दक्षिण एसियालाई एकजुट बनाउँदै साग, आज उद्घाटन

खेल मंसिर १५ २०७६ ekhabarnepal
Rangasala 1


काठमाडौँ, मङ्सिर १५ गते । खेलकुद विश्वलाई एकजुट पार्ने सबभन्दा सजिलो माध्यम हो भनिन्छ । त्यसैले त ब्यारोन पियरे डी कुबर्टिनले विश्वलाई एकै थलोमा अनुभव गर्ने सपना आधुनिक ओलम्पिकमार्फत साकार गर्नुभयो; जुन खेलकुद निकै प्रभावकारी बन्यो र त्यसपछि क्षेत्रीय खेलकुदहरू हुन थाले । दक्षिणपूर्वी एसिया र पश्चिम एसियाका आआफ्नै क्षेत्रीय खेलकुद प्रतियोगिता छन् । यही स्वरूपमा दक्षिण एसियाका सात राष्ट्रबीच दक्षिण एसियाली खेलकुद प्रतियोगिता हुने गर्छ ।
दक्षिण एसियाका सात राष्ट्रको खेलकुद जमघट रहने सोही दक्षिण एसियाली खेलकुद (साग)को १३औँ संस्करण नेपालको काठमाडौँ, पोखरा र जनकपुरमा आइतबार सुरु हुँदै छ । यस खेलकुद मेला सुरु भएको खुसी साट्न आइतबार साँझ तीन घण्टा १४ मिनेटको उद्घाटन समारोह हुँदै छ । राष्ट्रपति विद्यादेवी भण्डारीले सम्बोधन गर्दै १३औँ साग सुरु भएको घोषणा गर्नुहुने छ ।
दक्षिण एसियाली महाद्वीपका राष्ट्रहरूको दृष्टिमा रहने यो खेलकुद मेलालाई राष्ट्रको सम्पन्नता, वैभव र समृद्धि देखाउने अवसरका रूपमा पनि लिइन्छ । त्यसैले उद्घाटन समारोह भव्य गर्ने तयारी भइरहेको छ । उद्घाटन समारोहमा १५ हजार कलाकारले विभिन्न प्रस्तुति दिने बताइएको छ । एसियाली खेलकुद नेपालमा तेस्रो पटक आयोजना हुँदै छ । साग खेलकुदमा नेपालको सबभन्दा ठूलो उपलब्धि काठमाडौँमा सन् १९९९ मा सम्पन्न आठौँ साफ हो । सो संस्करणमा नेपालले स्वर्ण पदक मात्र ३१ वटा हासिल गरेको थियो । नेपालले सो समय पदक तालिकामा भारतपछाडि दोस्रो स्थानमा आफूलाई उभ्याएको थियो । पहिलो संस्करणमा नेपालले चार स्वर्ण पदक जितेको थियो ।
सागमा भारतले सबै संस्करणमा अङ्क तालिकामा शीर्ष स्थान बनाउँदै आएको छ । यस पटक पनि भारतले नै अङ्क तालिकामा दबदबा बनाउने अनुमान गरिएको छ । भारत दक्षिण एसियाली क्षेत्रमा खेलकुदमा महाशक्ति राष्ट्र हो । हुन त यसपालि भारतले दक्षिण एसियाली खेलकुदमा त्यति चासो देखाएको छैन । कराँते, फुटबल र क्रिकेटजस्ता खेलमै भारतको सहभागिता छैन । तर यस पटक पनि उसलाई अन्य राष्ट्रले चुनौती दिने अपेक्षा गरिएको छैन । घरेलु टिम नेपाललाई अङ्क तालिकाको दोस्रो स्थानमा रहने आशा गरिएको छ; जुन सही पनि छ । घरेलु भूमि र दर्शकको ऊर्जाबीच यो लक्ष्य असम्भव छैन ।
यद्यपि नेपालका लागि यो लक्ष्य सहज हुने छैन । पाकिस्तान र श्रीलङ्काले नेपाललाई यो स्थानमा पुग्न नदिन हरसम्भव प्रयास गर्ने छन् । अझ नेपालले घरेलु मैदानमा भएको आठौँ साफपछि दोस्रो स्थान हासिल गर्न सकेको छैन । तर अङ्क तालिकामा दोस्रो स्थानको आशामा नेपालले सागमा सबभन्दा बढी ५९६ खेलाडीलाई समावेश गरेको छ । नेपालपछि सबभन्दा ठूलो टिम श्रीलङ्का (५६४) रहेको छ । यसैगरी भारतले ४८७, बङ्गलादेशले ४७०, पाकिस्तानले २६६ र माल्दिभ्सले २१६ जना खेलाडी नेपाल पठाएका छन् । खेलाडीको सबभन्दा सानो टोली भुटान (११६) को छ । सागमा खेलाडी, रेफ्री र अफिसियल तथा अन्य प्रतिनिधि गरी पाँच हजारको सहभागिता रहने छ ।
नेपालले समावेश सबै २८ (बिच भलिबल र थ्री बाई थ्री बास्केटबलसहित) खेलमा प्रतिस्पर्धा गर्ने छन् । राष्ट्रिय टिम तयार समितिका सचिव महेन्द्र राईले ३२४ स्वर्ण, ३२४ रजत र ४८७ कांस्य पदक गरी ११३५ पदकका लागि प्रतिस्पर्धा हुने बताउनुभयो । सन् २०१६ मा भारतको गुवाहाटी–सिलोङबाट आयोजनाको झण्डा बोकेको नेपाल तीन पटक मिति सारेपछि प्रतियोगिता गर्न तयार भएको हो । यस प्रतियोगिताका लागि नेपालले करिब साढे चार अर्ब रुपियाँ खर्च गरेको छ ।
ठूला खेलकुद मेलालाई सफल र आकर्षक बनाउन लोगो र मस्कटले पनि ठूलो भूमिका खेल्ने गर्छ । १३औँ सागमा कृष्णसारलाई मस्कटका रूपमा प्रयोग गरिएको छ । यसैगरी लोगोमा राखिएको परेवाको आकृति एवं त्यसमा प्रयुक्त रङले शान्ति दर्शाउँछ । साथै त्यसको पृष्ठभूमिका रहेको सोही रङको रेखाले स्वच्छन्द रूपमा उँभोतर्फ उडिरहेको परेवाको पखेटा र हाम्रो देशको प्रतिनिधित्व गराउने हिमालको अर्थ दिन्छ । देब्रेतर्फ राखिएको प्वाँखाकृतिले परेवारूपी आकृतिलाई माथि उड्न गति प्रदान गरेको छ । प्वाँखरूपी सात आकृतिले सात सदस्यराष्ट्रको प्रतिनिधित्व गरेका छन् । सात प्वाँखले रङ्गशालाको ट्र्याकलाई समेत दर्शाउने र त्यसको प्रयुक्त रङले सम्बन्धित राष्ट्रको झन्डाको समेत प्रतिनिधित्व गर्ने बताइएको छ । यसैगरी लोगोमा राखिएका अक्षर र अङ्कले सागको १३औँ संस्करण, सागको पूर्व नाम, वर्ष र स्थान जनाएका छन् ।
साग खेलकुदको सुरक्षा व्यवस्थापनका लागि करिब २२ हजार सुरक्षाकर्मी परिचालन गरिएको छ । नेपाल प्रहरी १४ हजार, सशस्त्र प्रहरी छ हजार, विशेष प्रहरी करिब दुई हजार र सेना गरी यतिको सङ्ख्यामा सुरक्षाकर्मी परिचालन गरिएका छन् । पोखरा र जनकपुरमा स्थानीय सुरक्षा निकायबाट थप सुरक्षाकर्मी परिचालन हुने छन् । राष्ट्रिय खेलकुद परिषद्ले हजारौँको सङ्ख्यामा स्वयंसेवक खटाएको छ ।

गोरखापत्र 

प्राप्त प्रतिकृयाहरू

To Top