केन्द्रवाट गर्ने काममा कमी आउन दिन्न ः महासचिव पौडेल

राजनीति असोज १६ २०७६ ekhabarnepal
2

बुटवल, असोज १६ गते । पूर्वअर्थमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का महासचिव विष्णुप्रसाद पौडेलले विकासको अभियानमा मिलेर अगाडि बढ्न सबैलाई आह्वान गर्नुभएको छ ।
नेकपा बुटवल तथा सैनामैना नगर कमिटीले अलग अलग आयोजना गरेको विजया दशमी, तिहार र छठ पर्वको अवसरमा आयोजित शुभकामना आदान प्रदान कार्यक्रममा वोल्दै उहाँले केन्द्रवाट गर्ने काममा जतिसुकै ठूलो भएपनि आफ्नो तर्फवाट सम्पादन हुने विश्वास ब्यक्त गर्नुभयो ।
तँपाइहरुले भनेका कारण सिद्ववावामा सुरुङमार्गको ठेक्का यही वर्ष हुँदैछ भने तिनाउ दानव किनारमा उच्चस्तरीय सडक वन्नुका साथै नदी नियन्त्रण गर्नका लागि वजेट विनियोजन भएको छ, उहाँले भन्नुभयो । 
 तिनाउमा आवश्यक पर्ने पुल वनाउने देखि पूर्व पश्चिम राजमार्गलाई विस्तार गर्ने र खानेपानी सम्मका एक दर्जन योजनाहरु वन्दै गरेको विवरण प्रस्तुत गर्दै उहाँले थप केही गर्नुपर्ने भए यो वा त्यो पार्टी हैन आम मतदाताको तर्फवाट आउने प्रस्तावलाई आफ्नो तर्फवाट सम्पन्न गर्नका लागि सम्पूर्ण तागत लगाउने प्रतिवद्वता ब्यक्त गर्नुभयो ।


सो अवसरमा प्रदेश सरकारका उद्योग, पर्यटन,वन तथा वातावरण मन्त्री लीला गिरी, राष्ट्रियसभाका प्रमुख सचेतक खिमलाल भट्टराई, नेकपाका केन्द्रीय सदस्य तथा प्रदेश संसदीय समितिका सभापति दयाराम न्यौपाने, वामदेव क्षेत्री, जिल्ला समन्वय समितिका सभापति एकराज विश्वकर्मा, नगर अध्यक्ष बाबुराम पन्थीलगायले शुभकामना दिनुभएको थियो । 
यस अघि बुटवल उपमहानगरपालिका–१३ मा निर्मित जितेश्वरी मन्दिरमा स्थापित दुर्गा मन्दिरको प्रतिस्थापन कार्यक्रमको उद्घाटन गर्दै उहाँले सामाजिक कार्यमा जस्तै विकासका काममा समेत सहकार्य गर्न आग्रह गर्नुभयो ।
उहाँले स्थानीयको साथ र सहकार्यले विकासलाई अगाडि बढाउन सहयोग मिल्ने धारणा राख्नुभयो । महासचिव पौडेलले बुटवलको सामाजिक, आर्थिक, भौतिक तथा सबै प्रकारका विकासमा साथ र समर्थन रहने प्रतिबद्धतासमेत जनाउनुभयो ।

मन्दिर व्यवस्थापन समितिका अध्यक्ष बालकृष्ण गैरेले स्थानीयको सक्रियतामा मन्दिर निर्माण गरेको बताउनुभयो । उहाँले मन्दिर र सभाहलको निर्माणपछि वडाका धार्मिक गतिविधि सञ्चालनका लागि सहज हुनेछ भन्नुभयो ।
जितेश्वरी आमा समूहका अध्यक्ष मन्दिरा गौडेलले धर्मले मानिसलाई सही आचरणमा रहन सिकाउने हँुदा वडामा धार्मिक गतिविधिलाई बढावा दिएको बताउनुभयो ।

प्राप्त प्रतिकृयाहरू

To Top