प्रधानमन्त्री ओली अस्पतालबाट डिस्चार्ज्ड 

राजनीति कार्तिक १४ २०७६ ekhabarnepal
1572534488einzkjfw4ayza28

काठमाडौं, कात्तिक १४

बुधबार भर्ना भएका प्रधानमन्त्री केपी शर्मा ओली उपचारपछि बिहीबार राति धापासीस्थित ग्राण्डी इन्टरनेसनल अस्पतालबाट डिस्चार्ज्ड भएका छन्।

बिहीबार पनि मिर्गौलाको डायलासिस गराएका प्रधानमन्त्री ओली राति आठ बजेपछि सरकारी निवास बालुवाटार फर्किएका हुन्।

अस्पतालबाट निस्कँदा प्रधानमन्त्रीले स्वास्थ्यबारे कुनै प्रतिक्रिया दिएनन्। कस्तो छ हजुरलाई भन्ने प्रश्नमा उनले आफूलाई ठीक भएको संकेतमा दुबै हात हल्लाए।  गाडी चढ्नुअघि उपस्थित शुभचिन्तक र पत्रकारसँग उनले भने- ओके।


यसअघि ग्राण्डी अस्पतालका मेडिकल डाइरेक्टर चक्रराज पाण्डेले प्रधानमन्त्री ओलीको मिर्गौला डायलासिस गरिएको जानकारी दिएका थिए।

१२ वर्षअघि भारतको नयाँ दिल्लीमा मिर्गौला प्रत्यारोपण गरेका प्रधानमन्त्री ओलीले गत साउनमा पहिला खाँदै आएको औषधी परिवर्तन गरेका थिए। मिर्गौला प्रत्यारोपण गरेका बिरामीले त्यसको कार्य सन्तुलन कायम राख्न औषधी खाइरहनु पर्छ। यसअघि नियमित फलोअपका लागि बैंकक जाने प्रधानमन्त्री गत साउनमा सिंगापुर गएका थिए। सिंगापुरमा उनले पहिले खाने औषधी परिवर्तन गरिएको थियो। औषधीको नकारात्मक असर देखिएपछि भदौमा प्रधानमन्त्री ओली फेरि सिंगापुर गएका थिए।

बुधबार स्वास्थ्यमा समस्या भएपछि उनी अस्पताल भर्ना भएका थिए। बुधबार र बिहीबार ग्रान्डी अस्पतालमा प्रधानमन्त्रीको मिर्गौलाको डायलासिस गरिएको थियो।

चिकित्सकहरूले  प्रधानमन्त्री ओलीले अब सातामा तीन पटक डायलासिस गर्नु पर्ने बताएका छन्। डायलासिस नगर्ने भए फेरि मिर्गौला प्रत्यारोपण गर्ने विकल्प पनि प्रधानमन्त्रीसँग छ।  
 

प्राप्त प्रतिकृयाहरू

To Top