कांग्रेसको जागरण अभियानमा संविधान दिवस मनाउने र ३५ हजार बिरुवा राेप्ने  

राजनीति भाद्र १९ २०७६ ekhabarnepal
Congress nepali cc

काठमाडौं, भदौ १९
भदौ २४ देखि शुरु हुने १५ दिने जागरण अभियानमा नेपाली कांग्रेसले ३३० केन्द्रीय प्रतिनिधि पठाउने तयारी गरेको छ । ‘हिमाल, पहाड, तराई–मधेश नेपाली कांग्रेस राष्ट्रिय जागरण अभियान’ नाम दिएर दोस्रो चरणको अभियान चलाइने कांग्रेसले जनाएको छ ।

पार्टी केन्द्रीय मुख्यालय सानेपामा आयोजित पत्रकार सम्मेलनमा प्रवक्ता विश्वप्रकाश शर्माले कांग्रेसले मुख्यगरी तीन विषयलाई महत्वका साथ अभियानमा लैजाने जानकारी दिए ।

उनका अनुसार, ३ असोजमा कांग्रेसले भव्य रुपमा संविधान दिवस मनाउने छ । संविधान दिवस मनाउन पनि कांग्रेसले नारा तय गरेको छ ।

‘कांग्रेसले गरेको नेतृत्व, संविधानका विशेषता र आजको दायित्व विषयक’ नारासहित गाउँ, नगर र चोक–चोक दीप प्रज्वलन गर्ने निर्णय कांग्रेसले गरेको छ।

जागरण अभियानका लागि प्रदेश निर्वाचन क्षेत्र स्तरीय सभाका लागि केन्द्रबाटै ३३० प्रतिनिधि खटाइने भएको छ । २५ वैशाखदेखि एक महीना चलेको पहिलो चरणको अभियानमा ७७ जिल्लामा कार्यक्रम आयोजना गरिएको थियो।

जागरण अभियानको अर्को विशेषता भनेको केन्द्रीय कम बोल्ने तर, कार्यकर्ता र जनताले भनेको सुन्नुपर्नेछ । “बोल्ने कम, सुन्ने बढी प्रकृतिका कार्यक्रम निर्धारण गरिनेछ”, प्रवक्ता शर्माले भने ।

यस पटक कांग्रेसले बीपी जयन्तीको प्रतीक स्वरुप १०६ बिरुवा प्रत्येक प्रदेशको निश्चित क्षेत्रमा रोप्नेछ भने एकै दिन ३४ हजार ९८० बिरुवा रोप्ने भएको छ ।

जागरणको अन्तिम दिन ७ असोजमा बढ्दो महङ्गी, भ्रष्टाचार (वाइडबडी, न्यारोबडी प्रकरणलगायत), बढ्दो महिला हिंसा, बलात्कार र हत्या, अलोकतान्त्रिक भनिएका विधेयक र कुशासनका विरुद्ध जिल्लास्तरीय विरोध प्रदर्शन र सभा गरिने उनले बताए।

जागरणसभाको अन्त्य पनि ७ असोजमा हुनेछ । त्यसदिन महँगी, भ्रष्टाचार लगायत बेथिति विरुद्ध ७७ जिल्लामा कार्यक्रम आयोजना गर्ने कांग्रेसले तयारी गरेको छ ।

 

प्राप्त प्रतिकृयाहरू

To Top