सामुदायिक वनमा हस्तक्षेप नरोकिए देशब्यापी आन्दोलन गर्ने चेतावनी

राजनीति पौष १४ २०७६ ekhabarnepal
81206201 2673494966104404 5939072191269175296 n


बुटवल,पुस १४ । स्थानीय जनताले संरक्षण गरेको सामुदायिक वनमाथि सरकारले तेहरो कर लगाएको विरोधमा सामुदायिक वन उपभोक्ता महासंघले आज सोमबार बुटवलमा प्रदर्शन र सभा सम्पन्न गरेको छ ।

तेहरो कर तुरुन्त फिर्ता गर्न माग गर्दै ५ नं. प्रदेशका सबै जिल्लाका सामुदायिक बनका उपभोक्ता विरोध प्रदर्शन र सभाका गरेका हुन । विरोध सभालाई सम्बोधन गर्दै सामुदायिक वन उपभोक्ता महासंघ संघीय अध्यक्ष भारती पाठकले सामुदायिक वनको अधिकार कटौती गर्न राज्य लागेको आरोप लगाए ।

लोकतन्त्रका लागि लडेको र विश्वकै नमूना कार्यक्रमका रुपमा रहेको सामुदायिक वनको अभियानलाई असफल गराउन राज्य लागेको आरोप लगाए । 
वनको क्षेत्रमा कर्मचारीले मन्त्री र सांसदलाइ रनभुल्ल पारी उपभोक्ताको अधिकार कटौती हुने गरि नियम कानून बनिरहेको उनकाे भनाइ थियाे ।
यस्तै, वन महासंघका उपाध्यक्ष भीमप्रकाश खड्काले आफ्नो अधिकार रक्षाका लागि सामुदायिक वन फेरि एक पटक आन्दोलनमा जानुपर्ने स्थिति आएको बताए । 

वन कर्मचारीले उपभोक्तालाई अलमलमा पार्ने र झुक्याएर वनका नियम बनाएको भन्दै खड्काले वन समूहले वनको विधान र कार्ययोजना अनुसार काम गर्न नपाएको गुनासो गरे ।
 
साे कार्यक्रममा वन महासंघका महासचिव बिर्खबहादुर शाहीले सामुदायिक वन समूहलाई तीनै तहका सरकारले छुट्टाछुट्टै गरी ९० प्रतिशत कर लिनु अवैज्ञानिक भएको भन्दै देशब्यापी आन्दोलनमा उत्रिनुपरेको बताए ।

वन र वातावरण संरक्षणमा सामुदायिक वन समूहले गरेको योगदानका कारण नेपाल विश्वसामु सामुदायिक वनको देशका रूपमा परिचित हुन सफल भएको भन्दै उनले वन महासंघले एकद्वार प्रणालीबाट कर लिन सरकारसँग माग गरे । 
सचिव ठाकुर भण्डारीले सरकार र वन कर्माचारीबाट वनमाथि पटक–पटक आक्रमण गर्ने गरेको निष्कर्षसहित वन महासंघले तीनै तहका सरकारले लगाएको तेहरो करका विरुद्धमा सशक्त आन्दोलनमा उत्रिनुपरेको बताए ।

वन महासंघ ५ नं. प्रदेशका अध्यक्ष बसन्ती अधिकारिको अध्यक्षतामा भएको कार्यक्रममा बक्ताहरुले कानूनी अवरोधले गर्दा उपभोक्ताले संरक्षण गरेको वनबाट दाउरा, जडीबुटी, काठ जस्ता वन पैदावार निकासीमा अप्ठेरो परेकाले उपयोग गर्न नपाएका कारण नष्ट भएर खेर जाने गरेको बताए ।

उनीहरुले उपभोक्ताले संरक्षण गरेको वनमा वैज्ञानिक वन व्यवस्थापन नीति लागू गरेर जथाभावी फडानी गरेको आरोपसहित वन महासंघले उक्त व्यवस्था खारेज गरी दिगो वन व्यवस्था गर्नुपर्नेमा जोड दिएको छ। सभापूर्व एक बिरोध र्‍यालीले बुटवल बजारमा प्रदर्शन गरेको थियो । प्रदर्शनपछि बुटवलको ट्राफिक चोकमा सभा गरिएको थियो । 
सभामा ५ नं. प्रदेशका सबै जिल्लाका सामुदायिक वनका हजारौं उपभोक्ताको सहभागिता रहेको थियो । प्रदेश उपाध्यक्ष तिलक राम भण्डारीको स्वागत मन्तव्यबाट शुरु कार्यक्रममा जिल्ला अध्यक्षहरुले बोलेका थिए ।

प्राप्त प्रतिकृयाहरू

To Top