पर्यटन ब्यवसायका लागि उर्वरभूमि रुपन्देही

समाज पौष १२ २०७६ ekhabarnepal
Panini

बुटवल, पुस १२
पाणिनि कलेज अफ हस्पिटालिटीमा अध्ययनरत विद्यार्थीहरुको होटल भिजिट तथा विभिन्न विधामा उत्कृष्टता प्राप्त गर्ने विद्यार्थीलाई पुरस्कार वितरण गर्ने कार्यक्रम सम्पन्न भएको छ । टाइगर प्यालेश रिसोर्टमा आयोजित कार्यक्रमका अवसरमा डीएचएममा अध्ययनरत विद्यार्थीलाई विभिन्न क्षेत्रको अवलोकन गराइएको थियो ।
सैद्वान्तिक ज्ञानलाई प्रयोगात्मक रुपमा जानकारी दिलाउने उद्वेश्यले आयोजित सो कार्यक्रमको उद्घाटन गर्दै वरिष्ठ पत्रकार डी.आर.घिमिरेले हस्पिटालिटी उद्योग कहिल्यै पुरानो नहुने भएकोले यसको भविष्य सदावहार रुपमा रहिरहन्छ भन्नुभयो । यो पेशामा दक्ष जनशक्ति स्वभावैले अन्तर्राष्ट्रिय हुने भएकोले यसको विशिष्ट महत्व रहने वताउँदै यसका लागि रुपन्देही जिल्ला उर्वरभूमि रहेको विचार प्रकट गर्नुभयो । 
कलेजका अध्यक्ष तथा प्रमुख कार्यकारी अधिकृत गोपाल घिमिरेको अध्यक्षतामा सम्पन्न कार्यक्रममा टाइगर प्यालेस रिसोर्टका महाप्रवन्धक लक्ष्मण थापाले हरेक ब्यक्तिले सवैभन्दा पहिले आफैभित्र रहेको प्रतिभालाई चिन्नुपर्छ भन्दै विदेशमा गएर सिक्ने कुराले धेरै परिपक्क वनाउँछ भन्नुभयो ।  आशालाई विश्वासमा परिणत गर्न सिकेका कुरालाई प्रयोगमा ल्याउनुपर्छ र काममा दक्षता हासिल गर्न सुक्ष्म तरिकाले लाग्नुपर्छ, थापाले भन्नुभयो ।
सो अवसरमा प्रवन्ध सञ्चालक गुरुदत्त पौडेलले स्वागत गर्दै नेपालको आवश्यकता अनुसार मध्यमस्तरको जनशक्ति तयार गर्नेतर्फ कलेजको ध्यान आकर्षित भएको वताउनुभयो ।
कार्यक्रममा विभिन्न विधामा उत्कृष्ट विद्यार्थीहरु नविन श्रेष्ठ, प्रशान्त चौधरी, पंकज गैरे, सुयोग मगर, आकाश उपाध्याय, रविन पौडेल, पवन भण्डारी, लगायतलाई प्रमुख अतिथिले पुरस्कार वितरण गर्नुभएको थियो । 


 

प्राप्त प्रतिकृयाहरू

To Top