, माघ ३
पश्चिमी न्यून चापीय प्रणालीका कारण बिहीबारदेखि नै बुटवल काठमाडौं उपत्यकालगायत देशका अधिकांश स्थानमा वर्षा भइरहेकाे छ।

मौसम पूर्वानुमान महाशाखाका मौसमविद् समीर श्रेष्ठका अनुसार काठमाडौं उपत्यकामा पनि बिहीबार रातभर वर्षा भएको छ। शुक्रबार बिहानसम्म वर्षा जारी नै छ।

वर्षाले सडक भिजेका छन् भने खाल्डाखुल्डीमा पानी जमेका छन्। पिच नभएका सडक हिलाम्मे भएका छन्। यतिबेला सडकमा मानिस छाता ओढ्दै तथा रुझ्दै हिँडेको देखिन्छ।
 देशका अधिकांश स्थानमा वर्षा भएको अनुमान छ। ‘यसपालि चाहिनेभन्दा बढी नै हिउँदे वर्षा भएको अनुमान छ,’ श्रेष्ठले भने, ‘विगतका वर्षभन्दा बढी हो होइन भन्नचाहिँ तथ्यांक आएपछि मात्रै सकिन्छ।’

यसैगरी देशका उच्च पहाडी तथा हिमाली भेगमा हिमपता भइरहेकाे माैसमविद्ले बताएका छन्। 

“बिहीबार साँझदेखि जुम्ला, हुम्ला, मनाङलगायत हिमाली भेगमा भारी हिमपात भइरहेको छ भने मध्य पहाड, पूर्वी पहाड र तराईमा वर्षा भइरहेको छ,” मौसमविद् बरुण पौडेलले भन्नुभयो, “वर्षा गएसँगै तराईमा लागेको हुस्सु भने हटेको छ ।”

मौसम पूर्वानुमान महाशाखाका अनुसार आज (शुक्रबार) पनि देशका अधिकांश स्थानमा वर्षा तथा उच्च पहाडी तथा हिमाली भेगका धेरै ठाउँमा हिमपात हुने सम्भावना छ।

महाशाखाले शुक्रबार बिहान प्रकाशन गरेको बुलेटिनमा भनिएको छ : पश्चिम तथा मध्यको उच्च पहाडी तथा हिमाली भेगका थोरै स्थानमा भारी हिमपातको सम्भावना छ।

आज पनि दिनभर देशभरजसाे वर्षा हुने मौसमविद्ले अनुमान गरेका छन्।

महाशाखाकै अर्का मौसमविद् प्रतिभा मानन्धरका अनुसार पश्चिमी न्यून चापीय प्रणाली पूर्व सर्ने क्रममा रहेकाले आज पश्चिम क्षेत्रमा दिउँसोदेखि वर्षा कम हुनेछ भने मध्य र पूर्वी क्षेत्रमा दिनभर वर्षा हुने सम्भावना छ।


महाशाखाले अरू २४ घण्टा वर्षा तथा हिमपात नराेकिने अनुमान गरेकाे छ। 

शुक्रबार बिहान महाशाखाले आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श जारी गर्दै लेखेकाे छ : ‘देशका अधिकांश स्थानमा हल्कादेखि मध्यम वर्षा तथा उच्च पहाडी तथा हिमाली भेगमा हल्कादेखि मध्यम हिमपातकाे सम्भावना छ। 

साथै मध्य र पश्चिमका उच्च पहाडी तथा हिमाली भेगका थोरै स्थानमा भारी हिमपातको सम्भावना रहेकाले सतर्कता अपनाउन तथा यसबाट हुने चिसोबाट बच्न सर्वसाधारण सबैलाई अनुरोध छ।’

आगामी तीन दिनको मौसम पूर्वानुमान :
माघ ३ गते (शुक्रबार) 

दिउँसो : देशभर सामान्यदेखि पूर्णसम्म बदली रहनेछ। देशका अधिकांश स्थानमा हल्कादेखि मध्यमसम्म वर्षाको सम्भावना छ। उच्च पहाडी तथा हिमाली भेगका अधिकांश स्थानमा हल्कादेखि मध्यमसम्म हिमपातको सम्भावना छ। पश्चिम तथा मध्यको उच्च पहाडी तथा हिमाली भेगका थोरै स्थानमा भारी हिमपातको सम्भावना छ।

राति : देशभर आंशिकदेखि सामान्यसम्म बदली रहनेछ। देशका केही स्थानमा हल्का वर्षा हुने देखिन्छ भने उच्च पहाडी तथा हिमाली भेगका केही स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ। 

माघ ४ गते (शनिबार) 
दिउँसो : देशभर आंशिकदेखि सामान्यसम्म बदली रहनेछ। पहाडी  भू-भागका थोरै स्थानमा हल्का वर्षा हुने देखिन्छ भने पश्चिमी उच्च पहाडी तथा हिमाली भेगका केही स्थानमा हल्का हिमपातको सम्भावना छ।

राति : देशको पहाडी भू-भागमा आंशिकदेखि सामान्यसम्म बदली भई पश्चिमी पहाडी भू-भागका थोरै स्थानमा हल्का वर्षा हुने सम्भावना छ।

माघ ५ गते (आइतबार) 
दिउँसो : देशको पहाडी भू-भागमा आंशिक बदली भई पहाडी भू-भागका थोरै स्थानमा हल्का वर्षा हुने सम्भावना छ।

राति : देशको पहाडी भू-भागमा आंशिक बदली तथा बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ।

स्राेत : जल तथा माैसम विज्ञान विभाग, माैसम पूर्वानुमान महाशाखा

प्राप्त प्रतिकृयाहरू

To Top