चिनियाँ विदेशमन्त्री वाङ यी आज आउँदै

राजनीति भाद्र २२ २०७६ ekhabarnepal
Wang yi1


आर्थिक विकाससँग चीनसँगको साझेदारीमा सोमबारको द्विपक्षीय छलफल केन्द्रित हुने 
काठमाडौँ, भदौ २२ गते । चीनका विदेशमन्त्री वाङ यी नेपालको तीनदिने औपचारिक भ्रमणमा आइतबार आउँदै हुनुहुन्छ । उहाँलाई परराष्ट्र मन्त्रालयका सचिव शङ्करदास बैरागीसहितको उच्चस्तरीय टोलीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गर्ने कार्यक्रम छ ।
राष्ट्रपति विद्यादेवी भण्डारीसँग आइतबार उहाँको शिष्टाचार भेट हुने छ । त्यस्तै प्रधानमन्त्री केपी शर्मा ओलीसँग पनि शिष्टाचार भेट हुने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयका प्रवक्ता भरतराज पौडेलले जानकारी दिनुभयो । चार वर्षको अन्तरालमा नेपालमा चीनका उच्चस्तरीय नेताको भ्रमण हुन लागेकाले त्यसको सम्पूर्ण तयारीमा उच्चस्तरीय सरकारी निकाय तथा परराष्ट्र मन्त्रालय जुटेको छ ।
“हाम्रोतर्फबाट हुने सबै तयारी पूरा भएको छ”, मन्त्रालयस्थित द्विपक्षीय सम्बन्ध हेर्नुहुने सहसचिव कालीप्रसाद पोखरेलले भन्नुभयोे, “नेपाल–चीन सम्बन्धलाई नयाँ आयाम दिन यो भ्रमण सफल हुने आशा राखेका छौँ । ” उहाँका अनुसार सोमबार हुने परराष्ट्रमन्त्रीस्तरीय द्विपक्षीय प्रतिनिधिमण्डलको वार्तामा नेपाल र चीनसँग जोडिएका समग्र विषयको एजेन्डा बनाइने छ । पहिले दुई देशबीच के के सम्झौता भए र अब कसरी अघि बढ्ने भन्ने मामिलामा गहन छलफल हुने उहाँले बताउनुभयो ।
मन्त्रालयको तयारी शनिबार अबेरसम्म पनि परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीको नेतृत्वमा चलेको उहाँका प्रेस सल्लाहकार सुदन ज्ञवालीले जानकारी दिनुभयो । मन्त्री ज्ञवालीले शनिबार सञ्चारकर्मीसँग कुरा गर्दै नेपालको आर्थिक विकाससँग चीनसँगको साझेदारीमा सोमबारको द्विपक्षीय छलफल केन्द्रित हुने प्रतिक्रिया दिनुभयो ।
नेपाल–चीनका समग्र पक्षमा हुने छलफलमा विगतका सम्झौताका प्रगति तथा त्यसको कार्यान्वयनका विषयमा अनुभव साटासाट हुने जनाइएको छ । परराष्ट्रमन्त्री ज्ञवालीले नेपालले चीनको उच्च राजनीतिक नेतृत्वको भ्रमणको प्रतीक्षा गरिरहेको बताउनुभयो ।
“चिनियाँ अधिकारीहरूलाई हामीले के भनेका छौँ भने नेपाल भ्रमण गर्नका लागि यो उपयुक्त अवसर हो”, मन्त्री ज्ञवालीले भन्नुभयो । उहाँले लामो सङ्क्रमणकाल टुङ्गो लगाएर देशमा दह्रो राजनीतिक स्थायित्व हासिल गरेको र आर्थिक विकासमा अघि बढेका बेला चीनको उच्च नेतृत्वको भ्रमण हुन सके त्यो नेपालका लागि निकै उत्साहको विषय हुने बताउनुभयो । चीनका अधिकारीहरूले यस विषयमा आफूहरू जानकार रहेको र उपयुक्त समयमा चीनको उच्च राजनीतिक नेतृत्वको भ्रमण हुने आश्वासन दिएको तर समयसीमा तय नभएको जानकारी उहाँले दिनुभयो ।
“परराष्ट्रमन्त्रीस्तरीय द्विपक्षीय वार्तामा आर्थिक साझेदारी र विकास साझेदारी, रेलमार्गका विषयमा हामी छलफल गर्छौं”, उहाँले भन्नुभयो । यसबाहेक दुईपक्षीय हित, अन्तर्राष्ट्रिय चासोका विषयमा समेत दुईपक्षीय वार्तामा छलफल हुने जानकारी मन्त्री ज्ञवालीले दिनुभयो । “विश्वको दोस्रो ठूलो अर्थतन्त्र र विकास साझेदार भएको मुलुकबाट नेपालले के फाइदा लिन सक्छ भन्ने विषयमा पनि हामीले सोच्नुपर्ने छ”, मन्त्री ज्ञवालीको भनाइ छ ।
दिने विषयमा पनि ध्यान दिनुपर्छ
कुनै पनि देशको द्विपक्षीय सम्बन्धले दुवै देशको समान हैसियत रहेको प्रस्ट पार्छ । त्यसैले चीनका विदेशमन्त्रीको नेपाल भ्रमणका क्रममा नेपालले लिने मात्र हैन दिने विषयको पनि एजेन्डा बनाउनुपर्ने पूर्वपरराष्ट्रमन्त्री महेन्द्रबहादुर पाण्डेले गोरखापत्रलाई बताउनुभयो ।
“उतिबेला चीनमा नेपालको खाद्यान्न र मरमसला निर्यात हुन्थ्यो, आज खाद्यान्न पठाउन सक्ने अवस्थामा नेपाल नभए पनि केही न केही नेपालबाट जान्छ”, पाण्डेले भन्नुभयो, “जसरी चिनियाँ वस्तु आइरहेको छ, त्यसरी नै नेपालले आफ्नो व्यापार सन्तुलनको प्रयास वार्ताका क्रममा गर्न सक्नुपर्छ । ” उहाँका अनुसार चीनको नेपालसँग धेरै आशा छैन तर पहाडी खेती र जडीबुटी उत्पादन गरेर उसको माग नेपालले पूरा गर्न सक्छ ।
चीन–नेपाल सम्बन्ध भोटको नुन र सुनको व्यापारको समयदेखि रहेकाले यो नयाँ हैन । चीनसँगको सम्बन्धमा कुनै विवाद नआउनु निकै सकारात्मक पक्ष रहेको पाण्डे औँल्याउनुहुन्छ । “भौगोलिक हिसाबले अग्लो चुचुरोले जोडिएकाले त्यसमा कुनै विवाद नै छैन”,
उहाँ थप्नुहुन्छ, “आर्थिक रूपमा चीनले धेरै अघिदेखि सहयोग र सहकार्य गरेकै हो । ”
चीनले पहाडी खेती तथा शिक्षाको नवीकरणमा अहिले पनि सघाइरहेको उहाँले बताउनुभयो । उहाँका अनुसार पहिले पहिले नेपाली चीनमा अध्ययन गर्न नजाने परम्परा तोड्दै यति बेला चीनले चिनियाँ र अङ्ग्रेजी दुवै भाषामा नेपाली विद्यार्थीलाई अध्ययन गर्न छात्रवृत्ति सहयोग गरिरहेको छ । ” चीनमा यति बेला ३५ सय विद्यार्थी अध्ययन गरिरहेका छन् ।
“भूकम्पपछि पुनःनिर्माणका लागि चीनले सम्पदा पुनःनिर्माणमा मुख्य भूमिका निर्वाह गरेको तथ्य बिर्सनु हुन्न”, उहाँ भन्नुहुन्छ, “त्यसका लागि धन्यवाद भन्नैपर्छ । ” वसन्तपुर दरबार, दरबार हाइस्कुल, नुवाकोटको दरबार तथा विद्यालय पुनःनिर्माणमा दत्तचित्त भएर काम गरिरहेको उहाँले प्रस्ट्याउनुभयो ।
अझ नेपालमा भिजिट नेपाल २०२० का लागि १० लाख पर्यटक चीनबाटै ल्याइदिने चीनको अभिव्यक्तिले त्यो सफलतामा पनि महŒवपूर्ण साझेदारीको पहल गरिरहेकाले उसलाई साथ दिनुपर्ने दायित्व नेपालको हुन आउने पाण्डेको भनाइ छ ।
संस्कार र संस्कृतिकै आदानप्रदानमा पनि पछिल्लो समय दुई देशका राजदूतले राम्रो भूमिका निर्वाह गरेकाले सम्बन्धमा अझ प्रगाढता आएको उहाँले बताउनुभयो ।
“नेपाली गीतमा चिनियाँ राजदूत छमछमी नाच्नुहुन्छ, त्यो जत्तिको अपनत्व के हुन्छ”, पाण्डे सम्झाउनुहुन्छ, “त्यो आयामलाई अझ परिस्कृत गर्ने उपाय यस भ्रमणका क्रममा गरिनुपर्छ । ”
चीनले अघि सारेको सिल्करोड अर्थात् बीआरआई परियोजनामा संलग्न भएकाले नेपालले भविष्यमा ठूलो लाभ लिनसक्ने आकलन उहाँले गर्नुभयो । “त्यो बाटो युरोप पुग्दा नेपालसँग समुद्रको बाटो नभए पनि अमेरिका जाँदा त्यही बाटो प्रयोग गर्न पाउने अवसर मिल्ने छ”, उहाँ भन्नुहुन्छ, “कुनै पनि देश एक्लै हिँडेर सफल हुँदैन, सार्वभौम रूपमा सुरक्षित पनि हुँदैन र विकास गर्न पनि सक्दैन । त्यसैले चीनको साथ नेपालले छाड्नु हुन्न । ”
चिनियाँ विदेशमन्त्री वाङ चिनियाँ कम्युनिस्ट पार्टीकै सात उच्च नेतामध्येका एक नेता भएकाले चीनका राष्ट्रपति सी जिनपिङलाई नेपाल भ्रमणमा ल्याउन आश्वस्त पार्नुपर्ने उहाँले सुझाउनुभयो । “चिनियाँ राष्ट्रपति नेपाल आउनु भनेको भ्रमण गर्नु मात्र नभएकाले त्यो धेरै ठूलो सन्देश विश्वमञ्चमा जाने माध्यम हो”, पूर्वमन्त्री पाण्डेले भन्नुभयो, “यसले नेपालको सामाजिक तथा राजनीतिक सम्बन्ध बलियो बनाउँछ । ”

प्राप्त प्रतिकृयाहरू

To Top