काठमाडौं आउने १० चक्के ट्रक नारायणगढमै रोकिने, ठूला सवारी राति ९ बजेपछि मात्र  

समाज असोज १० २०७६ ekhabarnepal
Traffic jam nepal gajg3h8eg8

काठमाडौं,असोज १०
 दशैंको लागि उपत्यकाबाट बाहिरिने यात्रुको सुविधालाई ध्यानमा राख्दै पृथ्वी राजमार्गमा ठुला सवारीसाधनलाई निषेध गरिने भएको छ ।
  जाममै परेर शुक्रबार बिहान मात्रै नागढुङ्गा-नौबिसे सडकखण्डमा एक विरामी यात्रीको मृत्यु भएपछि यस्तो ब्यवस्था गरिएको हो । 
रौतहटबाट उपचारका लागि काठमाडौं आउँदै गरेका गरुडा नगरपालिका-८ का ३५ वर्षीय रुपलाल साहको शुक्रबार बिहान पृथ्वीराजमार्गस्थित महादेवबेँसी बजारमा जाममा परेको बेला मृत्यु भएको धादिङ प्रहरीले जनाएको छ। 

यात्रुको सुरक्षालाई ध्यानमा राख्दै ठुला सवारीसाधनलाई प्रवेश निषेध गर्न लागिएको महानगरिय ट्राफिक प्रहरी महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरिक्षक भिमदत्त ढकालले जानकारी दिए ।  
१० चक्के गाडी निषेध
 प्रहरीले  थानकोट नाकालाई सहज बनाउन १२ गते देखी १८ गतेसम्म १० चक्का भन्दा माथीको गाडीलाई काठमाडौं आउन निषेध गरेको छ। यातायात विभागसँग समन्वय गरेर यस्तो निर्णय गरिएको प्रमुख ढकालले बताए। अब मालवाहक सवारीसाधन नारायणगढमै रोकिने छन्। 
उनका अनुसार, काठमाडौं आउने १० चक्के सवारी साधनलाई नारायणगढमै रोकिने भएको छ । 

ठुला सवारी साधनका कारण राजमार्गमा पछिल्लो समय सवारी जाम बढ्दै गइरहेको छ ।

चाडपर्वका समयमा सवारीको चाप बढी हुने र ठूला सवारीकै कारण जाम बढ्ने भएकाले उनीहरूलाई रोकिन लागिएको वरिष्ठ उपरिक्षक ढकालले बताए । 

यस्तै शुक्रबार रातिदेखि नै धादिङबाट काठमाडौं आउने ठुला सवारी साधन रोकिने भएका छन् । राति ९ बजेपछि मात्रै ठुला मालवाहक सवारी साधनलाई काठमाडौं प्रवेश गर्न दिइने ट्राफिक प्रहरीले जनाएको छ । 

थानकोटस्थित उकालो सडकका खाल्डाखुल्डीले गाडी फस्दा जाम ह्वात्तै बढेको प्रमुख ढकालले जानकारी दिए। 'ती खाडलमा प्रहरीले बालुवा हालेर पुरेको छ। त्यसपछि सवारी आवागमन सहज हुन थालेको छ,' ढकालले भने।
 
जनशक्ति थपियो
 थानकोटको जाम हटाउन ट्राफिक महाशाखाले इनसपेक्टरको कमाण्डमा १५ जना ट्राफिक थप गरेको छ। यस्तै जामका कारण लुटपाट हुन सक्ने भन्दै सादा पोशाकमा प्रहरी खटिइसकेका छन्। सडकमा सवारी दुर्घटना र सवारी बिग्रेर जाम हुने अर्को समस्या छ। यसका लागि ट्राफिक महाशाखाले ४ वटा र्‍याकरको व्यवस्था गरेको छ। उक्त र्‍याकरले चार दिनमा ८९ वटा गाडीलाई व्यवस्थापन गरेको प्रमुख ढकालले जानकारी दिए। सवारी ट्रफिक नियम कडाइका साथ पालना गरे नगरेको अनुसन्धान गर्न ट्राफिक महाशाखाले मोटरसाइकलबाट पनि चेकजाँच गरिरहेको छ। 
 होटलको मनपरी जामका कारण यात्रुलाई सास्ती एकातिर छदैँछ। अर्कोतिर राजमार्गमा खोलिएका होटल तथगा गेस्ट हाउसले पनि खानाको मूल्य बढाएका छन्। यात्रुले खानाका लागि चर्को मूल्य तिर्नुपरेको छ। 
 

प्राप्त प्रतिकृयाहरू

To Top