लुम्बिनीको बिकास सबैको साझा एजेन्डा : रक्षा मन्त्री पोखरेल

राजनीति मंसिर २७ २०७६ ekhabarnepal
1

लुम्बिनीमा प्रज्ञा स्तुपा निर्माण

बुटवल, मंसिर २६ / उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले लुम्बिनीको बिकासका नाममा ब्युरोक्रेटिक ढंगले सेटिङ गरेर चलाउन खोज्नेलाई भत्काउनु पर्ने बताउनुभएको छ ।
लुम्बिनी बौद्ध विश्वविद्यालय परिसरमा निर्माण गरिएको प्रज्ञास्तुपको उद्घाटन गर्दै रक्षामन्त्री पोखरेलले लुम्बिनी विकासकोषको पदाधिकारीमा नियुक्ति पाउनका लागि लुछाचुंडी गर्ने तर नियुक्ति पछि वेवास्ता गर्ने गर्दा लुम्बिनीको विकास हुन नसकेको भन्दै अब भने त्यस्तो हुन नसक्ने बताउनुभयो ।
रक्षामन्त्री पोखरेलले लुम्बिनीको बिकास सबैको साझा एजेन्डा बन्नुपर्ने भन्दै बिगतको कमिकमजोरी देखाएर बस्ने मात्रै होईन आगामी दिन कस्तो बनाउने र कसरी अगाडी बढ्ने भन्ने विषयमा छलफल हुनुपर्ने बताउनुभयो ।
उहांले संरचना बन्नु मात्र ठुलो कुरा नहुने भएकोले संस्कृति, परम्परा, ज्ञान र विज्ञानका कुरालाई जनताको आवश्यकतासंग जोड्नुपर्ने बताउनुभयो । उहांले स्थानीय र प्रदेश सरकारको तहबाट हुन सक्ने कामका लागि पनि केन्द्रसंग मुख ताकेर बस्ने प्रवृत्ति रोक्नुपर्ने बताउनुभयो ।
बौद्ध विश्वाविद्यालयका रजिष्ट्रार डा.तिलकराम आचार्यले बुद्ध दर्शनका बिद्यार्थीलाई प्रज्ञाबारे जानकारी दिन आवश्यक रहेकोले प्रज्ञा स्तुपा निर्माण गरिएको जानकारी दिनुभयो । म्यानमारबाट ७ करोडको लागत बुद्धको अस्तुधातु ल्याई प्रज्ञा स्तुपा निर्माण गरिएको उहांले बताउनुभयो ।
विश्वविद्यालयको लागि लुम्बिनीमा लुम्बिनी बिकास कोषले ४ बिगाह र नेपाल सरकारले ५ बिगाह जग्गा उपलब्ध गराएको छ । त्यस्तै देवदहमा १ सय बिगाह जग्गा लिने प्रकृृया अगाडि बढेको आचार्यले जानकारी दिनुभयो ।

शिक्षा, बिज्ञान तथा प्रबिधि मन्त्री गिरिराजमणि पोखरेलले स्थापना गरिएको प्रज्ञा स्तुपा र त्यहाँ राखिएको अस्तु धातुले लुम्बिनीको ओज बढाएको बताउनुभयो । बुद्धको दृष्टिकोण ठिक ढंगले बुझाउन सकिएको नसकिएको भन्दै उहांले लुम्बिनी बौद्ध बिश्वबिद्धालयले त्यो दायित्व पुरा गर्नुपर्ने बताउनुभयो ।

कार्यक्रममा प्रदेश ५ का उद्योग पर्यटन वन तथा वातावरण मन्त्री लिला गिरीले लुम्बिनी बौद्ध विश्वविद्यालय र लुम्बिनीको विकासको लागि प्रदेश सरकार सहयात्री र सहयोगी बन्ने बताउनुभयो ।

राष्ट्रिय सभामा नेकपाका सचेतक खिमलाल भट्टराईले स्थानीयको खुसी विना लुम्बिनीको बिकास हुन नसक्ने भन्दै लुम्बिनीको पर्खाल बाहिर पनि लुम्बिनी छ भन्ने आभास दिलाउनुपर्ने बताउनुभयो ।
प्रदेशसभा सदस्य फकुरुद्दिन खानले लुम्बिनी आफैमा शान्तिको केन्द्र भएपनि प्रज्ञा स्तुपाको निर्माणले लुम्बिनीको सौन्दर्य बढाएको बताउनुभयो ।

लुम्विनी बिकास कोषका उपाध्यक्ष भिक्षु मैत्तेयले लुम्बिनी पर्यटनको केन्द्र मात्रै नबनोस् र बौद्व दर्शनको अध्ययन अध्यापनको केन्द्र बनोस भन्ने उद्देश्यले लुम्बिनीमा बिश्वबिद्यालय स्थापना गरिएको बताउनुभयो ।

कार्यक्रममा म्यानमारकि प्रोफेसर स टट स्यान्डरले लुम्बिनी बिश्वबिद्यालयको बिकासका लागि ९० हजार डलर हस्तान्तरण गर्नुभएको थियो ।

प्राप्त प्रतिकृयाहरू

To Top