आइएसका प्रमुख अलबग्दादी –'चिच्याउँदै र रुदै मारिए 

विश्व कार्तिक ११ २०७६ ekhabarnepal
4

अबु बकर अल-बग्दादी: इस्लामिक स्टेटका प्रमुख मारिएपछि कसले के भने

बीबीसी 
कात्तिक ११  गते 
संयुक्त राज्य अमेरिकाका साझेदारहरूले इस्लामिक स्टेट समूहका नेता अबु बकर अल-बग्दादी मारिए पनि सो समूहविरुद्धको लडाइँ नसकिएको बताएका छन्।

फ्रान्सेली राष्ट्रपति एमानुएल माक्रोँले अल-बग्दादी मारिनु आईएसका लागि एउटा झट्का भए पनि त्यो एउटा कदम मात्रै भएको बताए।

उनले सो समूहको निर्णायक पराजयका लागि फ्रान्सले सहकार्य जारी राख्ने उल्लेख गरेका छन्।

ब्रिटेनले यो एउटा महत्त्वपूर्ण क्षण भए पनि आईएसको अन्त्य नभएको प्रतिक्रिया दिएको छ।

यसअघि अमेरिकी राष्ट्रपति ट्रम्पले अल-बग्दादीले 'रोइकराइ' गरी मृत्युवरण गरेको बताएका थिए।

अमेरिकी विशेष फौजको घेराबन्दीमा परेपछि अल-बग्दादीले एउटा 'सुसाइड भेस्ट' विस्फोट गराएका थिए।

अल-बग्दादी मारिएपछि ट्रम्पले भने, "अल-बग्दादीलाई समात्नु अथवा मार्नु मेरो प्रशासनको प्रमुख राष्ट्रिय सुरक्षा प्राथमिकता रहिआएको थियो। निकै कठिनाइ र मृत्यु निम्त्याएका एक क्रूर हत्यारा हिंसात्मक रूपमा निर्मूल पारिएका छन्।"

राष्ट्रपति ट्रम्पले अमेरिकी फौजको कारबाहीमा ठूलो सङ्ख्यामा अल-बग्दादीका अनुयायीहरू मारिएको र नियन्त्रणमा लिइएको बताएका छन्।

मारिनेहरूमा उनकी दुई श्रीमती पनि थिए। उनीहरूले विस्फोट हुने भेस्ट लगाएका थिए, तर त्यसलाई उनीहरूले विस्फोट गराएनन्।

बीबीसीका उत्तर अमेरिका सम्पादक जोन सोपेल भन्छन्, कुर्दिश समूहको सहकार्य एवम्‌ जासुसीविना यो कारबाही सम्भव थिएन।

र, यसले यो क्षेत्रमा अमेरिकी उपस्थिति र कुर्दहरूसँगको निकट सम्बन्धको महत्त्व मात्रै दर्शाएको छैन, घरेलु रूपमा यसले त्यस्तै भूमिका खेल्नेछ जसरी जर्ज डब्ल्यू बुश पुनः निर्वाचित हुनुअघि इराकमा उनले भनेको अतिक्रमण पूरा भएको थियो र बाराक ओबामा पुनः निर्वाचित हुनुअघि ओसामा बिन लादेन मारिएका थिए।

अहिले आएर डोनल्ड ट्रम्प पुनः निर्वाचित हुनुअघि अल-बग्दादी मारिएका छन्। र, ट्रम्पले आफ्ना पूर्ववर्तीहरूको हकमा भएजस्तै हुने अपेक्षा गरेका छन्।

इराकी र सिरियाली क्षेत्रका साथै अन्यत्र पनि इस्लामिक स्टेटका लडाकुहरू सक्रिय हुँदा हुँदै संयुक्त राज्य अमेरिकाले यसै महिनाको शुरूतिर 'क्यालिफेट' परास्त भएको घोषणा गरेको थियो।

यसै महिनाको शुरूतिर उत्तर सिरियाबाट अमेरिकी फौजलाई फिर्ता बोलाउने निर्णय गरेका कारण व्यापक आलोचना खेप्दै आएका ट्रम्पका लागि अल-बग्दादीको मृत्यु एउटा ठूलो जित हो।

डेमोक्र्याटहरूले ट्रम्पमाथि महाभियोग लगाउने विषयमा छानबिन अघि बढाएका बेला पनि आएको यो खबर उनका लागि अर्थपूर्ण छ।

स्थानीय समय अनुसार आइतवार बिहान एउटा अस्वाभाविक वक्तव्य दिँदै ट्रम्पले सिरियाको इड्लिब प्रान्तस्थित एउटा सुरुङमा अल-बग्दादी 'चिच्याउँदै र रुदै मरेको' बताएका छन्।

आईएसका नेता अल-बग्दादी विश्वका सबैभन्दा खोजी गरिएका व्यक्ति ठानिन्थे।

सन् २०११ को अक्टोबरमा अमेरिकाले बग्दादीलाई आधिकारीक रूपमा आतङ्ककारी तोक्दै उनको पक्राउ वा मृत्यु हुने गरी कसैले सूचना दिएमा एक करोड डलरको पुरस्कार घोषणा गरेको थियो।

बग्दादी एक अत्यन्तै व्यवस्थित र क्रूर विद्रोही योद्धाका रूपमा कुख्यात थिए।

सिरियाको इड्लिब क्षेत्र जहाँ अमेरिकी फौजले कारबाही गरेको हो
सन् १९७१ मा बग्दादको उत्तरस्थित समरामा उनको जन्म भएको थियो।

विवरणहरूका अनुसार अमेरिकाले सन् २००३ मा इराकमा अतिक्रमण गर्दा ताका बग्दादी त्यहीको एक मस्जिदमा धर्मगुरु थिए।

कतिपयका अनुसार सद्दाम हुसैनको शासन ताका नै बग्दादी विद्रोही जिहादी भइसकेका थिए।

अरूका भनाइमा चाहिँ दक्षिण इराकस्थित अमेरिकी शिविर क्याम्प बुक्कामा चार वर्ष बन्दी बनाइएपछि बग्दादी कट्टरपन्थी भएर निस्किए।

सो शिविरमा कैयौँ अल-कायदा कमाण्डरहरूलाई राखिएको थियो।

सन् २०१० मा बग्दादी इराकमा अल कायदाको नेताका रूपमा उदाए।

आइएसमा पछि सो समूह समाहित भएको थियो। सिरियाको अल-नुसरा गुटसँग जोडिने प्रयास भइरहेका बेला बग्दादी सङ्गठनको उच्च नेतृत्वमा उदाए।

यसै वर्षको शुरूमा आईएसले बग्दादी भनेर चिनाउँदै एउटा भिडिओ सार्वजनिक गरेको थियो।

त्योभन्दा अगाडि सन् २०१४ देखि नै बग्दादीलाई यसरी सार्वजनिक देखिएको थिएन।

त्यतिखेर बग्दादीले मोसुलमा बोल्दै सिरिया र इराकका भूभाग समेटेर 'क्यालिफेट' निर्माणको घोषणा गरेका थिए।

सिरिया र इराकको ठूलो भूभागमाथि कब्जा जमाएपछि सन् २०१४ मा यो चरमपन्थी इस्लामवादी समूह अन्तर्राष्ट्रिय चर्चामा आयो।

आईएसले आफ्नो बर्बर शासन झन्डै ८० लाख मानिसमाथि लाद्यो, अनेकौँ हत्या गर्‍यो, सांस्कृतिक धरोहरहरू नष्ट पार्‍यो र तेल विक्री, चन्दा असुली, लुटपाट एवम् फिरौतीबापत अर्बौँ डलर आर्जन गर्‍यो।

पाँच वर्षदेखि भएको भीषण एवम् रक्तपातपूर्ण लडाइँपछि एक ताका आफूले नियन्त्रण कायम गरेको सबै भूभागबाट आईएस धपाइएको छ।


आईएस 'क्यालिफेट' अर्थात् ईश्वरका प्रतिनिधिबाट शासित राज्य चाहन्छ।

इस्लामिक ग्रन्थमा उल्लेखित कुराको कट्टर व्याख्या गर्दै सो समूहले मुस्लिम र गैरमुस्लिमहरूमाथिको आक्रमणलाई जायज ठहर्‍याउँदै आएको छ।

अमेरिकी नेतृत्वमा सन् २००३ मा इराकमा गरिएको अतिक्रमणपछि सुन्नी मुस्लिमहरूले बनाएको अल-कायदाबाट आईएस बनेको हो।

सन् २०११ ताका इस्लामिक स्टेट इन इराक आईएसआई नामले परिचित उक्त समूह सिरियामा राष्ट्रपति बशर अल-असादविरुद्धको विद्रोहमा सामेल भयो। त्यहाँ उसले आफ्नो सुरक्षा स्थान बनायो।

उसले इराकबाट अमेरिकी फौजको फिर्ती तथा शिया नेतृत्वको इराकी सरकारको साम्प्रदायिक नीतिप्रति सुन्नीहरूको आक्रोशको फाइदा पनि उठायो।

सन् २०१३ मा आईएसआईले सिरियाली भूभागमाथि कब्जा जमाउन थाल्यो र आफ्नो नाम परिवर्तन गरी इस्लामिक स्टेट इन इराक एन्ड द लेभान्ट अर्थात् आईसिस/आईसिल राख्यो।

अर्को वर्ष उसले इराकको ठूलो भूभागमा नियन्त्रण कायम गर्‍यो र आफ्ना नेता अबु बकर अल-बग्दादीलाई ईश्वरका प्रतिनिधि घोषणा गर्दै इस्लामिक स्टेटको रूपमा परिचित भयो।

आफ्नो पकडको उत्कर्षमा आईएसले इराकदेखि सिरियासम्मको करिब ८८ हजार वर्गकिलोमिटर क्षेत्रमा शासन गर्‍यो।

करिब ८० लाख मानिसहरूले शरियाको व्याख्याबमोजिम जीवन गुजारा गरे।

महिलालाई पूरै जीउ ढाक्ने नकाब लगाउन बाध्य पारियो, दिनहुँजसो सार्वजनिक रूपमा मान्छेको टाउको छिनाइन्थ्यो, बालबालिकालाई विद्यालयमा निर्देशित गरिन्थ्यो र इसाईहरूले कर तिर्ने, धर्म परिवर्तन गर्ने अथवा मृत्युवरण गर्नेमध्ये एउटा विकल्प रोज्नुपर्थ्यो।

प्रभावशाली मुस्लिम नेताहरूले आईएसको 'क्यालिफेट'लाई अस्वीकार गरे। तर दशौँ हजार विदेशीहरू सो समूहमा सामेल हुन पुगे।

प्रत्येक महिना तेल तस्करी, चन्दा असुली, लुटपाट र फिरौतीबापत आईएसले दशौँ लाख डलर आर्जन गर्थ्यो।

प्राचीन स्थलहरू र मूर्तिहरू नष्ट गरेर पनि सो समूहले व्यापक आक्रोश निम्त्यायो।

प्राप्त प्रतिकृयाहरू

To Top