चिनियाँ राष्ट्रपति सीको नेपाल भ्रमण निश्चित

समाज असोज ४ २०७६ ekhabarnepal
President in china

काठमाडौं, असोज ४ । चिनिया राष्ट्रपति सी जिनपिङ असोज अन्तिम साता नेपाल भ्रमणमा आउने तय भएको छ । नेपाल र चीनबीच कूटनीतिक च्यानलमार्फत भएका छलफलमा राष्ट्रपति सी दुई दिनका लागि नेपाल आउने हुनुभएको हो । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको निमन्त्रणामा असोज २४ गते भारत जान लाग्नुभएका चिनिया राष्ट्रपति सी त्यहाँको भ्रमण सकेर फर्कने क्रममा नेपालको भ्रमण गर्नुहनुे भएको हो ।

उहाँ एक रात काठमाडौं बसेर बेइजिङ फर्किने कार्यतालिका तयार भएको छ । तर, दुवै पक्षले अहिलेसम्म मिति भने खुलाएका छैनन् । प्रधानमन्त्रीका परराष्ट्र मामिला सल्लाहकार डा. राजन भट्टराईले चिनियाँ राष्ट्रपति आउने पक्का भइसकेको भएपनि मिति तय हुन बाँकी रहेको बताउनु भयो । सीको भ्रमणका क्रममा केरुङ–काठमाडौं रेल निर्माणसम्बन्धी घोषणा गर्न नेपालले चीनसँग प्रस्ताव गरिसकेको छ ।

स्रोतका अनुसार यसबारे दुई मोडलमा छलफल भइरहेको छ । पहिलो, चीनले रेलमार्ग निर्माणको घोषणा गरिदिनुपर्ने र दोस्रो, नेपालले सांकेतिक रूपमा १० प्रतिशत सफ्ट लोन लिने तथा ९० प्रतिशत रकम चीनले अनुदानमा दिनुपर्ने प्रस्ताव छ । रेलमार्गको सम्भाव्यता अध्ययनका लागि नेपाल र चीनका रेलवे अधिकारीबीच वार्ता भइरहेको छ । सम्भाव्यता अध्ययन र विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) तयार गर्न आवश्यक लगानी चीनले नै गरिदेओस् भन्ने नेपालको चाहना व्यक्त भइसकेको छ । यसमा चीनसँग सहमति भइसकेको छैन । चीनले बराबरी रकममा अध्ययन गर्न प्रस्ताव गरेको छ । डिपिआरको फाइनान्सिङ मोडालिटी (लगानी ढाँचा) टुंग्याउने र चिनियाँ सहयोगमा रेलमार्ग निर्माणको घोषणा यसपटक हुन सक्नेसंभावना छ ।

चीनबाट राष्ट्रपतिस्तरको नेपाल भ्रमण २३ वर्षपछि हुन लागेको हो । सी नेपाल आउने तेस्रो चिनियाँ राष्ट्रपति हुनेछन् । चीनका तत्कालीन राष्ट्रपति जियाङ जमिनले २०५३ मंसिर १९ र २० गते नेपालको राजकीय भ्रमण गर्नुभएको थियो । उहाँपछिका राष्ट्रपति हु जिन्ताओले नेपाल भ्रमण गर्नुभएन ।

अर्का चिनियाँ नेता आउँदै

सी भ्रमणको तयारीकै सिलसिलामा चिनियाँ कम्युनिस्ट पार्टीको अन्तर्राष्ट्रिय समन्वय विभाग प्रमुख सोङ ताओलगायतको टोली आज काठमाडौं आउँदै छ । चिनियाँ टोली र नेकपाका नेताबीच आइतबार र सोमबार अन्तरक्रिया हुनेछ । चीनको विकास, चिनियाँ कम्युनिस्ट पार्टीको वर्तमान अवस्था, महासचिव सी जिनपिङको अवधारणाबारे चिनियाँ नेताले अनुभव सुनाउने कार्यक्रम रहेको छ । चिनियाँ टोलीले राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री ओलीसँग वेग्लै भेटवार्ता पनि गर्नेछ ।

प्राप्त प्रतिकृयाहरू

To Top