ठाटिकाँध गाउँपालिकाका अध्यक्ष धीरबहादुर शाही अपहरण मुक्त

राजनीति पौष ७ २०७६ ekhabarnepal
Shahi

काठमाडौँ,पुस ६, २०७६

विप्लव समूहको अपहरणमा परेका दैलेखको ठाटिकाँध गाउँपालिकाका अध्यक्ष धीरबहादुर शाहीको प्रहरीले अपहरण मुक्त गरेको छ ।

शाहीलाई प्रहरीले कालिकोटको शुभकालिका गाउँपालिकाबाट अपहरणमुक्त गरेको जिल्ला प्रहरी कालिकोटका प्रमुख डीएसपी श्याम बलियाले जानकारी दिए । उनका अनुसार अध्यक्ष शाही अहिले कालिकोटबाट खटिएको प्रहरी टोलीको सुरक्षा घेरामा रहेका छन् ।

शाही सकुशल अवस्थामा प्रहरीको सुरक्षामा भएपनि अपहरणमा संलग्न विप्लव नेतृत्वको नेकपाका कार्यकर्ताको खोजी कार्यलाई निरन्तरता दिइरहेको र रात परेकाले केही समस्या परिरहेको उनले बताएका छन् ।

यसअघि विप्लव समूहले अपहरणको जिम्मेवारी लिएको थियो । गाउँपालिकाको रकममा भ्रष्टाचार र विप्लव समूहविरुद्ध सुराकी गरेको आरोपमा उनलाई गिरफ्तार गरिएको बताएको थियो । शनिबार राति शाही र उनकी पत्नी इलालाई सो समूहले अपहरण गरेको थियो ।

शनिबार रातिदेखि अपहरणमा परेका शाहीको खोजीकार्यका लागि दैलेख, सुर्खेत, अछाम र कालिकोटबाट व्यापक प्रहरी परिचालन गरिएको थियो । अपहरणपछि उनको खोजीकार्यका लागि जिल्ला प्रहरी कार्यालय र सशस्त्र प्रहरी बेस क्याम्प दैलेखको सुरक्षाकर्मीको संयुक्त टोली खोजीकार्यमा खटिएका थिए ।

अपहरणको खबर पाएलगत्तै इलाका प्रहरी कार्यालयको टोली राति नै खटिए पनि भेट्टाउन नसकेपछि जिल्ला प्रहरी प्रमुख डीएसपी हरिबहादुर ओली र सशस्त्र प्रहरीका डीएसपी जीवन भट्टराईको नेतृत्वमा सुरक्षाकर्मीको टोली ठाटिकाँध गाउँपालिका क्षेत्रमा पुगेको थियो ।

अध्यक्ष शाहीको खोजीकार्यका लागि सुरक्षाकर्मीको जनशक्ति कम भएपछि सुर्खेत र नेपालगञ्जबाट ५० जना नेपाल प्रहरीको टोली दैलेख आइपुगेको थियो ।

शिरपाटा भन्ने ठाउँमा रहेको आफ्नै घरमा बसिरहेको अवस्थामा शनिबार राति करीब १२ बजे १५–१६ जनाको समूहमा रहेको हतियारधारी समूहले अध्यक्ष शाही र उनकी श्रीमती इला शाहीलाई अपहरण गरेका थिए ।

अध्यक्षसँगै अपहरणमा परेकी उनकी श्रीमती इला शाहीलाई आइतबार बिहान सो गाउँपालिकाको गुइँचाखर्क जंगलबाट मुक्त गरिएको र राजनीतिक मुद्दाका बारेमा छलफल गर्नुपर्ने भएकाले अध्यक्ष शाहीलाई केही दिन छोड्न नमिल्ने भनेपछि केही दिनभित्र मुक्त गर्ने आश्वासन दिदै भाउजू इलालाई जिम्मा लगाएपछि फर्किएका थिए । उनी दाइ भाउजूलाई खोज्न बिहानै गुइँचाखर्क जंगल पुगेका थिए ।

प्राप्त प्रतिकृयाहरू

To Top