कृषि र पर्यटनवाट गरिवी हटाउने चिनिया मोडलं–३

समाज भाद्र १८ २०७६ ekhabarnepal
%e0%a4%af%e0%a4%b8%e0%a4%b0%e0%a5%80 %e0%a4%b5%e0%a4%a8%e0%a5%8d%e0%a4%a6%e0%a5%88%e0%a4%9b %e0%a5%a9%e0%a5%a6 %e0%a4%85%e0%a4%b0%e0%a4%b5 %e0%a4%af%e0%a5%82%e0%a4%af%e0%a4%be%e0%a4%a8%e0%a4%95%e0%a5%8b %e0%a4%9f%e0%a4%be%e0%a4%b5%e0%a4%b0

डी.आर.घिमिरे
ब्यावसायिक सरकारी कम्पनी ः

कम्पनी भन्दासाथ नीजि हो कि भन्ने लाग्छ हामीलाई । तर, चिनमा सरकारी कम्पनीलेनै प्रायः निर्माणका काम गर्दोरहेछन् । एकीकृत ग्रामीण विकासको काम गर्ने कम्पनी त्यस्तै प्रकारको हो । अर्को एउटा आवास निर्माण गर्ने गान्सु योंगखुन रियल स्टेट डेभलपमेण्ट कम्पनी रहेछ । त्यसले लान्चुको पूरै शहरको निर्माण गर्दै थियो । उनीहरु योजना पूरा गर्न कसरी तयारी गर्दो रहेछन् भन्ने प्रारुप हामीले हेर्यौं । वास्तवमै त्यो हेर्दा चमत्कार जस्तो लाग्छ । काम गर्ने तरिका, उनीहरुको खटाई, मेहनत र जिम्मेवारीलाई पूरा गर्ने कार्ययोजना हेर्दा यस्तो लाग्दछ कि उनीहरु मिनेट मिनेटको हिसाव गरेर काम गर्दछन् । 
पहिलो चरणमा ४७ विगाहा र दोश्रो चरणमा १७ विगाहामा वस्ती विकास गरिदै रहेको नक्सा हेर्दा यस्तो लाग्छ कि मानौं स्वर्ग भनेको यही हो । १७ विगाहामा १६८० परिवार वसाल्ने योजना रहेछ र त्यहाँ ३१ प्रतिशत क्षेत्र हरियालीका लागि राख्नैपर्ने रहेछ । घरवस्ती का लागि अनुत्पादक र काम नलाग्ने पहाडी क्षेत्र रोज्ने रहेछन् । पूर्वाधार नवनाइकन कसैले घर वनाएर वस्न पाइने रहेनछ । हामीकहाँ वस्ती वसेर पूर्वाधार वन्छ भने त्यहाँ पूर्वाधार वनेर मात्र वस्ती वस्छ । हरेक शहरमा संसारकै ध्यान आकर्षण गर्ने केही न केही वनाउँछन् जस्तो लाग्यो मलाई । यो मैले गरेको अनुभूति हो । यति पिछडिएको ठाउँमा पनि एउटा यस्तो भवनको नक्सांकन गरिएको थियो कि जसको लागत ३० अरव यूयान हो । केन्द्र भागमा ५ शय मिटर अग्लो टावर र साइडमा तीन तीन शय मिटरका दुइवटा टावर वनाउने योजना कार्यान्वयन हुँदासाथ त्यो स्वतः अन्तर्राष्ट्रिय महत्वको वन्छ । त्यही कामको लागि डिजाइन सकिएको देख्यौं हामीेले ।    
चीनमा रहेका १० तिब्बती स्वायत्त प्रदेशहरु मध्ये कान्नान पनि एक हो । यही प्रिफ्रक्चरसंग सैनामैनाले भगिनी सम्वन्ध कायम गर्ने कुरामा विभिन्न चरणमा वार्ता भइरहेका छन् । यो तिब्बती पठारको उत्तरपूर्वी किनारामा अवस्थित छ । समुद्र सतह देखि १,१०० देखि ४५०० मिटर माथिसम्म रहेको यो स्वायत्त प्रदेशमा पहाड र हिमाल  रहेकोले अत्यन्तै सुन्दर छ । यसको औसत उचाई ३००० मीटर भन्दा बढी मानिन्छ । 
संयोगले सैनामैना र हामी अर्थात् सियारीको टोली एकैपटक सो ठाउँमा गएका थियौं । सैनामैनाका मेयर चित्रवहादुर कार्कीको नेतृत्वमा गएको टोली र हामी चौथो रेशम मार्ग अन्तर्राष्ट्रिय सस्कृति प्रदर्शनी तथा नवौं पर्यटन महोत्सवको उद्घाटन समारोहमा संगै थियौं । यद्यपि त्यसपछि भेटघाट हुन सकेन । तर, उहाँहरुले त्यहाँको राम्रो र स्वायत्त कान्नानसंग वढाउन खोजेको सम्वन्धले आगामी दिनमा धेरै लाभ लिन सक्ने सम्भावना छ । 
कान्नान शहर परम्परागत जस्तो लाग्छ । भर्खरै निर्माणाधीन अवस्थामा रहेकोले होला आधुनिक भवनहरु वन्दै गरेका छन् । अहिले जे वन्दै छन् ती चर्चा गर्ने लायकका वन्दै छन् । दुइ रात हामी वसेको होटल पूरै सल्लाको काठवाट इन्टेरियर गरिएको जस्तो लाग्दथ्यो । हरेक होटलमा केही न केही फरक विशेषता पाइथ्यो । हस्पिटालिटी उद्योगमा नयाँपन दिन सकिएन भने त्यसले आकर्षण दिन सक्दैन भन्ने कुराको आभाष मैले मात्र हैन टिमका सवै साथीहरुले गरे ।
डाँडाभरि मानिसको ताँतीः
महोत्सवको औपचारिक समारोहको अर्कोदिन साँस्कृतिक प्रस्तुति थियो । त्यस दिन पूरै शहरले विदा लिएर कार्यक्ममा आएका थिए । खासगरि गाउँतिरवाट झण्डा लिएर वालवच्चा वोकेर महिला, पुरुष, युवा युवती सवै उमेर समूहका ब्यक्तिहरु आएका थिए । छिन छिनका पानी आउने र छिन छिनमा घाम लाग्ने भएकोले प्रायः छाता ओढेका देखिन्थे । डाँडाभरि छाता आढेका मानिस देखिन्थे । एक हिसावले ती सवै हाम्रै स्वागतमा आएजस्तो लाग्दथ्यो । शायद उनीहरुका लागि यो महान् चाड थियो ।
घाँसे मैदानमा जव कलेजका विद्यार्थी र अरुले विभिन्न पोशाकमा सजिएर प्रस्तुति दिन थाले सवै जना फोटो लिन आतुर देखिन्थे । घोंडा दौड देखि किसिम किसिमका नृत्य पालैपालो हेर्ने ब्यवस्था मिलाइएको थियो । देशी विदेशी पाहुनालाई वस्ने विशेष ब्यवस्था थियो । वरिपरिको  डाँडामा मानिसको ताँती थियो । अचम्म के भयो भने जव हाम्रो टोली कसैको नगिच पर्दथ्यो फोटो लिनेको घुइचो लागि हाल्थ्यो । पोशाकले वडो पहिचान दियो । शयौं युवा युवती र वृद्व वृद्वाहरुले फोटो खिचे । हाम्रा गाइडलाई एक हिसावले आपतै पर्यो ।
अन्तमा कलेज अफ गान्सु विश्वविद्यालयका ५ शय विद्यार्थीले एकैपटक नृत्य प्रस्तुत गरे । शयौं जनाको नाचमा पनि ताल र भवमा असंगति नहुनुले कति तालिमप्राप्त होलान् भन्ने लाग्दथ्यो । अर्थात् सवैजना फौजी स्टाइलमै देखिन्थे ।
घाँसे मैदान र पर्यटनको विकास ः
 शताब्दीयौंसम्म गान्सु प्रदेश चीन र मध्य एशियाको बीचको महत्वपूर्ण कोरिडोर थियो । त्यहाँ रेशम सडकको १६०० किलोमिटर खण्ड पर्दछ । भनिन्छ यो प्रान्त त्यस अन्तर्राष्ट्रिय मार्गको “सुन क्षेत्र“ मानिन्थ्यो । यसै प्रदेशको पर्यटकीय क्षेत्रमा एक दिन हामीहरु घुम्यौं । भेंडा चौरी पाल्ने ठाउँ अर्थात् करिव ४ हजार उचाइको क्षेत्रमा घुमघाम गरियो । असाध्यै सुन्दर घाँसे मैदान थियो । त्यस्तो पहाडी क्षेत्रमा कसरी घाँस उम्रने रहेछ भन्ने जिज्ञासा मनमा लागिरह्यो । त्यो क्षेत्रमा मौरी पालन गरेको पनि देखियो । 
सिजन भएरै होला पाल टाँगेर मानिस वसेका देखिन्थे । त्यति उचाइमा पनि पूर्वाधारको काम आकर्षक ढंगले गरिएको थियो । परम्परागत भेषभुषामा सजिएका आदिवासी जस्ता लाग्ने यी केही वस्तीले गरिवी रहेछ कि जस्तो लाग्यो । शायद उनीहरुले एकीकृत ग्रामीण क्षेत्रको विकास गर्न खोजको यही भएरै होला । एउटा शंखले पनि कैयौं पर्यटकलाई आकर्षित गर्न सक्दो रहेछ । अलि डाँडोमा शंखको आकार निकालेर वनाइएको सामान्य ठाउँमा पनि प्रसस्तै भिडभाडनै थियो । मुख्य कुरा वजारीकरणनै रहेछ । आफ्नो सस्कृति र सभ्यतालाई चिनाउने गरि कतिपय सामान्यजस्तै लाग्ने चिजलाई पनि प्रदर्शनी गर्ने हो भने पर्यटक त्यँही ओइरिने रहेछन् ।  
धेरै पुराना स्मारकहरू यस रेशम मार्गमा छरिएका छन् । मन्दिरहरू, मठहरू, शिवालयहरू, टावरहरू र प्राचीन दरबारहरू । यस बाहेक, यस प्रान्तमा चीनको महान पर्खालको पर्याप्त अंश छ, जसको भग्नावशेषले उनीहरूको आकारले प्रभावित गर्न सक्छ ।
यो क्षेत्र घोडा प्रजननको परम्पराका लागि प्रख्यात रहेछ । पहिलो पटक फार्महरू १०० ईसापूर्वमा देखा परेका थिए ।  त्यहीबाट घोडाहरू चीनभरि फैलिन थाले । गान्सुबाट आएका युद्धका घोडाहरू पुरानो चिनियाँ सेनाको सैन्य भागको मेरुदण्ड मानिने रहेछ ।
त्यहाँ विभिन्न धर्महरू बसोबास गरिरहेका छन । बौद्ध धर्म, इस्लाम, ईसाई धर्म, कन्फ्युसियानिज्म र ताओ धर्म । यो प्रान्त तिब्बतीहरु, हुइ मान्छेहरु, युगुरका मानिसहरु र मंगोलहरुद्वारा आबादित छ । 
राजधानी लान्झाउ २ हजार बर्ष भन्दा पुरानो शहर हो । यो गान्सु प्रान्तको मुटु हो किनकि यसले यसको केन्द्रिय भाग ओगटेको छ । 
चिनियाहरु खाना फाल्छन् ः
कुनैवेला कुपनको प्रयोग गरेर खाना खाने चिनियाहरु अहिले हरेक छाक खाना फाल्छन् जस्तो लाग्यो । उनीहरु खासगरि पाहुनालाई असाध्यै धेरै खाना मगाउने र त्यो नफालेसम्म चित्त नवुझाउने प्रवृत्ति रहेछ । खाना नफालेसम्म खाना पुगेको अर्थ नलाग्ने रहेछ । हामीसंग भएका जानकार साथीहरु यस्तै कुरा गर्दथे । यद्यपि यो सत्कारकै कुरा हो । शायद एक दुइ  वर्ष अघि होला राष्ट्रपति सि जिनपिङले आर्थिक सुधारको वार्षिकोत्सव कार्यक्रममा भनेका थिए– “गहुँका लागि कुपन, कपडाका लागि कुपन, मासुका कुपन, माछाका कुपन, तेल तोफुका कुपन र अन्य जुन पहिले पहिले अत्यावश्यक थिए, अब इतिहासमा मात्र बाँकी छन्,”। उनले वडो आत्मविश्वासका साथ भनेका थिए–“भोकको पीडा, तथा नाना र खानाको अभाव, अनि दुःख जसले हजारौँ वर्षदेखि हाम्रा मानिसलाई पिरोल्यो, ती अब गइसके र फर्कँदैनन्” । कुनै समय बँगुरको मासुलाई विशेष अवसरमा मात्र खाइने विलासी खाना मानिन्थ्यो भने अहिलेको तथ्यांकमा औसतमा प्रत्येक चिनियाँले वर्षको ४० किलो बँगुरको मासु उपभोग गर्न थालेका छन् ।
चिनियाँसंग अहिले यति धेरै पैसा छ कि उनीहरुलाई कसरी खर्च गर्ने भन्ने चिन्ता छ । विश्वमा विलासी वस्तुका सबभन्दा धेरै उपभोक्ता चिनियानै हुन् । भनिन्छ राजधानी बेइजिङ्गमा ३० करोड गाडी दर्ता छन् र मोटरसाइकलको दर्ता घट्दो छ । हरेक क्षेत्रमा यस्तै विकास छ । ४० वर्षमा उनीहरुको आयु ६६ वाट ७६ पुगेको छ । साक्षरता दर ६६ वाट ९५ पुगेको छ । विदेश घुम्ने क्रम उत्पातै वढेको छ । अरवौ डलर भ्रमणमा खर्च गर्न थालेका छन् । विदेश पढ्न जानेमा पनि चिनियानै सवैभन्दा धेरै छन् । हाइस्कुलकै शिक्षाका लागि अमेरिका जान थालेका केही ब्यक्ति हामीलेनै भेट्यौं ।
अर्थतन्त्रमा छलाङ्ग ः
चिनले धेरै कुरामा रेकर्ड राखेको छ । त्यसमध्ये चीन विश्वको यस्तो देश हो जोसँग सबैभन्दा बढी विदेशी मुद्रा सञ्चिति अर्थात् ३.१२ खर्ब डलर छ । अमेरिकी वैंकवाट चिनियाहरुले डलर निकाल्ने हो भने त्याहाँको अर्थतन्त्र हल्लिन्छ । विश्व अर्थतन्त्रमा ४० वर्ष अघि १.८ प्रतिशत हिस्सा भएको चीनले २०१७ मा १८.२ प्रतिशत हिस्सा ओगटेको थियो ।
सन् १९७८ देखि २०१६ को बीचमा चीनको जीडीपीमा ३,२३० प्रतिशतले वृद्धि भयो । त्यसबीचमा ७० करोड मानिस गरिबीको रेखाबाट माथि उठे र ३८.५ करोड मानिसहरू मध्यवर्गमा उठे । अचम्म के छ भने १९७८ तिर वर्षभरिमा गर्ने व्यापार अहिले दुई दिनमै गर्छ ।
 चिनियाँ सरकारले स्थानीय सरकार, निजी कम्पनी तथा विदेशी लगानीकर्ताबीच राम्रो समन्वय गर्न सकेका छन् । विदेशी लगानी भित्राउने कुरामा पनि उसले रेकर्ड वनाएको छ । खासगरि २०१४ पछि चीनमा वैदेशिक लगानीमा तीव्र वृद्धि भएको छ । हामीकहाँ लगानी गर्न आउनेहरुनै हतोत्साहित हुन्छन् तर चिनले विदेशी व्यापारलाई सहज बनाउन ७ हजार जति आफ्ना नियमहरू खारेज गरिसकेको वताइन्छ । र २०११ देखि करमा पनि औसत १० प्रतिशतले कटौती गरेको छ । 
 

प्राप्त प्रतिकृयाहरू

To Top