देउवाविरुद्ध ४३ जिल्ला सभापति काठमाडौंमा, ‘केन्द्रीय समितिको निर्णय मान्दैनौं’

राजनीति पौष २१ २०७६ ekhabarnepal
Party congress meeting 1876198529


काठमाडौं,पौष २१,२०७६ । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले आफूनिकट जिल्ला सभापतिहरुको भेला बोलाएका छन् । सभापति शेरबहादुर देउवाले बहुमतका आधारमा विभिन्‍न निर्णय गरेपछि असन्तुष्ट वरिष्ठ नेता पौडेलले आफूनिकटका जिल्ला सभापतिहरुको दुई दिने भेला बोलाएका हुन् । 

पार्टी केन्द्रीय कार्यालय सानेपामा सोमबारबाट सुरु भएको भेलामा ४३ जना जिल्ला सभापतिहरु सहभागी छन् । भेला केन्द्रीय कार्यसमितिमा भएको एकलौटी निर्णय र आगामी दिनमा चालिने कदमका बारेमा केन्द्रित छ । ‘जिल्ला सभापति परामर्श बैठक’ नाम दिइएको भेलामा वरिष्ठ नेता पौडेल, महामन्त्री डा. शशांक कोइराला र केन्द्रीय सदस्य प्रकाशमान सिंहले पार्टीमा देखिएको पछिल्लो विवादबारे  ‘ब्रिफिङ’ गरेका छन् । 
भेलाको पहिलो दिन सोमबार १४ जना जिल्ला सभापतिले आ-आफ्नो धारणा राखेका छन् । भेला मंगलबार बिहान साढे ११ बजे फेरि बस्‍नेछ ।

भेलामा सहभागी जिल्ला सभापतिहरुले पुस ११ गते केन्द्रीय कार्यसमिति बैठकबाट बहुमतका आधारमा पारित निर्णयप्रति असहमति जनाउँदै पार्टी नेतृत्वलाई चार बुँदे सुझाव दिएका छन् । 

‘पार्टी नेतृत्व समक्ष जिल्ला सभापतिहरुको ध्यानाकर्षण’ शीर्षक राखेर पत्रकारलाई बाँडिएको वक्तव्यमा भनिएको छ, “नेपाली कांग्रेसको पछिल्लो महासमिति बैठक (मंसिर २९– पुस ९, २०७५) पश्चात बसेका केन्द्रीय कार्यसमितिका केही बैठकहरुले बहुमतका आधारमा लिएका गम्भीर प्रकृतिका केही निर्णय र तिनले पार्टी जीवनभित्र पैदा गरेको संशय, अन्योलता र राजनीतिक जटिलताप्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ ।”

महासमिति बैठकले सर्वसम्मत पास गरेका दुई वटा मूल प्रस्तावलाई बहुमतको गणितबाट उल्टाएर पार्टी परम्परा, संस्कार, लोकतान्त्रिक उच्च मूल्य र आफैंद्वारा पारित विधानको परिधि बाहिर धकेलिएको महसुस भएको ध्यानाकर्षण पत्रमा उल्लेख छ । 

महासमितिले सर्वसम्मत रुपमा पारित गरेको ‘अधिवेशनको क्रममा सबैजना पार्टीको तल्लो तहबाट निर्वाचित भई आउनुपर्ने’ र ‘समानुपातिक-आरक्षण कोटामा एक-व्यक्ति, एक-अवसरको व्यवस्था’ लाई बहुमतका आधारमा उल्ट्याएर सुरु भएको संवैधानिक सर्वोच्चताविरुद्धको आन्तरिक यात्रा पुस ११ गतेको बहुमतको निर्णयबाट पार्टीको परम्परा, संस्कारलाई किनारा लगाइएको उनीहरुको गुनासो छ । 

यी हुन् जिल्ला सभापतिले नेतृत्व समक्ष ध्यानाकर्षण गराइएका बुँदाहरु :

१. पार्टीले लिने प्रत्येक निर्णय विधिसम्मत हुनुपर्दछ । विधानमा प्रष्ट तोकेको व्यवस्थाभन्दा फरक निर्णय लिनु परेमा विधानमा नै व्यवस्था भएको संशोधनको प्रक्रियाबाट मात्र समाधान निकाल्नु पर्दछ ।

२. महाधिवेशनजस्तो पार्टी जीवनको महत्वपूर्ण अवसरलाई हार्दिक महोत्सवको रुपमा ग्रहणयोग्य बनाउन यससँग सम्बन्धित निर्णयहरु व्यापक सहमतिको आधारमा गर्नुपर्दछ । 

३. पार्टी सदस्यता (नेपाली कांग्रेसको सदस्यता र क्रियाशील सदस्यता दुवै) पार्टीका हालै समायोजित संरचनाहरुमार्फत व्यापकस्तरमा वितरण, मुल्यांकन र संकलनको अभियान अविलम्ब आरम्भ गर्नुपर्दछ । 

४. राष्ट्रिय एकता र मेलमिलापको भावनाअनुरुप सहमति, सहकार्य, सहअस्तितव र समझदारीलाई पार्टीभित्रको निर्णय निर्माण र कार्यसम्पादनको मूल आदर्श र मार्ग बनाउनुपर्दछ । 

प्राप्त प्रतिकृयाहरू

To Top