सिचाई र खानेपानीको पूर्वाधार सरकारको प्राथमिकतामा–मुख्यमन्त्री पोख्रेल

समाज कार्तिक २३ २०७६ ekhabarnepal
Shankar 1

राप्ती नदी जलाधार गुरुयोजना निर्माण :
दाङ, कार्तिक २२ । सरकारले राप्ती नदी जलाधारको गुरुयोजना निर्माण गरेको छ । रोल्पा, प्युठान, दाङ, कपिलवस्तु, बाँकेलगायतका विभिन्न स्थानलाई प्रत्यक्ष फाइदा पुग्ने गरी आयोजनाहरु समेटिएको गुरुयोजना निर्माण भएको जल तथा उर्जा आयोगले बताएको छ ।

त्यस आयोजनामा जलविद्युत उत्पादन, सिंचाईका लागि हाइड्याम निर्माणका योजनाहरु समेटिएको छ । राप्ती जलाधार गुरुयोजनाको बारेमा आयोगले घोराहीमा एक कार्यक्रमको आयोजना गरेर सार्वजनिक गर्दै छलफल गरेको छ । योजनाहरुको बारेमा बताउँदै मन्त्रालयका पूर्वसचिव तथा जलविज्ञ शीतलबाबु रेग्मीले पश्चिम राप्तीबाट प्रशस्त सम्भावनाहरु रहेकाले यसको बहुउपयोग गर्न सकिने बताउनुभयो ।

लामो समय लगाएर बनाइएको गुरुयोजनाअन्तर्गत राप्ती नदीअन्तर्गत घोडागाउँमा ड्याम निर्माण गरेर दाङमा पानी भिœयाउन सकिने, नौमुरे जलविद्युत आयोजना सञ्चालन गरेर विद्युत उत्पादन गर्न सकिने, भालुवाङमा ड्याम निर्माण गरेर कपिलबस्तुमा सिंचाई पु¥याउनेलगायतका सिक्टा, प्रगन्ना र बड्कापथ सिंचाई आयोजनाबाट हजारौँ विगाह जमिनमा सिंचाईको सुविधा पु¥याउन सकिने जानकारी दिनुभयो ।

घोडागाउँमा बाँध निर्माण गरेर सुरुङमार्फत् दाङ उपत्यकामा पानी ल्याउन सकिने विज्ञ रेग्मीले बताउनुभयो । त्यो पानी दाङमा सिंचाई र पिउनका लागि प्रयोग गर्न सकिने छ । यस्तै लामो समयदेखि चर्चामा रहेको नौमुरे जलविद्युत आयोजना पनि प्रमुख सम्भावनाको विषय रहेको उहाँको भनाई छ । १ सय ८७ मिटर अग्लो बाँध निर्माण गरेर २ सय ४५ मेघावाट विद्युत उत्पादन गर्न सकिने तर त्यसलाई बिहान बेलुका प्रयोग गर्न सकिने अवस्था रहेको उहाँले जानकारी दिनुभयो ।

यस्तै दाङको भालुवाङ नजिकै ६० मिटर अग्लो बाँध बाधेर पोखरी बनाउने त्यहाँबाट कपिलबस्तु क्षेत्रमा पानी पु¥याउन सकिने गुरुयोजनामा उल्लेख छ । ३ सय ४० किलोमिटर कुल लम्बाई रहेको राप्ती नदी जति दक्षिण आयो त्यति नै ओरालो कम भएकाले माथि जलविद्युत र दक्षिणतर्फ सिंचाईका लागि बाँध निर्माण गर्न सकिने उल्लेख छ । अध्ययनका अनुसार राप्ती नदीमा मात्रै ११ स्थानमा जलविद्युतको लागि सम्भावित स्थानहरु रहेका छन्, भने प्रगन्ना, सिक्टा, वड्कापथलगायतका आयोजनाहरु पनि सञ्चालन गर्न सकिने बताइएको छ ।

बीच पहाडबाट बग्ने नदीहरुमध्ये सबैभन्दा ठूलो राप्तीबाट मात्रै वार्षिक साडे ४ अर्व घनमिटर पानी भारतमा जाने गरेको तथ्यांकले देखाउँछ । तर, घोडागाउँ बाँध निर्माण, नौमुरे जलविद्युत आयोजना र भालुबाङ बाँध बाधेर प्रयोग गर्दा नदीमा पानीको बहाव घट्दै जाने र भारतमा पानी कम हुने गुरुयोजनामा उल्लेख छ । जसका कारण राप्ती नदीमा पानीको उपभोगका लागि आयोजनाहरु सञ्चालन गर्दा ठूलो राजनीतिक दवाव आउने मन्त्रालयका सचिव माधव बेल्बासेले बताउनुभयो ।

आयोजना सञ्चालन गर्दा पनि ५५ प्रतिशत पानी भारतमा जाने र नेपालमा ४५ प्रतिशत मात्र पानीको उपभोग हुने तथ्यांकले बताएको छ । तर, भारतले अहिले पाईरहेको पानीमा कमी हुँदा ती आयोजनाहरु सञ्चालन गर्नका लागि दवाव दिन सक्ने भएकाले कुटनीतिमार्फत् काम गर्नुपर्ने बेल्बासेले बताउनुभयो

उक्त कार्यक्रममा बोल्दै उर्जामन्त्री वर्षमान पुनले सरकारले उर्जालाई प्राथमिकतामा राखेको बताउनुभयो । उर्जा मन्त्रालय र कृषि मन्त्रालयको समन्वयमा काम अगाडि बढाउने जानकारी दिनुभयो । राप्ती डाइभर्सन सरकारको मुख्य प्राथमिकताको योजना भएको मन्त्री पुनले बताउनुभयो ।

कार्यक्रममा बोल्दै प्रदेश ५ का मुख्यमन्त्री शंकर पोख्रेलले प्रदेश सरकारले खानेपानी र सिचाई पूर्वाधारमा विशेष ध्यान दिएको बताउनुभयो । प्रदेशभित्र रहेका नौमुरे, राप्ती डाइसर्भनलाई सम्पन्न गर्नका लागि लागिपर्ने बताउनुभयो । दाङ उपत्यकामा सिचाई र खानेपानीको समस्या भयावह भएको भन्दै मुख्यमन्त्री पोख्रेलले यसका लागि राप्ती डाइभर्सन बरदान सावित हुने बताउनुभयो ।

प्रदेश ५ लाई उर्जामा आत्मनिर्भर बनाउनका लागि लागिपरेको भन्दै मुख्यमन्त्री पोख्रेलले पानीको स्रोत संरक्षण गर्ने कार्यमा ध्यान दिएको बताउनुभयो । आफ्नो कार्यकालमा प्रदेशका सबैजसो जनतालाई शुद्ध खानेपानीको पहुँचसम्म पु¥याउने लक्ष्य लिएको मुख्यमन्त्री पोख्रेलको भनाइ थियो ।

प्राप्त प्रतिकृयाहरू

To Top