ओसेनिया क्षेत्र र नेपालबीच सेतु बन्न मेरो उम्मेदवारीः जोशी

राजनीति असोज २८ २०७६ ekhabarnepal
Dineshraj joshi

काठमाण्डौ, असौज २८
एनआरएनएको नवौं अधिवेशनमा ओसेनिया क्षेत्रको संयोजकमा उम्मेदवारी घोषणा गरेका दिनेशराज जोशीले चुनावी अभियानलाई तीव्र पारेका छन् । हाल अष्ट्रेलियाबाट एनआरएनएका आईसीसी सदस्य रहेका जोशीले अष्ट्रेलिया र समग्र ओसेनिया क्षेत्रबाट नेपालसँग सेतुको भूमिका खेल्नका लागि आफ्नो उम्मेदवारी रहेको बताएका छन् । दुई दशकयता अष्ट्रेलियामा रोजगारीसँगै सामाजिक क्षेत्रमा सक्रिय जोशी जनसम्पर्क समिति अष्ट्रेलियाका संस्थापक मध्येका एक हुन् । नेपालबाट अष्ट्रेलिया गएका युवाहरुलाई रोजगारी तथा अप्ठेरोमा साथ दिने जोशी सामाजिक अभियान सञ्चालनमा अग्रणी मानिन्छन् । सबै दल निकटसँग समभावको आधारमा अघि बढेकाले आफूलाई ओसेनिया क्षेत्रबाट उम्मेदवारीका लागि दबाब आएकाले अघि बढेको उनले बताए । ‘एनआरएनएको विभिन्न जिम्मेवारीमा रहे पछि अब ओसेनिया क्षेत्रकै प्रतिनिधिका रुपमा अघि बढ्नुस् भन्ने सुझाव आएकाले उम्मेदवारी दिएको छु,’ उनले भने ।
चुनावी अभियानका क्रममा आफूलाई सबै क्षेत्रबाट सहयोगको प्रतिवद्धता आएको उनले बताए । ‘हाम्रो राजनीतिक आस्था आ आफ्नो ठाउँमा छ,’ उनले भने,‘नेपालीको छाता संगठनलाई राजनीतिबाट पर राखेर अघि बढ्नुपर्छ भन्ने मेरो धारणा हो ।’ उनले सबै विचार र पक्षलाई समेटेर नेपालमा लगानीका साथै अष्ट्रेलिया र न्युजिल्याण्डका विद्यार्थी र नेपालीको समस्या समाधानमा विशेष जोड दिने बताए । 

प्राप्त प्रतिकृयाहरू

To Top