मध्यरातमा जंगलबाट पक्राउ परे २१ जना विप्लव कार्यकर्ता 

राजनीति असोज ३० २०७६ ekhabarnepal
Chandra bahadur chand 05cbchfl5b


बुटवल,असौज ३० । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी, मध्यपश्चिम कमाण्डको बैठक बसिरहेको अवस्थामा प्रहरीले विप्लवका दाइ चन्द्र बहादुर चन्दसहित २१ जनालाई गएराति पक्राउ गरेको छ । 
 नेपाल–भारत सीमा क्षेत्रमा पर्ने दाङको राजपुर गाउँपालिका–४ मुग्रेठा खोलास्थित जंगलमा विशेष अपरेशन चलाएपछि उनीहरु पक्राउ परेका हुन् । 

यसअघि प्रदेश नम्बर ५ मा केही महिना पहिले विप्लवको गाउँ कपिलवस्तुको शिवराजमा पनि प्रहरीले अपरेशन गरेर ठूलो मात्रामा विस्फोटक पदार्थ नियन्त्रणमा लिएको थियो । 

त्यो अपरेसन जस्तै सफल बनाउन प्रहरीले मध्यपश्चिम कमाण्डको बैठक बसिरहेको स्थानलाई घेरा हालेको थियो ।

  तीन जना प्रहरी निरीक्षकसहित झन्डै एक सयको संख्यामा परिचालित सुरक्षाकर्मीको टोलीले उनीहरुलाई नियन्त्रणमा लिन सफल भएको हो । 
उनीहरुलाई पक्राउ गर्न प्रहरी टोली ५ घण्टा बढी पैदल हिँडेर त्यहाँ पुगेको थियो । पक्राउ परेका उनीहरुलाई पनि  हिँडाएरै जिल्ला प्रहरी कार्यालय ल्याइएको थियो । 

राति १ बजे बैठकस्थल घेरा हालेर केन्द्रीय सदस्यहरुसहित २१ नेताहरुलाई पक्राउ गरिएको प्रदेश नम्बर ५ प्रहरी कार्यालय दाङका प्रवक्ता डीएसपी नवराज पोखरेलले जानकारी दिए । 

उनका अनुसार विप्लवका नेता कार्यकर्तालाई पक्राउ गर्न ५ नम्बर प्रदेश प्रहरी कार्यालय, जिल्ला प्रहरी कार्यालय दाङ र इलाका प्रहरी कार्यालय लमही र इलाका प्रहरी कार्यालय गडहवाको टोली खटिएको थियो ।

मध्यरातमा पक्राउ पर्नेमा  केन्द्रीयस्तरमा नेताहरु रहेका छन् । पक्राउ परेका विप्लवका दाइ चन्द्रबहादुर चन्द केन्द्रीय सदस्य तथा लुम्बिनी ब्यरो इन्चार्ज समेत हुन् । 

पक्राउ पर्नेहरुमा केन्द्रीय सदस्य तथा लुम्बिनी ब्यरो इन्चार्ज चन्द्रबहादुर चन्द, राप्ती ब्यूरो इन्चार्ज केशवबहादुर बाँठा मगर (सुवास),राप्ती ब्यूरो एवम् न्याय विभाग समिति जिल्ला संयोजक रामबहादुर थापा (सुन्दर), राप्ती ब्यूरोे कार्यालय सचिव, सविन पोख्रेल, जिल्ला इन्चार्ज यमलाल कटुवाल(विक्रम) ,जिल्ला सेक्रेटरी प्रदीप वली, युवा संगठन नेपाल केन्दीय अध्यक्ष, बविन केसी (पाटन, जंगली),वुद्धिजिवी , सुनिल पौडेल,एरिया नम्बर ४ इन्चार्ज एवम् जिल्ला जनपरिषद् सदस्य एकराज चौधरी छन् ।

 त्यस्तै एरिया नम्बर १ इन्चार्ज एवम्     राजपुर गाउँपालिका सेक्रेटरी धनबहादुर बोहोरा, पूर्व जनमुक्ति सेना तिलक पुन, दलित राष्ट्रिय मुक्ति मोर्चा जिल्ला अध्यक्ष सुरज विक,पार्टी सदस्य हितप्रसाद रोका, पोष्टमान घर्ती (रोल्पा जिल्ला), दलबहादुर खत्री, अमित घर्तिमगर, बालकृष्ण शर्मा , जीत क्षेत्री, रमेश आचार्य, कुलबहादुर वली, बिष्णु थापा छन् ।

प्राप्त प्रतिकृयाहरू

To Top