गरुडपुराण जलाइदिए हुन्छ

बिचार पौष १० २०७६ ekhabarnepal
1

बुद्दिसागर भट्टराइ
नजाँदा बिग्रिहाल्ने काम पनि कतै नभएको र जाडो पनि बढेकाले अाज दिनभरि घरै बसेर पाल्पाली कवि,मेरा घनिष्ट मित्र श्री नीलकण्ठ न्यौपानेले लेख्नुभएको `श्रम-साधना महाकाव्य ´पढेर सक्ने विचारले पुस्तक खोल्दैथिएँ मोबाइलको घण्टी बज्यो।उठाएँ ।स्वर परिचित लाग्यो,अनुमानसम्म लगाएँ,ठ्याक्कै ठम्याउन नसकेकाले सोधेँ।मेरो अनुमान सत्य सावित भयो,फोन पूर्व परिचित मित्रकै रहेछ ।`अाज घरमैं हुनुहुँदोरहेछ,म तपाईंलाई भेट्न अाउँदै छु´भन्नुभो मित्रले। नअाउनुस् भन्ने कुरो भएन,`अाउनुस् ´भनें।वहाँ फोन गरेको एकघण्टामै अाइपुग्नुभो।अभिवादनको अादान-प्रदान,सन्चोविसन्चोको अौपचारिक पुछताछ पछि पाहुनाको स्वागतमा टकारिने तातो चियासँगसँगै चियागफ पनि।वहाँ अाफन्तीको अवसान भएकाले दिवंगतलाई श्रद्धाञ्जलि र क्रियापुत्रिलाई समवेदना दिएर अाउँदैहुनुहुँदो रहेछ ।केहीबेर दिवंगतका बारेमा कुरा चले।बाँचुन्जेलसम्म मानिस धेर‌ैको अाँखाको कसिङ्गर हुन्छ,कैयौंको अालोचनाको पात्र बन्दछ।अजातशत्रु हाम्रा पूर्वीय ग्रन्थहरूमा सीमित छ व्यवहारमा कतै भेटिन्न,देखिन्न।तर व्यक्तिको मृत्युपश्चात् जीवनकालमा उसले गरेका कमीकमजोरीहरू उसको पार्थिव शरीरसँगै जलेर जान्छन् वा अोझेलमा पर्छन्।उसले गरेका असल कर्महरूमात्र बाँकी रहन्छन्।एकप्रकारले यसलाई राम्रो मान्नुपर्छ ।अाफ्नो जीवनकालमा जस नपाए पनि उसको मृत्युपश्चात् सन्ततिले गर्व गर्नपाउनेभए।
कुराको प्रसङ्ग बदलियो ।मित्रले क्रियापुत्रिलाई सुनाइने गरुडपुराणको प्रसङ्ग उठान गर्नुभो।वहाँलाई गरुडपुराणसँग नकै रिस उठेको रहेछ।अावेशमा अाएर भन्नुभो`अात्मीयजनको वियोगको घडीमा काटेको घाउमा नुनचुक थप्ने यस्तो वाहियात गरुडपुराण जलाइदिए हुन्छ।´
मेरो `श्रम-साधना महाकाव्य ´पढेर सक्ने योजना असफल भएजस्तो भयो ।मैले मित्रसित सोधेँ `जलाउन पर्ने त्यस्तो नराम्रो कुरो के छ र त्यसमा?किन जलाउनुपर्‍यो ?´मेरो प्रश्न पूरा हुन नपाउँदै वहाँले झनै अावेशमा अाएर भन्नुभो `यस्तो अन्धविश्वासपूर्ण, काल्पनिक कुरो सुनाएर मानिसलाई दु:खमा परेका बेलामा घाउमा खुर्सानी दल्ने,विचलित पार्ने यस्तो वाहियात पुराणलाई अागो नलगाएर गाता हालेर राख्ने त ?`भस्मिभूतस्य देहस्य पुनरागमनं कुत ´शरीर खरानी भैसकेपछि कसले दण्ड पाउने?को हो दण्ड दिने?´
मित्रका कुरा सुनेपछि मलाई वहाँ समक्ष गरुडपुराणका सम्बन्धमा केही कुरा राख्न मन लाग्यो।वैदिक सनातन धर्ममा मान्छेको मृत्युपश्चात् क्रियापुत्रिलाई गरुडपुराणको एउटा भाग प्रेतकल्प सुनाउने प्रचलन रहेको छ।यस पुराणमा भक्ति,ज्ञान,वैराग्य,सदाचार,निस्काम कर्मको महिमाका साथै यज्ञ,दान,तप,तीर्थ अादि शुभ कर्ममा सर्वसाधारणलाई प्रवृत्त गर्नका लागि अनेक लौकिक र पारलौकिक फलको वर्णन गरिएको छ।यसका अतिरिक्त यसमा अायुर्वेद,नीतिसार अादि वर्णनका साथै मृतजीवनको अन्तिम समयमा गरिने कृत्यको विस्तारित निरुपण पनि गरिएको छ।अात्मज्ञानको विवेचन पनि यसको मुख्य विषय हो।
यो पुराण अाजभन्दा पाँचहजार वर्ष पहिलेको रचना मानिएको छ ।यद्यपि यसको रचनाकालका सम्बन्धमा मतमतान्तरहरू विद्यमान छन्।तथापि सबै मतहरूको निष्कर्ष के रहेको छ भने जतिबेला यो ग्रन्थको परिकल्पना गरियो ,त्यतिबेला न कुनै राजा थियो,न कुनै राज्य थियो,न कुनैकिसिमको दण्डविधान थियो,न दण्ड दिने शासक थियो,दण्डित हुने पनि कोही थिएन सबै धर्मको अाधारमा अापसमा मिलेर बस्दथे,अा-अाफ्नो रक्षा गर्थे (महाभारत)। यस्तो अवस्थामा हाम्रा मनीषिहरूद्वारा तत्कालीन समाजलाई व्यवस्थित रुपले सञ्चालन गर्न,मानिसहरूलाई अनुशासित बनाएर राख्न र कसैले पनि कुकर्म नगरून्,समाज नखल्बलियोस् , अमनचयन कायम होस् भन्ने उद्देश्य राखेर तत्कालीन मानवचेतनाको लागि रचना गरिएको पुराण हो यो।
हरेक घटना परिघटना,असल-खराब,राम्रो नराम्रो,ठिक -बेठिक सबैलाई सापेक्षताका अाधारमा हेर्नुपर्दछ ।सत्य-असत्य,नैतिक -अनैतिकअादि कुनै पनि निरपेक्ष हुँदैन र सार्वभौम हुँदैन।कुनै पनि घटना परिघटना वा वस्तुको उपादेयता सार्वभौम र निरपेक्ष हुन सक्दैन।
हामी बाँचेको शताब्दीलाई एक्काइसौं र युगलाई विज्ञान,प्रविधि र सञ्चारको युग भनिन्छ।सृष्टिकर्ता विराट पुरुषको मनबाट उत्पत्ति भएको भनिएको चन्द्रमामा मानिसले घरजम गर्ने सुर कस्दै छ।विज्ञान र प्रविधिको उच्चतम विकासले पृथ्वी सानो गाउँमा रुपान्तरण भएको छ।मान्छे नपुगेको र उसले नदेखेको र नकुचेको ठाउँ कतै रहेन ।प्रकृतिका एकएक रहस्यहरू दिनहुँ खुल्दै गइरहेका छन्।विज्ञानले जतिसुकै फड्को मारे पनि हाम्रो समाजका अामा,दिदीबैनी,छोरी बुहारीहरू बोक्सीको अारोपमा गाउँबाट निकालिएका छन् ,विभत्स रुपमा हत्या गरिएका छन् ,जिउँदै जलाइएका छन्।चाहे मरनी देवीलाई मानव मलमूत्र खुवाएर चारपाटा मुडेर गाउँ निकाला गरको घटना होस् चाहे अरु देवीलाई सार्वजनिक ठाउँमा कुटपिट गरको ।यस्ता घटना सर्वत्र देख्न र सुन्न पाइन्छ। भर्खरै देवीलाई खुसी बनाएर अाफ्ना इच्छा पूरा गराउने नाउँमा गढीमाईको मेलामा हजारौं निरपराध पशुहरूको हत्या गरियो ।शक्तिपीठहरूमा दिनहुँ निरीह पशुको हत्या भइरहेको छ।देवीलाई प्रसन्न पारेर अाफ्नो मनकान्छे पूरा हुने विश्वासमा देवीलाई वलि दिन भनी दिल्ली हिंडालिएकी नेपाली चेलीको पुलसले थाहा नपाएको भए अकालमा ज्यान जान्थ्यो ।अाजको चेतना त यस्तो छ भने पाँचहजारवर्षको चेतना कस्तो थियो होला?
गरुडपुराण रचना गर्दा विज्ञान प्रविधिको विकास भएको थिएन ।मानिसहरूसंग तर्क थिएन।उनीहरू अाफ्नो बलबुताबाट बाहिरको कुनै पनि घटनालाई दैवीशक्तिको करामत ठान्दथे र देवत्वकरण गर्दथे ।त्यही चेतनाको लागि हो गरुडपुराण ।हामीले गरुडपुराणलाई त्यसैगरी लिनुपर्छ र बुझ्नुपर्छ।यो साहित्यिक ग्रन्थ पनि हो।यसमा धेरै अतिशयोक्तिहरू छन्,अपत्यारिला अनेकानेक तिलस्मी घटना छन्।धेरै कुराहरू विज्ञानसम्मत छैनन्।तर यसप्रतिको विश्वास भने मेटिएको छैन।
जहाँसम्म दण्डको कुरो छ ,त्यहाँ अपराधीले गरेको अपराधका अाधारमा दण्डव्यवस्था गरिएको छ।निर्दोष व्यक्तिले कतै पनि दण्ड पाएको देखिंदैन(हिजोअाज निरपराध मान्छेले पनि दण्ड पाएका घटना मनग्ये देख्न सुन्न पाइन्छ )अाजको वैश्य युगमा कसैलाई पनि यस्ता ग्रन्थहरू पढ्ने फुर्सद छैन ।क्रिया बस्दा वाध्यताले काममा जान नपाउने हुँदा यो अाचार ग्रन्थ,नैतिक ग्रन्थ सुनाउने परम्परा चलेको हुनुपर्छ।साथै मान्छेले अाफ्नो जीवनकालमा अन्याय,अत्याचार,व्यभिचार,कुकर्म अादि गर्नुहुँदैन भन्ने सन्देश पनि हो गरुडपुराण।
 

प्राप्त प्रतिकृयाहरू

To Top