कृषि भूमिको चक्लाबन्दी नगरे उत्पादन बढ्दैन-बामदेव गौतम  

राजनीति पौष १ २०७६ ekhabarnepal
1

काठमाडौं,पौष १। नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का नेता बामदेव गौतमले कृषि भूमिको चक्लाबन्दी नगरे कृषि उत्पादन बढ्न नसक्ने टिप्पणी गरेका छन्। 

अखिल नेपाल किसान महासंघले आयोजना गरेको कृषि विकास, खाद्य संप्रभुता र जलवायु न्याय सम्बन्धी बहुपक्षीय अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै गौतमले कृषिको उत्पादन बढाउन चक्लाबन्दी अवश्यक रहेको बताएका हुन्।

सरकारले किसानलाई चलनचल्तिको मूल्य तिरेर भूमिको चक्लाबन्दी गर्नुपर्ने गाैतमले बताएका छन्। उनले चक्लाबन्दी नगरे कृषिमा अन्य मुलुकहरूसँग प्रतिस्पर्धा गर्न नसकिने समेत बताए।

गौतमले कृषिमा यान्त्रीकरण, व्यवसायीकरण तथा डिजिटल उत्पादन नगरे कृषि उत्पादन बढ्न नसक्ने र त्यसका लागि कृषि भूमिको चक्लाबन्दी आवश्यक रहेको धारणा राखे। 

उनले खाद्य सम्प्रभुतालाई संविधानमा उल्लेख गरिएको भएपनि त्यसको कार्यान्वयनमा कानून निर्माण गरी अगाडी बढ्नुपर्ने बताए। 

जलवायु परिवर्तनले कृषि क्षेत्रमा पारेको असरलाई न्यूनिकरण गर्न वन क्षेत्रको संरक्षण आवश्यक रहेको गौतमको भनाइ छ। जलवायु परिवर्तनको समस्या समाधानका लागि औद्योगिक क्षेत्रमा उर्जाको प्रयोग गर्नुपर्ने र सरकारले त्यसका लागि आवश्यक व्यवस्था गरिरहेको उनले उल्लेख गरे।

जलवायु परिवर्तनका लागि असर पार्ने खालका गतिविधि गर्ने मुलुकहरूसँग क्षतिपूर्ति माग्नुपर्ने र क्षतिपूर्ति लिंदै गर्दा औद्योगिकरणमा जाँदैनौं भन्न नहुने समेत गौतमको भनाइ छ।

प्राप्त प्रतिकृयाहरू

To Top