राजधानी हेटौँडा वनाउन नेकपा संसदीय दलको निर्णय 

राजनीति पौष २६ २०७६ ekhabarnepal
Pradesh 32020 01 11 08 05 36

हेटौँडा,पौष २६ 
 प्रदेश ३ को स्थायी राजधानी र नाम टुंगो लगाउन शनिबार प्रदेश सभामा प्रस्ताव दर्ता हुँदै छ । सभामा दुईतिहाइ बहुमत रहेको सत्तारूढ दल नेकपा पार्टी सचिवालयको निर्देशनअनुसार राजधानी हेटौँडा र नाम बागमती रहने गरी प्रदेश सरकारले शनिबार प्रस्ताव दर्ता गराउने तयारी गरेको छ । 

प्रदेश सरकारको प्रस्तावित प्रस्तावमा सांसदहरू एक मत हुन नसके पनि नेकपा संसदीय दलको शुक्रबारको बैठकले प्रस्तावको पक्षमा मतदान गर्न निर्देशन दिएको छ ।
 बैठकले प्रदेश ३ को राजधानी हेटौँडा र नाम बागमती तोक्ने प्रस्तावको पक्षमा मतदान गर्न आफ्ना सांसदलाई शनिबार ह्विप जारी गर्ने छ । पाँच दिनदेखि जारी दलको बैठकमा सहमति खोज्ने प्रयास भएको थियो । सांसदहरूले लगातार असन्तुष्टि जनाउँदै पार्टी केन्द्रको निर्देशनअनुसार तयार पारिएको प्रस्तावको पक्षमा मतदान नगर्ने अडान राख्दै आएका थिए । शुक्रबार पनि असन्तुष्ट सांसद सहमत हुन सकेनन् । असहमतिका बाबजुद दलका नेता डोरमणि पौडेलले पार्टी सचिवालयकै चाहनाअनुसाको प्रस्तावमा मतदान गर्न निर्देशन दिए । 
 केही असन्तुष्ट सांसदले त्यसमा असहमति जनाएपछि उनले राजधानी र नामबारे एउटै मात्र प्रस्ताव दर्ता गराउने तयारी गरिएको भन्दै त्यसबाहेक अन्य प्रस्ताव दर्ता नगराउन सांसदहरूलाई निर्देशन दिएका थिए । 

नेकपाको सचिवायले प्रदेशको स्थायी राजधानी हेटौँडा तथा नाम बागमती राख्ने निर्णय गरी त्यसैअनुसार निर्णय गर्न पार्टीको प्रदेश कमिटी र प्रदेश सरकारलाई निर्देशन दिएको थियो । शुक्रबार ११ बजेबाट बसेको बैठकमा अन्तिम समयसम्म सांसदहरू विभाजित भएपछि नेकपा संसदीय दलले ह्विप जारी गरेर निर्देशनअनुसार पक्षमा मतदान गर्न सबैलाई आह्वान गरेको दलका उपनेता तथा आन्तरिक मामिला तथा कानुनमन्त्री शालिकराम जम्कट्टेलले जानकारी दिए । ‘अन्तिम समयसम्म विभाजित सांसदलाई अनुरोध गरियो,’ उनले भने, ‘कुनै अवस्थामा एकमत नहुने भएपछि ह्विप जारी गरेर निर्देशन दिने निर्णय भएको हो ।’ 

दलको बैठकमा केही सांसदले राजधानीका लागि विभिन्न पाँचवटा जिल्लाको नाम प्रस्ताव गर्न माग गरेका थिए । शुक्रबार पनि सांसदहरूले राजधानी अध्ययन सम्भाव्यता समितिले सिफारिस गरेको काभ्रे, चितवन, नुवाकोट, भक्तपुर र मकवानपुर गरी पाँच वटै जिल्लाको नाम प्रस्ताव गर्नुपर्ने माग गरेका थिए । 
प्रदेश ३ का मुख्यमन्त्री डोरमणि पौडेलले पक्ष र विपक्षमा मतदान हुँदा फ्लोर क्रस गर्ने सम्भावना नरहेको दाबी गरेका छन् । उनले सचिवालय र दलको निर्णय अनुसार हेटौँडा राजधानी र नाम बागमतीबाहेक अर्को प्रस्ताव दर्ता हुने सम्भावना पनि नभएको बताए । ‘हाम्रो पार्टी नेकपाको आधिकारिक निर्णयअनुसार हाम्रा सबै सांसद् अगाडि बढ्नुहुनेछ,’ उनले भने, ‘पार्टीभित्र बहस र छलफल भए पनि अहिले हामी निचोडमा पुगेका छौँ ।’ उनले निचोडमा पुगेको दाबी गरे पनि ह्विप जारी र निर्देशनबारे प्रतिक्रिया दिन चाहेनन् । 

मन्त्री जम्कट्टेलले पनि ह्विप जारी गरिएकाले फ्लोर क्रस नहुने विश्वास व्यक्त गरे । ‘दलको निर्णयविपरीत मतदान नगर्न सांसदहरूलाई पुनः अनुरोध पनि गरिएको छ, त्यसैले ह्विपको उलंघन हुन्छ भन्ने मलाई लाग्दैन,’ उनले भने । नेकपा मकवानपुर अध्यक्ष तथा सांसद मुनु सिग्देलले पनि दलले ह्विप नै जारी गरेकाले २७ पुसभित्र राजधानी र नामको टुंगो लाग्ने बताइन् । 


कसको कति मत ?
१ सय १० सदस्यीय प्रदेश सभामा नेकपाका ८० सांसद छन् । जसमा मकवानपुरबाट ६, चितवनबाट १०, काठमाडौंबाट २०, ललितपुरबाट ९, भक्तपुरबाट ४, धादिङबाट ४, नुवाकोटबाट ५, सिन्धुलीबाट ४, सिन्धुपाल्चोकबाट ४, रामेछापबाट २, दोलखाबाट ६, रसुवाबाट १, काभ्रेबाट ५ सांसद छन् । यस्तै, नेपाली कांग्रेसका २२ सांसद छन् भने राप्रपाका २, विवेकशीलका ३, नेमकिपाका २ र स्वतन्त्र १ जना छन् । 

प्राप्त प्रतिकृयाहरू

To Top