अनियमितताको आरोपमा सेनाका चारसहित २७ जना पक्राउ

राजनीति कार्तिक ६ २०७६ ekhabarnepal
4

काठमाडौं, ६ कात्तिक ।
भर्ना छनोटमा अनियमितता गरेको आरोपमा चार जना सेना र २३ जना बिचालियामाथि नेपाली सेनाले नियन्त्रणमा लिएर कारबाही अघि बढाएको छ ।
सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालय जंगी अड्डाका अनुसार साउन १९ गते प्रकाशित विज्ञापनअनुसार ४० भर्नाकेन्द्रमा उक्त संख्यामा सैन्य पदको भर्ना छनौट हुँदा किर्ते तथा आर्थिक लेनदेनमा संलग्न भएको पाइएपछि २७ जनामाथि कारबाही अघि बढाइएको हो।

सेनाको भर्ना केन्द्र उत्तरपश्चिम पृतना हेडक्वार्टरमा सञ्चालन भएको भर्ना प्रक्रियामा नक्कली परिचयपत्र बनाई किर्ते गरेको आशंकामा तीन जना र श्री नं. ५ बाहिनी अड्डा कैलाली भर्नाकेन्द्रमा आर्थिक लेनदेन गरेको आशंकामा एक जना सैनिकलाई निगरानीमा राखी अनुसन्धान सुरु भएको सेनाले जनाएको छ। त्यस्तै सोही भर्ना केन्द्रमा नक्कली परीक्षार्थी पठाई परीक्षा दिन लगाउने वास्तविक उम्मेदवार ६ जना तथा नक्कली परीक्षार्थी नौ जनालाई जिल्ला प्रहरी कार्यालय सुर्खेतले पक्राउ गरी अनुसन्धान सुरु गरेको र अन्यको खोजी भइरहेको सेनाको भनाइ छ।

त्यस्तै, सैन्य भर्ना केन्द्र २४ नम्बर बाहिनी अड्डा जुम्ला तथा ५ नम्बर बाहिनी कैलालीमा नक्कली परीक्षार्थी पठाई परीक्षा दिन गएका चार जना पक्राउ परेका छन्। उनीहरुको वास्तविक उम्मेदवारहरुको खोजी भइरहेको पनि सेनाले जनाएको छ। अन्य तीन भर्नाकेन्द्रमा चार जनालाई आर्थिक लेनदेनको आशंकामा पक्राउ गरिएको सेनाले जनाएको छ।

प्रधानसेनापति बनेपछि पूर्णचन्द्र थापाले भर्ना छनोट प्रक्रियालाई स्वच्छ र पारदर्शी बनाउने बताउँदै आएका छन्। गत वर्ष यस्तो अनियमिततामा संलग्न ७० भन्दा धेरैलाई कारबाही गरेका थिए ।

प्राप्त प्रतिकृयाहरू

To Top