कावासोती गोलीकाण्डका २७ बर्ष

राजनीति असोज २८ २०७६ ekhabarnepal
Salik


 सालिकराम कोइराला                              
कावासोती,नवलपुर रातीको दुई बजेको हुँदोहो । भटटट गोली चलेको आवाज आयो । छिमेकीले मेरो श्रीमानलाई गोली लागेको खबर सुनाए । म एकदमै हक्कानिएँ । बाक्य फुटेन । छाति गरूड्गो भयो । मनमा अनेकथरि कुरा खेल्यो । म त आकुल ब्याकुल भएँ । आज भन्दा २७ बर्ष अघिको कहालिलाग्दो घटना सुनाउँदै दुखेसो पोखिन् कमला पन्तले(हामीलाई त यस्तो बज्रपात पर्याे,अरू कसैलाई नपरोस् । कावासोती गोलीकाण्डमा परि घाईते भएका श्रीमान मोहन बाबु पन्तलाई गुमाउनु परेको असहिय पीडा थियो उनीमा । तात्कालिक एमालेका प्रतिबद्द कार्यकर्ता थिए मोहन बाबु पन्त । उनको देहावशान पछि कावासोती वडा नं.३ कि कमला पन्तको खुसि लुटिएको छ । घर उजाडिएको छ । परिवारले अभिभावक गुमाएको पीडा यहि दिनले पटक,पटक बल्झाउने गरेको छ ।                                                  

    २०४९ असोज २९ को घटना थियो त्यो । कावासोतीको पुष्पलाल चोकमा राती २ बजे चलेका दर्जनौ राउण्ड गोलीले स्थानीयको होस उडाएको थियो । प्रसङ्ग टनकपुर सन्धि र त्यसले निम्त्याउन सक्ने खतरा बिरूद्द केन्द्रीत थियोे । कंचनपुरबाट उर्बादत्त पन्त र ईश्वरी खरेलको नेतृत्वमा काठमाडौं हिडेको साईकल र्यालीलाई चोरमाराको जंगलमा रोकेर बेपत्ता पारिएको बिरोधमा चक्काजाम गर्दा मोहनबाबु पन्त रगतमा लतपतिएर ढल्नु परेको थियो । उर्बादत्त पन्त त्यतिबलै  एमालेका सांसद थिए । उनीहरूलाई पक्रेर सदरमुकाम परासी नलगी सेमरी पुर्याईएको रहेछ । सही सूचना नपाउँदा आक्रोशित जनताले सकुशल रिहाइको माग गर्दै सडक अवरोध गरेका थिए । प्रजिअ नारायण झाले अनावश्यक बल प्रयोग गर्दा बीभत्स घटना घट्यो । त्यसो त मोहन बाबु पन्तलाई मात्रै होईन धेरैलाई गोली लाग्यो । त्यो घटनामा । अग्यौलीका नर बहादुर थापा छातिमा गोली लागेर ढले । तर उनी जीउँदो सहिदको रूपमा रहेका छन् । कावासोतीका बन्धु श्रेष्ठ र रस बहादुर गुरूङको हातमा गोली लाग्यो । कावासोतीकै दामोदर ढुङ्गानाको खुट्टामा गोली लाग्यो । डोल बहादुर पौडेल,अन बहादुर पुन र प्रसाद पुन सामान्य घाईते भए । गोरखाका मान बहादुर तामाङको छातिमा गोली लागेको थियो । पुष्पलाल चोकका घर,सटरहरू गोलीले प्वालपारे । सैयौ यात्रु, स्थानीय र सर्बसाधारण भागाभाग भए । चिच्याहट र राज्य आतङ्कले कावासोतीबासी त्राहिमाम् भए । उक्त घटनामा परि छातिमा गोली लागेर ढलेका ज्यूँदा सहिद नर बहादुर थापा भन्छन्( म एमालेकै संगठित सदस्य हो तर खानै नपाएपछि कुनै राजनैतिक बिचारै हुदो रहेनछ। मेरो त पार्टीपर्तिको आस्था र बिचारै मर्याे । गोली काण्डमा परि शख्त घाइते भएका र सहिद परिवारलाई राज्यले उचित राहत नदिएको उनिहरूको गुनासो छ । नेकपाकै सरकार छ तर कुनै वास्ता छैन,नर बहादुरले भने । उनको दुखेसो छ, छातिमा गोली लागेका कारण काम गर्न सकिन्न । प्रेसर र शुगरले गालेको छ । छोराहरूले काम नपाएर खाडीमा जानु परेको छ । कसैले वास्ता गर्दैनन्  । कमला पन्तको त अझ श्रीमान् गुमेपछि बिचल्ली छ । एकटुक्रा जग्गा र सानो घर सिवाय केही छैन । राज्यले  श्रीमानलाई सहिद पनि घोषणा गरेन । कयौंलाई सहिद घोषणा गरियो राहत दिईयो तर हामीलाई पर्गेल्याईयो । उनले गुनासो पोखिन् । गतबर्ष नेकपाका नेता तथा गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरूङले सार्बजनिक समारोहमा सहिद घोषणा गर्ने वचन त दिए तर पुरा गरेनन् । टनकपुर काण्डले गिजोलेको कावासोती अझै निको हुन सकेको छैन । तात्कालिक एमालेका नेताले टनकपुर काण्डले चोईटिएको पार्टी त मिलाए तर त्यसले दिएको असहिय पीडा बल्झाईरहे ।
 के थियो त टनकपुर काण्ड ?   
    तात्कालिन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले १९९१ डिसेम्बर ५ मा भारतको भ्रमण गर्दा टनकपुर सन्धि गरे । शारदा ब्यारेजको बिकल्पमा भारतले नेपालको सहमति बिना ब्यारेज भन्दा ६ कि.मी माथी टनकपुरमा बाँध बाँधेर महाकाली नदिको पानी बनबासा पावर हाउसमा खसालेको थियो । त्यहाँबाट १ सय २० मेगावाट बिजुली निकाल्ने र पावर हाउसको टेलरिस च्यानल सोझै शारदा नहरमा मिसाउने भारतको योजना थियोे । गिरिजाले भारत भ्रमणमा नेपाली भूमि जिमुवाको ५ सय ७७ मिटर भारतलाई बाँध बनाउन दिने निर्णय गरे र दिए ।                     भ्रमणमा भएको टनकपुर सन्धिको व्यापक बिरोध भयो । तात्कालिन एमाले,जनमोर्चा लगाएतले सडक र संसद दुबै तताए । गरिजाले सन्धि होइन समझदारी हो भनी थामथुम पार्न खोजे तर सकेनन् । २०४८ पुस २ मा यो मुद्दा सर्बाेच्च अदालत पुग्यो र २०४९ मंसीर ३० मा सर्बाेच्चले समझदारी होइन सन्धिनै हो भनी फैसला गर्याे । प्रम गिरिजाप्रसाद यो फैसलाले अझ संकटमा परे । सन्धि हो भनेपछि त संसदको दुई तिहाईले पास गर्नुपर्ने भयो । अब उनी सन्धि ऐन २०४७ संसोधन गर्ने तर्फ अगाडि बढे । २०४९ माघ १५ मा लोकराज बरालको संयोजकत्वमा सो सम्बन्धि मूल्यांकन सुझाव समिति बन्यो । यो आयोगले टनकपुर बाँधले व्यापक र दिर्घकालिन असर पार्दैन भन्ने प्रतिबेदन बुझायो ।
    यसले प्रम गिरिजाप्रसादलाई थोरै भएपनी राहत दियो र उनी संसदको साधारण बहुमतबाट यो सन्धि पास गर्न प्रस्ताव दर्ता गरे । तर काङ्ग्रेसका लौह पुरूष सर्बोच्च नेता गणेशमान सिंहले यो प्रस्ताव स्विकारेनन् । टनकपुर साधारण बहुमतबाट पारित गर्न खोज्नु मृत्यू पत्रमा हस्ताक्षर गर्नू सरह हो भने । उनको यो लेटर बमले कोइराला फेरि अप्ठ्यारोमा परे । उनले ताजा जनादेशको लागि २०५१ असारमा संसद बिघटन गरि मध्यावधि निर्वाचनको घोषणा गरे । त्यसपछि टनकपुर सन्धिले कहिल्यै संसदमा प्रवेश पाएन । अबैध ठहर भयो । २०५२ भदौमा शेर बहादुर देउवा प्रधानमन्त्री बने । उनले ०५२ माघ २९ मा महाकाली सन्धि भित्र घुसाएर  टनकपुर सन्धिको बैधता कायम गरिदिए । महाकाली सन्धिमा नेपाल सरकारको तर्फबाट प्रम देउवा र भारत सरकारको तर्फबाट भारतीय प्रधानमन्त्री पी.भी. नरसिंह रावले हस्ताक्षर गरेका थिए । सरकारी स्तरबाट टनकपुरको टनटन त साम्य पारियो ।  त्यस पछिका सरकारले सबै बिर्सियो । तर त्यहि असमान सन्धिको बिरोधमा साथ दिएका कावासोतीबासी प्रत्येक बर्ष असोज २९ मा मुर्छा पर्ने र बहुरिने गरेका छन् ।
 

प्राप्त प्रतिकृयाहरू

To Top