पार्टी विधिसम्मत ढंगले चल्न नसक्दा सरकारले काम गर्न नसकेको जिकिर

राजनीति पौष २ २०७६ ekhabarnepal
Ncp standing meeting 1

काठमाडाैं पुस १
नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का सदस्यहरूले सरकारले पार्टी पंक्ति र जनपरिचालनका काम गर्न नसक्दा सरकारका काम कारवाही प्रभावकारी हुन नसकेको भन्दै सरकारमाथिको आलोचना तीव्र बनाएका छन् । 

अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' र केपी शर्मा ओलीको राजनीतिक प्रतिवेदन र महासचिव विष्णु पौडेलको विधान संशोधन प्रस्तावमाथि भएको दोस्रो दिनको छलफलमा बोल्ने नेताहरूले पार्टी विधिसम्मत ढंगले चल्न नसक्दा सरकारले काम गर्न नसकेको बताएका हुन् ।

पार्टी केन्द्रीय कार्यालय धुम्बराहीमा मंगलवार बसेको बैठकमा  कृषि तथा पशुपंक्षी मन्त्री घनश्याम भुसालले पार्टीलाई ब्यवस्थित रुपमा चलाउन नसक्दा सरकारले गरेको असाधारण उपलब्धी पनि छाँयामा परेको बताउनु भएको छ । अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल, प्रचण्डको तर्फबाट प्रस्तुत राजनीतिक प्रतिवेदन र महासचिव बिष्णु पौडेलले प्रस्तुत गर्नुभएको बिधान संशोधन प्रस्तावमाथिको छलफलमा भाग लिँदै नेता भुसालले यस्तो तथ्य औल्याउनु भएको हो ।

‘संघीय लोकतान्त्रिक गणतन्त्रको संविधानको आवश्यकता अनुरुप कैयन कानूनहरु बनाइएका छन । विदेश सम्बन्धमा हामीले÷हाम्रो सरकारले जुन बाटो तय गरेको छ, त्यो ऐतिहासिक महत्वको छ । आगामी दिनमा त्यसको महत्ता अझै स्पष्ट हुँदै जानेछ । संक्षेपमा, हामीले गणतन्त्रलाई संस्थागत गरेका छौं, राजनीतिक स्थीरता कायम गरेका छौं र लामो समयपछि वैदेशिक मामिलामा मुलुक ठिक ठाउँमा उभिन शुरु गरेको छ,’ भुसालले आफ्नो लिखित धारणा राख्दै भन्नुभएको छ ।
उहाँले पार्टीमा विचारमा एकरूपताका लागि ६/७ दिनको गोष्ठी नै राखेर बहस गर्नुपर्ने वताउनु भएको थियो । 

स्थायी कमिटी सदस्य जनार्दन शर्मा र बेदुराम भुसालले सरकारका काम कारवाहीको आलोचना गर्नुभयो । शर्माले पार्टी परिचालनको काम नगरेसम्म सरकारको काम प्रभावकारी बन्न नसक्ने वताउनुभयो । 

'जनार्दन शर्माले सरकारले जनताको पक्षमा गर्न सक्ने कामहरूको सूची नै तयार पारेर ल्याउनुभएको थियो,' एक नेताले भने, 'सरकारको काम बिल्कुलै प्रभावकारी नभएको भन्दै उहाँले सरकारको आलोचना गर्नुभयो ।'

नयाँ कार्यनीति, नयाँ कार्यशैली, कार्यकर्ता प्रशिक्षण र जनपरिचालनको काम नगरी ब्यूरोक्रेसीले मात्र जनअपेक्षा पूरा गर्न नसक्ने भन्दै शर्मा कडा रूपमा प्रस्तुत हुनुभयो । ।

उहाँले सरकारको कामकारवाहीबाट मतदाता असन्तुष्ट रहेको भन्दै आक्रोश  पोख्नुभयो ।

बैठकमा वेदुराम भुसालले पार्टी विधिसम्मत ढंगले चल्न नसक्दा सरकारले प्रभावकारी काम गर्न नसकेको धारणा राख्नुभयो ।

‘पार्टी विधिसम्मत ढंगले नचल्दासम्म सरकारले जति ठूला घोषणा गरेपनि जनताको पक्षमा काम गर्न सक्दैन,’ बैठकमा भुसालले भन्नुभयो । 

स्थायी कमिटी सदस्य सुरेन्द्र पाण्डेले पार्टीको विधानमा समाजवादउन्मुख भनेपनि सरकार र पार्टीले समाजवादउन्मुख दिशा समात्न नसकेको वताउनुभयो । 

प्रदेश नम्बर ५ का मुख्यमन्त्री समेत रहेका शंकर पोखरेलले सामन्तवादका अवशेषलाई समाप्त गर्दै समाजवादको बाटोमा लाग्नु पर्ने वताउनुभयो ।

नेता रघुवीर महासेठले भने सरकारको कामको बचाउ गर्नुभयो । 

बैठकमा बोल्ने अर्का स्थायी कमिटी सदस्य मणि थापाले पार्टीभित्र अझै पनि दुईवटा विचारधारा जीवित रहेको भन्दै वैचारिक हिसाबले एउटै विचारको निर्माण तत्काल गर्नुपर्ने धारणा राख्नुभयो ।
अध्यक्ष प्रचण्डले तयार गरेको राजनीतिक प्रतिवेदनमाथि टिप्पणी गर्दै थापाले नेपाल अन्तर्राष्ट्रिय शक्ति केन्द्रको केन्द्र बन्दै गइरहेको अवस्थामा नेपालले आफ्नो पोजिसन स्पष्ट गर्नुपर्ने धारणा राखेका थिए । 
प्रवक्ता नारायणकाजी श्रेष्ठको यस्तो छ बिज्ञप्ती

आइतवारदेखि शुरू भएको बैठकमा सोमवार १२ जना स्थायी कमिटी सदस्यले धारणा राखेका थिए । मंगलवार १३ जना सदस्यले धारणा राख्नुभएको थियो । 

स्थायी कमिटी सदस्यले बोल्ने क्रम बुधवारपनि जारी रहने प्रवक्ता नारायणकाजी श्रेष्ठले वताउनुभयो ।


प्रवक्ता श्रेष्ठको  यस्तो छ बिज्ञप्ती

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) स्थायी कमिटीको चौथो बैठक तेस्रो दिन आज मिति २०७६ पुस १ गते पार्टी अध्यक्ष कमरेड पुष्पकमल दाहाल ‘प्रचण्ड’ को अध्यक्षतामा केन्द्रीय कार्यालय, धुम्बाराहीमा बस्यो ।

बैठकमा पार्टी अध्यक्ष कमरेड केपी शर्मा ओली र अध्यक्ष कमरेड पुष्पकमल दाहाल ‘प्रचण्ड’द्वारा प्रस्तुत राजनीतिक प्रतिवेदन तथा महासचिव विष्णुप्रसाद पौडेलद्वारा प्रस्तुत विधान संशोधन प्रस्तावहरु माथि आज स्थायी कमिटीका सदस्यहरुले प्रतिवेदन र संशोधन प्रस्ताव मूलतः सही रहेको धारणा राख्दै थप परिमार्जन र सुधारका लागि सुझाव र आलोचनात्मक टिप्पणी गर्नेक्रम जारी रह्यो । यसक्रममा आज १३ जना सदस्यहरु तथा आमन्त्रित सदस्यहरुले सुझाव र धारणाहरु राख्नुभएको छ, जसमा कमरेडहरु नन्दकुमार प्रसाईं, सुरेन्द्रप्रसाद पाण्डे, अमृतकुमार बोहरा, बेदुराम भुसाल, शंकर पोखरेल, रघुवीर महासेठ, केशव बडाल, विष्णुपुकार श्रेष्ठ, लेखराज भट्ट, घनश्याम भुसाल, शक्ति बस्नेत, मणि थापा र जनार्दन शर्मा रहनुभएको छ ।
 राजनीतिक प्रतिवेदनमा प्रस्तुत भएबमोजिम पार्टी एकतालाई अझ सुदृढीकरण गर्नुपर्ने, पार्टीको कार्ययोजना ठोस र व्यवस्थित हुनुपर्ने, सरकारको काम अझ प्रभावकारी हुनुपर्ने जस्ता सुझावहरुमा आजका वक्ताहरु केन्द्रित रहनुभयो ।

स्थायी समितिको अर्को बैठक भोलि पुस २ गते बिहान ११ बजे धुम्बाराही, काठमाडौंमा बस्नेछ ।

 

प्राप्त प्रतिकृयाहरू

To Top