पश्‍चिमी न्यून चापीय प्रणाली रातिसम्म नेपाल प्रवेश गर्ने, तापक्रम घट्ने   

समाज पौष १५ २०७६ ekhabarnepal
1

 देशैभरि हल्का वर्षाको सम्भावना

काठमाडौं,पौष १४ । हाल जम्मु-काश्‍मीरमा सक्रिय रहेको पश्चिमी न्यून चापीय प्रणाली पूर्व सर्ने क्रममा छ। यो प्रणाली पूर्व सर्दै नेपालको पश्चिमी भेगमा सोमबार अबेर रातिसम्ममा प्रवेश गर्ने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । 

महाशाखाले सोमबार विशेष बुलेटिन जारी गर्दै पश्‍चिमी न्यून चापीय प्रणालीका कारण मंगलबार नेपालका पश्चिमी उच्च पहाडी र हिमाली भू-भागमा हल्का हिमपात हुने सम्भावना जनाएको छ ।
बुलेटिनमा भनिएको छ, "यो प्रणाली बुधबार साँझसम्ममा अझै सशक्त भएर देशका मध्य र पूर्वका उच्च पहाडी र हिमाली भू-भागमासमेत मध्यमदेखि भारी हिमपातको सम्भावना रहेको छ। उक्त प्रणालीका कारण बुधबार र बिहीबार देशैभरि मौसम बदली भई तापक्रममा गिरावट आउँदा चिसो बढ्ने देखिन्छ ।" 

यस प्रणालीका कारण बुधबार र बिहीबार देशका पश्चिमी भू-भागका धेरै स्थानहरूमा र मध्य र पूर्वी भू-भागका केही स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावनासमेत रहेको छ। यो प्रणालीले शुक्रबार समेत वर्षा/हिमपात गराउने सम्भावना रहेको महाशाखाले जनाएको छ ।

उच्च पहाडी र हिमाली भू-भागमा मध्यमदेखि भारी हिमपात हुन सक्ने र पहाडी भेगमा हल्कादेखि मध्यम वर्षा हुने र साथसाथै तापक्रममा गिरावट पनि हुने सम्भावना रहेको हुनाले हिमपात र चिसोबाट बच्‍न सतर्कता अपनाउन सर्वसाधारणलाई महाशाखाले आग्रह गरेको छ । 

प्राप्त प्रतिकृयाहरू

To Top