नेकपाका आयोगलाई पूर्णता, प्रवास संगठन नबनाउने 

राजनीति कार्तिक २५ २०७६ ekhabarnepal
12


काठमाडौं,कात्तिक २५ 
 सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सचिवालय बैठकले पार्टीका आयोगको नेतृत्वलाई पूर्णता दिएको छ ।

बैठकपछि प्रवक्ता नारायणकाजी श्रेष्ठले पार्टीको सांगठनिक एकीकरणका सन्दर्भमा बाँकी रहेका कामहरूमध्ये सोमवारको बैठकले आयोगको नेतृत्व टुंगो लगाएको जानकारी दिए । 

अनुशासन आयोगकको अध्यक्षमा अमृत बोहोरा र सचिवमा अशोक रोकायालाई चुनिएको छ भने केन्द्रीय निर्वाचन आयोगमा विष्णुपुकार श्रेष्ठ र माधव पौडेल रहने छन् । 

प्रवक्ता श्रेष्ठले लेखापरीक्षण आयोगको अध्यक्षमा पुष्प कँडेल र सचिवमा टेकनाथ आचार्यको नाम टुंगो लगाएको बताए । केन्द्रीय सल्लाहकार आयोगमा क्रमशः केशव बडाल र नन्दकुमार थापा रहनेछन् भने ज्येष्ठ नागरिक मञ्चमा नन्दकुमार प्रसाईं र गोविन्द ज्ञवाली रहनेछन् । 

प्रवक्ता श्रेष्ठले प्रवास संगठन बनाउने पार्टीको नीति नरहेको बताए तर प्रवासमा रहेका नेता तथा कार्यकर्तालाई पार्टीसँग कसरी जोड्न सकिन्छ भन्ने विषयमा पार्टीभित्र छलफल चलिरहेको उनको दाबी छ ।

प्रवक्ता श्रेष्ठले मन्त्रिमण्डल हेरफेरबारे सचिवालय बैठकमा कुनै छलफल नभएको बताए । ‘प्रधानमन्त्रीले पार्टीमा प्रस्ताव ल्याउनुभएको छैन,’ उनले भने, ‘ल्याएपछि त्यहीअनुसार छलफल हुन्छ ।’

सीमा विवादलाई नेकपाले गम्भीरतापूर्वक लिएको भन्दै प्रवक्ता श्रेष्ठले सरकारले आफ्नो अडान प्रष्ट पारिसकेको बताए । ‘सरकारले भारतसँग वार्ताका निम्ति प्रस्ताव तयार पार्ने काम गरिरहेको छ,’ श्रेष्ठले भने, ‘यस विषयमा हाम्रो छलफल भएको छ । प्रधानमन्त्रीले पार्टीलाई पनि जानकारी गराइसक्नुभएको छ । त्यही अनुसार अघि बढिन्छ ।’

प्राप्त प्रतिकृयाहरू

To Top