अर्थतन्त्रलाई चलायमान बनाउने पर्व : दसैं

बिचार असोज १४ २०७६ ekhabarnepal
1569822776



सरस्वती ढकाल

 
चेम्बर अफ कमर्सका अध्यक्ष राजेशकाजी श्रेष्ठको अनुभवमा दसैं आसपासका तीन महिनामा मात्र वर्षभरी हुने कुल व्यापारको झन्डै ५० प्रतिशत खरिद बिक्री हुने गर्दछ । ठूलो परिमाणमा एकैपटक व्यापार हुने भएकाले राजस्व संकलन बढ्ने मौसम पनि हो दसैं ।
नेपाली समाजमा दसैंको धार्मिकभन्दा पनि साँस्कृतिक महत्व बढी छ । आम नेपालीले यसलाई विगतमा जस्तो असत्यमाथि सत्यको जित अथवा आसुरी शक्तिमाथि दैवीशक्तिको विजयभन्दा पनि पारिवारिक पुनर्मिलनको पर्वका रूपमा मनाउँछन् । समाजशास्त्रीय दृष्टिकोणले यसलाई पारिवारिक पुनर्मिलनको पर्व भनिन्छ भने वैश्य युगमा दसैंको परिभाषा यतिमा सीमित रहन सक्दैन ।
दसैंको महत्व अब समाजशास्त्रीय परिभाषामा साँघुरिएर रहन सकेन किनकी यो मूलतः सामाजिकसँगै आर्थिक पर्वमा रूपान्तरित भएका छ । हरेक नेपालीले मनाउने यो पर्वमा खर्च यतिधेरै हुन्छ कि देसकै अर्थतन्त्र चलायमान हुन्छ । वर्षकै लामो छुट्टीदेखि पेसाकर्मीहरूका लागि अतिरिक्त आम्दानी हुने तथा व्यापार व्यवसाय गुलजार हुने भएकाले पनि समाजका सबै वर्गका लागि यो पर्वको छुट्टै खाले महत्व छ । हिन्दुहरूले टीका लगाउने भएकाले यो हिन्दुहरूको मात्र पर्व हो भन्ने भ्रम अब रहेन किनकी दसैंका सामाजिक र आर्थिक क्रियाकलापले यो सबै नेपालीको सबैभन्दा महत्वपूर्ण पर्व भइसकेको छ ।

आमनेपालीले दसैंमा सबैभन्दा बढी किनमेल गर्छन् । दसैंमा खर्च गर्नकै लागि भनेर वर्षैभरीको कमाइ जोहो गर्ने नेपालीको संख्या कम छैन भने ऋण गरेरै भए पनि दसैं मनाउनुपर्छ भन्ने मान्यता नयाँ होइन । नयाँ लुगा लगाउने र मिठो खाने मात्र नभई घर सजाउने र केही न केही नयाँ खरिद गर्ने प्रचलन भएकाले दसैंलाई अर्थतन्त्रको महाउत्सव भन्न सकिन्छ । आम सर्वसाधारणले एकैपटक ठूलो परिमाणमा वस्तु तथा सेवा खरिद गर्ने भएकाले व्यापार व्यवसाय पनि गुलजार हुने गरेको पाइन्छ । नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेशकाजी श्रेष्ठको अनुभवमा दसैंका आसपासका तीन महिनामा मात्र वर्षभरि हुने कुल व्यापारको ५० प्रतिशत खरिद बिक्री हुने गर्दछ । ठूलो परिमाणमा एकैपटक व्यापार हुने भएकाले व्यापारीहरूको उत्साह मात्र नभई सरकारको राजस्वमा पनि योगदान पुग्छ नै । श्रेष्ठका अनुसार बढी आम्दानी हुनेले पुरानो गाडी बिक्री गरेर नयाँ बिलासी खरिद गर्नेदेखि मोटरसाइकल चढ्नेले मध्यमस्तरका गाडी खरिद यही बेला गर्छन् भने न्युन आय हुनेले लत्ताकपडादेखि खाद्यान्नसमेत खरिद गर्दछन् । “दसैंका बेला कसैले खाली बस्दैन केही न केही त नयाँ खरिद गर्छ नै,” उनी भन्छन्, “दसैं सर्वसाधारणको लागि मात्र दसै होइन, हामीजस्ता व्यापार व्यवसाय गर्नेहरूका लागि पनि दसैं हो ।” विदेशमा हुनेले पनि दसैमा परिवारलाई खर्च अन्य समयको तुलनामा बढी पठाउने हुँदा रेमिटान्सको ‘फ्लो’ पनि बढ्ने उनी बताउँछन् ।
दसैंका बेला अन्य पर्वमा भन्दा स्वदेशी वस्तुको पनि बढी नै खपत हुन्छ । आम किसानले पालेका खसीबोकादेखि उत्पादन गरेका खाद्यान्न र तरकारीको बढी प्रयोग हुने भएकाले यो पर्व स्वदेशी उत्पादकहरूका लागि पनि महत्वपूर्ण छ । तर, बिलासी गाडी, मोबाइल टिभीजस्ता इलोक्ट्रोनिक्स सामग्री तथा सुनलगायतका वस्तुहरूको बिक्री पनि बढ्ने भएकाले स्वदेशी उत्पादनको बिक्री बढे पनि आयात झन् बढी हुने देखिन्छ । यस्तै, दसैंमा अत्यधिक खपत हुने तयारी पोसाक र जुत्ता चप्पलको स्वदेशी उत्पादनसमेत न्यून रहेकाले आयातमै भर पर्नुपर्ने अवस्था छ । पछिल्लो समय जुत्ताचप्पलमा नेपाल आत्मनिर्भरताको नजिक पुगिसकेको व्यवसायीहरूले दाबी गरे पनि आयात घट्न सकेको छैन । राजधानीको एकमात्र प्रदर्शनीस्थल भृकुटीमण्डपमा पनि दसैंलाई लक्षित गरी विभिन्न मेलाहरू सञ्चालन हुने गरेका छन् ।
सवा २२ खर्ब रुपैयाँ बराबर रहेको नेपाली अर्थतन्त्रका लागि दसैं र यसलगत्तै आउने दुई महत्वपूर्ण पर्वहरू तिहार एवं छठ निकै नै महत्वपूर्ण पनि छन् । दसैंको १५ दिनमा हुने खर्च सामान्य अवस्थामा झन्डै तीन महिना हुने खर्चबराबर हुने अनुमान गरिन्छ । दसैंमा अर्कोतर्फ मनोरञ्जन र यात्रामा पनि ठूलो खर्च हुने गरेको छ । दसैं सुरु हुनु एक महिनाअघिदेखि सार्वजनिक सवारीका सिट प्याक भइसकेका छन् भने हवाइ अकुपेन्सी पनि झन्डै शतप्रतिशत छ । दसैंपछिका केही सातासम्म यो क्रम जारी नै रहने देखिन्छ भने पछिल्ला दिनमा निजी सवारी साधनको उपयोग पनि उत्तिकै हुन थालेको छ । आम सर्वसाधारण एक स्थानबाट अर्कोतर्फ जाँदा यसले अर्थतन्त्रलाई नै ‘भाइब्रेन्ट’ बनाउनेमा द्विविधा छैन । ट्राफिक प्रहरीको अनुमानअनुसार दसैंका बेला करिब ३० लाख मानिस राजधानीबाट बाहिरिन्छन् भने झन्डै त्यत्तिकै संख्यामा अन्य सहरी क्षेत्रबाट अर्कोतर्फ आवतजावत गर्दछन् । यसले दसैंमा यातायात व्यवसायीले पनि छुट्टै ‘दसैं’ आएको महसुस गर्दछन् ।
दसैं अर्थतन्त्रको सबैभन्दा राम्रो पक्ष के हो भने दसंैको खर्च मूलतः गाउँकेन्द्रित हुन्छ । अर्थतन्त्रको केन्द्रबिन्दु सामान्य अवस्थामा सहर र सहरोन्मुख क्षेत्र भए पनि यो बेला अर्थतन्त्र साँच्चै विकेन्द्रित हुन्छ । त्यसो त यस वर्ष २ दशकपछि भएको स्थानीय तह निर्वाचन र आसन्न संघीय र प्रादेशिक निर्वाचनले सहर र गाउँबीचको दूरी त्यसै पनि छोटिँदैछ, त्यसैले राजनीतिक रूपमा पनि यस वर्षको दसैं निकै महत्वपूर्ण हुने देखिन्छ । दसैंको खर्च गाउँ केन्द्रित हुनु भनेको ग्रामीण अर्थतन्त्र विकासका लागि कोसेढुंगा नै हो । पछिल्ला दिनहरूमा आम नेपालीको प्रतिव्यक्ति आम्दानी बढेकाले क्रयशक्ति बढेको छ । उनीहरूको खर्च बढ्नु बढेको अर्थतन्त्रका लागि उत्साहको सूचकसमेत हो । पछिल्लो समय नेपालीहरूको प्रतिव्यक्ति आम्दानी पनि बढेको छ भने ज्याला तथा तलब सूचकांक पनि बढेको छ ।
नेपाल उद्योग वाणिज्य महासंघकी अध्यक्ष भवानी राणाले उपभोक्ता र व्यवसायी दुवैका लागि दसै उपयुक्त अवसर भएको बताउँछिन् । खाने लगाउने, पिउनेदेखि उपहारका सामानहरू दसैंमा धेरै किन्ने नेपालीमाझ रहेकाले यसले समग्र अर्थतन्त्रमै सकारात्मक प्रभाव पार्ने उनको भनाइ छ । “अहिले सबैतिर यति उति छुट भनेर लेखेको पाइन्छ, यसले उपभोक्ता मात्र नभएर व्यापारीलाइ पनि व्यापार गर्ने अवसरका रूपमा दसैं रहन्छ,” अध्यक्ष राणा भन्छिन, “अटोमोबाइल, फर्निचर, घर सजावट, कपडा, पुजा सामग्रीको बढी किनमेल हुन्छ ।” दसैंले गाउँको अर्थतन्त्रमा सुधार ल्याउने अध्यक्ष राणाको भनाइ छ । दसैंमा गरिने खर्चको मुख्य स्रोत भनेको वर्षभरिको बचत, तलब तथा भत्ता, ज्याला एवं विप्रेषण नै हुन् । दसैंका लागि भनेर भदौदेखि नै विदेशमा बस्ने नेपालीले विप्रेषण बढी पठाउने गरेको पाइन्छ भने । सरकार र निजी क्षेत्र दुवैले कर्मचारीलाई दसैं भत्ताबापत अतिरिक्त सुविधा उपलब्ध गराउँछन् ।
हाल औपचारिक क्षेत्रमा करिब ४ लाख कर्मचारी रहेको र अनौपचारिक क्षेत्रमा त्यसको दोब्बर अर्थात् १० लाख कर्मचारी रहेको अनुमान छ । दसैंको उपभोगमा पछिल्लो समय रेमिट्यान्सको ठूलो भरथेग देखिने अर्थशास्त्रीहरू बताउँछन् । दसैंमा हुने अत्यधिक खर्चले भने दसैंपछिको महिनामा बजारमा मूल्य वृद्धि हुने गरेको देखिन्छ । यस्तै, राष्ट्र बैंकले पनि दसैंका लागि नयाँ नोट बजारमा ल्याउने र बैंक तथा वित्तीय संस्थाबाट पनि बढी रकम बाहिरिने हुनाले बजारमा अत्यधिक तरलता हुने गरेको छ । दक्षिणाका रूपमा प्रयोग हुने नयाँ नोट उपयोग गर्ने आम नेपालीको रुचि हुने गरेको पनि पाइन्छ । दसैंका लागि सबैजसो व्यापार व्यवसायले सानो होस् वा ठूलो कुनै न कुनै छुट योजना ल्याएका हुन्छन् । दसैंलाई थप रमाइलो र सामिप्यता थप्ने दूरसञ्चार सेवा प्रदायक कम्पनीहरूले एसएमएस तथा कलमा समेत छुट योजना ल्याउँछन् । दसैं समान्य घरपरिवारदेखि व्यापारिक घरानासम्म खुसीको पर्वका रूपमा मनाउने गरिन्छ ।
दसैं अर्थतन्त्रमा ग्रामीण उत्पादनदेखि आयातित वस्तुसमेतको उत्तिकै प्रयोग हुन्छ । किसानले उत्पादन गरेका पशुपन्छी तथा खाद्यान्नदेखि आयातित मदिरा, लत्ताकपडालगायतको उपभोग बढी हुने गर्दछ । मिठो खाने, राम्रो लगाउने भनिने यो पर्व कसैका लागि भने ऋणको बोझसमेत बन्ने गरेको छ । यसैले, चाडपर्व मनाउँदा आफ्नो गच्छेअनुसारमात्र मनाउनुपर्छ ।
 

प्राप्त प्रतिकृयाहरू

To Top