तिलोत्तमा लगानी सम्मेलन : ५० अर्ब लगानी भित्राउने लक्ष्य

राजनीति भाद्र २६ २०७६ ekhabarnepal
Tilottama 1

सातै प्रदेशका मुख्यमन्त्री र अर्थमन्त्री जुट्दै
 
बुटवल, भाद्र २६
 स्थानीय तहहरुमा लगानीमैत्री वातावरण बनाउन प्रदेश सरकारको भूमिका सम्बन्धमा छलफल गर्न सातै प्रदेशका मुख्यमन्त्री र आर्थिक मामिला तथा योजना मन्त्रीहरु रुपन्देहीको तिलोत्तमामा जमघट हुने भएका छन् ।
असोज ९ गते तिलोत्तमाको टाइगर प्यालेस रिसोर्टमा आयोजना हुने सम्मेलनमा सातै प्रदेशका मुख्यमन्त्री र अर्थमन्त्रीबीच लगानी भित्राउने सम्बन्धमा संयुक्त छलफल गर्न जम्मा हुने कार्यक्रम तय भएको हो । 
उक्त सम्मेलनमा संघीय सरकारका अर्थमन्त्री डा. युवराज खतिवडा र संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराई, उद्योग वाणिज्य महासंघका पुर्व अध्यक्ष सुरज वैद्य लगायतको पनि सहभागिता रहने छ ।

‘सम्मेलनको अघिल्लो सांझ सबै मुख्यमन्त्रीहरुबीच संयुक्त छलफल हुन्छ,पांचजना मुख्यमन्त्री आउने निश्चित भइसक्यो,कर्णाली र सुदूरपश्चिमका मुख्यमन्त्रीसंग पनि सम्पर्क हुंदैछ’–लगानी सम्मेलनका संयोजक बासुदेव घिमिरेले भने–‘सम्मेलनको दिन संघीय अर्थमन्त्री, पर्यटन मन्त्री र सातै प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्रीहरुबीच छलफल हुन्छ ।’सम्मेलनका दिन हुने छलफलमा प्रदेश १ का आर्थिक मामिला तथा योजना मन्त्री इन्द्रबहादुर आङबो,२ का विजयकुमार यादव,३ का कैलाश ढुंगेल,गण्डकीका किरण गुरुङ, ५ का शंकर पोखरेल, कर्णालीका प्रकाश ज्वाला र सुदूर पश्चिमका झपट बोहराले भाग लिनेछन् । 
समूहगत छलफलमा संघीय सरकारका अर्थमन्त्री खतिवडा र पर्यटन मन्त्री भट्टराईसहित राष्ट्रिय योजना आयोगका पुर्व उपाध्यक्ष शंकर शर्मा, शहरी विकास मन्त्रालयका सचिव मधुसुदन अधिकारी, एशियाली विकास बैंकका पुर्वाधार योजना विज्ञ कमल पाण्डे, लगानी बोर्डका प्रिन्सिपल म्यानेजर घनश्याम ओझा र लगानी बोर्डकै सहसचिव बलराम रिजाल लगायत नीजि क्षेत्रका उद्योगी व्यवसायीहरु पनि सहभागी हुने लगानी सम्मेलन सचिवालयका संयोजक कृष्णप्रसाद सापकोटाले जानकारी दिए ।

सम्मेलनलाई पुर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, अर्थमन्त्री युवराज खतिवडा, संघीय सांसदहरु घनश्याम भुसाल,विष्णु पौडेल, बालकृष्ण खांण लगायतले सम्बोधन गर्ने कार्यक्रम छ । सम्मेलनमा कृषि, पर्यटन, उद्योग र यातायात क्षेत्रमा लगानीका संभावना र चुनौतिका समूहगत छलफल हुने छ । छलफलमा प्रदेश ५ का पर्यटन मन्त्री लिला गिरी, भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री आरती पौडेल लगायत सहभागी हुनेछन् ।
 सम्मेलनमा नेपाल, भारत र चीनसहित विदेशी मुलुकबाट समेत गरी पांच सय जना लगानीकर्ता सहभागी हुने लक्ष्य राखिएको तिलोत्तमा नगरपालिकाका प्रवक्ता सुरेन्द्र श्रीले बताए । लगानी सम्मेलनलाई लक्षित गरी ६ लेन सडकको दायां बांया सरसफाई लगायतका तयारीका काम अन्तिम चरणमा पुगेको प्रवक्ता श्रीले बताए । 
सम्मेलनबाट ५० अर्ब लगानी भित्रिने आयोजकको लक्ष्य छ । सम्मेलनमा कृषि,पर्यटन,उद्योग,यातायात,फोहोरमैला व्यवस्थापन लगायतका २२ वटा परियोजनाका स्टल रहनेछन् । लगानीकर्तालाई नीतिगत सहयोग, जग्गा उपलब्ध गराउनेदेखि आयकरमा निश्चित अवधिसम्मका लागि शतप्रतिशतसम्म छुटको व्यवस्था गरिएकाले उत्साहजनक लगानी भित्रिने अपेक्षा गरिएको सम्मेलनका सहसंयोजक दुर्गाप्रसाद पाण्डेले बताए ।
 

प्राप्त प्रतिकृयाहरू

To Top