राष्ट्रियसभाको गणित,काँग्रेसको उम्मेदवारी हैसियत र उपस्थितिका लागि 

राजनीति पौष २० २०७६ ekhabarnepal
National assembly

काठमाडौं, पुस २० । 

काँग्रेसका राष्ट्रियसभा उम्मेदवार निर्र्वािचत हुने सम्भावना कम छ र पनि काँग्रेसले आफ्नो राजनीतिक हैसियत र उपस्थितिका लागि उम्मेवारी दिएको छ । राष्ट्रियसभा सदस्यका मतदाता गाउँपालिका अध्यक्ष–उपाध्यक्ष, नगरपालिकाको प्रमुख र उपप्रमुख, प्रदेशसभाका सदस्य हुन् । जसमा काँग्रेसको उपस्थिति कमजोर छ ।

नेपालको संविधानको धारा ८६ (राष्ट्रिय सभाको गठन र सदस्यहरूको पदावधि) मा गोलाप्रथाबाट सदस्यको पदावधि तोकिने व्यवस्था छ । धारा ८६ उपधारा ३ मा एक तिहाइको दुई वर्ष, अर्को एक तिहाइको चार वर्ष र बाँकी एक तिहाइको छ वर्षको हुने गरी पदावधि कायम गरिने उल्लेख छ । सोही अनुसार स्थायी सदनका रुपमा रहेको राष्ट्रियसभाका ५९ जना सदस्यले ०७५ असार ४ गते गोला थुतेका थिए । 

गोलाप्रथा अनुसार दुई वर्षमात्र कार्यकाल हुनेमा १९ जना सदस्य थिए । सोही अनुसार सत्तारुढ नेकपाका ८, काँग्रेसका ७ , राजपाका २ र समाजवादीका १ सदस्यको कार्यकाल फागुन २० गते समाप्त हुँदैछ । जसका लागि निर्वाचन हुन लागेको हो । यस्तै राष्ट्रपतिबाट मनोनित युवराज खतिवडाको पनि फागुन २० मै कार्यकाल सकिँदैछ ।

यसअघि एकल संक्रमणीय तथा बहुमतीय दुवै निर्वाचन प्रणालीबाट मतदान भएको थियो ।

यतिबेला बहुमतीय निर्वाचन प्रणालीका आधारमा उम्मेदवार निर्वा्चित हुनेछन् । साथै प्रदेशगत रूपमा प्रत्येक समूहबाट एक– एक जना मात्रै चुनिने भएकाले बहुमत ल्याउने उम्मेदवारले चुनाव जित्नेछन् । काँग्रेसको कुनै प्रदेशमा पनि बुहमत छैन । काँग्रेसले समाजवादीसँग तालमेल गरिएको प्रदेश २ मा पनि नेकपा–राजपा गठबन्धनको बुहमत छ । 

नेकपा– काँग्रेसको मतान्तर  
प्रदेश १ मा ९३ जना प्रदेश सांसद छन् भने २ सय ७४  स्थानीय तहका प्रमुख र उपप्रमुख छन् । जसमा नेकपाका ६६ जना सांसद र १ सय ७० प्रमुख– उपप्रमुख छन् । काँग्रेसका प्रदेशसभा सदस्य २१ र ९६ जना स्थानीय तहका प्रमुख–उपप्रमुख छन् ।

प्रदेशसभामा समाजवादी ३, राप्रपा १, संघीय लोकतान्त्रिक मञ्च १ र स्वतन्त्र १ छन् । राप्रपा र समाजवादीका ४–४ जना मतदाता छन् । प्रदेश १ मा नेकपा र काँग्रेस बाहेकका उम्मेदवार छैनन् । यद्यपि नेकपाबाहेकका मतदाताले काँग्रेस उम्मेदवारलाई मतदान गरेपनि विजयी हुने सम्भावना छैन । उक्त प्रदेशबाट महिला १, दलित १ र अन्यबाट १ जनाका लागि चुनाव हुँदैछ ।

प्रदेश २ मा नेकपा–राजपा गठबन्धन र काँग्रेस–समाजवादी पार्टीबीचको गठबन्धन चुनावी मैदानमा छ । प्रदेश २ मा पनि नेकपा र राजपाबीचको गठबन्धनसँग बहुमत छ । 

प्रदेशसभाका १ सय ७ सदस्यमध्ये राजपाका २५ र नेकपाका ३२ जोड्दा ५७ मत एक ठाउँमा भएको छ । स्थानीय तहका कुल २ सय ७२ प्रमुख–उपप्रमुख मध्ये नेकपाका ८३ र राजपाका ५४ जोड्दा १ सय ३७ पुग्छ । 
यता काँग्रेसका १९, समाजवादीका ३० प्रदेश सांसद छन् । स्थानीय तहमा काँग्रेसका ८१, समाजवादीका ५२, जनता दलका २ जना प्रमुख–उपप्रमुख छन् । महिला, अल्पसंख्यक, अन्य र दलित समूह गरी ४ जना पदमा निर्वाचन हुन लागेको हो । यहाँ पनि तत्कालको अंकगणितमा नेकपा– राजपाको पल्लाभारी देखिन्छ ।

प्रदेश ३ मा प्रदेशसभाका १ सय १० सिटमा ८० जना नेकपाका छन् । स्थानीय तहका २ सय ३८ मध्ये १ सय ६६ नेकपाका प्रमुख–उपप्रमुख छन् । प्रदेशसभामा काँग्रेसका २२, राप्रपाका १, साझा १, विवेकशील २, समाजवादीका १, नेमकिपाका २, राप्रपा (सयुक्त) का १ जना छन् ।

स्थानीय तहमा काँग्रेसका ६७, राप्रपा २, नेमकिपा २ र समाजवादीको १ जना प्रमुख–उपप्रमुख छन् । प्रदेश ३ मा १ जना महिला र १ जना अन्य समूहका गरी दुई पदका लागि चुनाव हुन लागेको छ । उक्त प्रदेशमा पनि नेकपाको प्रष्ट बहुमत देखिन्छ ।

गण्डकी प्रदेश सभाका ६० सदस्यमध्ये ३९ जना नेकपाका छन् । स्थानीय तहका १ सय ७० मध्ये ८२ जना मतदाता नेकपाका छन् ।

प्रदेशसभामा काँग्रेसका १५, समाजवादीका २, राष्ट्रिय जनमोर्चाका ३ र स्वतन्त्र १ जना छन् । स्थानीय तहमा कँंग्रेस ८१, राप्रपा २, जनमोर्चा ३ र स्वतन्त्र २ जना छन् । 

स्थानीय तहमा काँग्रेस–नेकपाको मत बराबरी देखिए पनि प्रदेशसभा सदस्य र स्थानीय तहको मतभार ३० ले फरक रहेकाले नेकपा सहज बहुमतमा छ । राष्ट्रिय सभामा रिक्त हुने महिला र अन्य समूहबाट १–१ जनाका लागि चुनाव हुँदैछ । 

प्रदेश ५ मा कुल ८७ प्रदेशसभा सदस्यमध्ये नेकपाका ६१ जना छन् । स्थानीय तहका २ सय १८ प्रमुख–उप्रमुखमध्ये नेकपाका १ सय ३१ जना छन् । यता प्रदेशसभामा काँग्रेसका १९, समाजवादीका ५, राजपाका १ र जनमोर्चाका १ जना छन् ।

स्थानीय तहमा काँग्रेसका ६४, समाजवादीका १२, जनमोर्चाका ४, स्वतन्त्र ३, राप्रपाका २, फोरम (लोकतान्त्रिक) का २ जना प्रमुख– उपप्रमुख छन् । प्रदेश ५ मा महिला, अल्पसंख्यक र अन्य समूहबाट १–१ जनाका लागि निर्वाचन हुँदैछ । यता पनि नेकपाको सहज बहुमत देखिन्छ ।

कर्णाली प्रदेश सभाका कुल ४० सदस्यमध्ये ३३ जना नेकपाका छन् । प्रदेशसभामा काँग्रेसका ६ र राप्रपाका १ जना छन् । स्थानीय तहका १ सय ५८ जना प्रमुख–उपप्रमुखमध्ये नेकपाका १ सय १० र काँग्रेसका ४० जना छन् । राप्रपाका २ र स्वतन्त्रका ६ जना छन् । 

यहाँ महिला र अन्य समूहबाट १–१ जनाका लागि चुनाव हुँदैछ । यहाँ नेकपाको भारी बहुमत देखिएको छ ।

सुदूरपश्चिम प्रदेश सभाका ५३ मध्ये ३९ सदस्य नेकपाका छन् । स्थानीय तहका कुल १ सय ७६ प्रमुख–उपप्रमुख कमध्ये १ सय २ जना नेकपाका छन् । प्रदेशसभामा काँग्रेसका १२ र राजपाका २ जना सदस्य छन् ।

स्थानीय तहमा काँग्रेसका ७४ प्रमुख–उपप्रमुख रहेका छन् । यहाँ महिला र अन्य समूहबाट १–१ सिटका लागि हुन लागेको चुनावमा नेकपाले सहजै बहुमत ल्याउने देखिन्छ । 

प्राप्त प्रतिकृयाहरू

To Top