रुरुमा नेकपाले अध्यक्ष पदको टुंगो लगायो 

राजनीति कार्तिक १५ २०७६ ekhabarnepal
Cpn uml flag

तम्घास,कात्तिक १५ 
 आगामी मंसिर १४ गते हुने उपनिर्वाचनमा नेपाल कम्युनिस्ट पार्टीले उम्मेदवारको टुंगो लगाएको छ ।

गुल्मीको रुरु गाउँपालिका–६ रिमुवामा अध्यक्ष पदका लागि नेकपाले गिरी सिञ्जालीको नाम सर्वसम्मत चयन गरेको नेकपा गुल्मीका सचिव वीरबहादुर कार्कीले जानकारी दिए ।

सिञ्जाली सोही वडाका वडा सदस्य हुन् । उनलाई वडा सदस्य पदबाट राजीनामा गराई वडाध्यक्ष पदमा उम्मेदवार बनाइने सचिव कार्कीले जानकारी दिए ।

नेपाली कांग्रेसले भने अझै उम्मेदवारको टुंगो लगाएको छैन । पार्टीका जिल्ला सभापति भुवनप्रसाद श्रेष्ठले अबको केही दिनमै उम्मेदवारको नाम सर्वसम्मतरूपमा चयन गरिने बताए तर पहिलेकै उम्मेदवारको नाम चयन गर्ने सम्भावना रहेको उनको भनाइ छ ।

रुरु गाउँपालिकामा स्थानीय तहको निर्वाचनमा कांग्रेस र पूर्व माओवादी केन्द्रको तालमेल रहेको थियो तर पूर्व एमालेले गाउँपालिका अध्यक्ष, उपाध्यक्षसहित वडा नम्बर ६ मा पनि जीत हासिल गरेको थियो । 

वडा नम्बर ६ का वडाध्यक्ष पूर्णबहादुर रेग्मीको २०७५ साउन १३ गते निधन भएको थियो । उनले ६२८ मत ल्याएका थिए भने उनका प्रतिद्वन्द्वी नेपाली कांग्रेसका बेदबहादुर दर्लामीले ६१९ मत ल्याएका थिए । विक्रम संवत् २०७४ सालको प्रतिनिधि तथा प्रदेशसभा सदस्यको निर्वाचनअनुसार वडामा १ हजार ९६७ मतदाता रहेको जिल्ला निर्वाचन कार्यालयका प्रमुख राजेन्द्रप्रसाद पोखरेलले जानकारी दिए ।

गुल्मीदरबार गाउँपालिका–७ का वडा सदस्य थम्मनबहादुर बस्नेतको पनि २०७४ साल भदौ २६ गते निधन भएको थियो । तर वडाध्यक्ष, स्थानीय तहको उपाध्यक्ष, अध्यक्ष, प्रदेश र प्रतिनिधिसभा सदस्यबाहेक अन्य सदस्यको हकमा पुनः निर्वाचन हुने व्यवस्था छैन ।

प्राप्त प्रतिकृयाहरू

To Top