रवि प्रकरणमा धमिलो पानीमा माछा मार्ने दाउ 

बिचार भाद्र १० २०७६ ekhabarnepal
Dr ghimire

डी.आर.घिमिरे
पत्रकार शालिकराम पुडासैनीको आत्महत्या प्रकरणले अहिले मुुलुक तातेको छ । उनलाई आत्महत्या गर्न बाध्य पारेको आरोपमा टेलिभिजन कार्यक्रम सञ्चालक रवि लामिछाने, पत्रकार युवराज कँडेल र नर्स रुकु (अस्मिता) कार्की पक्राउ गरेर चितवन लगे पछि जिल्ला प्रहरी कार्यालय र जिल्ला अदालत वरपरको स्थिति कावु वाहिर पुगेको छ । स्थिति चितवनको मात्र हैन देशैभरि तात्दैछ । चितवनको राप र ताप बुटवलदेखि धनगढीसम्म पुगेको छ ।
कुनै ब्यक्तिले किटानीका साथ अभियोग दायर गरेपछि छानविन हुनु स्वयं आरोपित ब्यक्तिका लागि पनि आवश्यक हुन्छ । यसो गर्दा आरोपको कलंकवाट सदाका लागि निर्दोष हुन सकिन्छ । तर, विडम्वना शुरुका दिनमा छानविनमा सहयोग गर्छु भन्ने रविले त्यस प्रकारको भूमिका निभाउन सकेनन् । वरु भिडको पछि लागेर ‘सेन्टिमेन्ट क्याच’ गर्न खोजे । हिरासतभित्रै असुरक्षित भएको अभिब्यक्तिलाई यस कारणले विश्वास गर्न सकिन्न कि यति विधि चर्चामा आएको ब्यक्तिलाई प्रहरीले केही पनि गर्न सक्दैन । 
तैपनि जनता यति विधि अक्रोसित किन भए भनेर यो घटनाको सुक्ष्म विष्लेषण हुन आवश्यक छ । यसो गरिएन भने भविष्यका लागि पनि स्थिति विष्फोटक हुन सक्छ । त्यसैले सुदुर भविष्यका लागि पनि यसवाट शिक्षा लिनैपर्छ । 
रवि पत्रकार वा कार्यक्रम प्रस्तोता जे सुकै भएपनि सार्वजनिक रुपमा देखिएको सच्चाई के हो भने उनले वेथिति र भ्रष्टाचारका विषयलाई जसरी उठाएका थिए त्यसले एउटा उमेर समूहको समुदायलाई आकर्षित गरेको रहेछ र सरकारवाट असन्तुष्ठ जमातको भावनानालाई पनि उनले प्रतिनिधित्व गरेका रहेछन् ।
 तर, अहिलेको भिडले नवुझेको कुरा के हो भने हरेक सुन्दर वस्तुभित्र सडेका चिज पनि हुन सक्छन् । कैयौं साधु सन्तहरु वलात्कारका घटनामा मुछिएका हुन्छन् । भारतमा बाबा रामरहिम र बाबा आशारामका पछि करोडौं ब्यक्ति थिए । उनका अन्धभक्तहरु आत्महत्या गर्न तयार थिए । तर, कानुनको शासनका अघि कसैको केही लागेन । उनीहरु अहिले जेलमा सडेर वसेका छन् । के रविको मामलामा यस्तो हुन सक्दैन भनेर ग्यारेन्टी गर्न सकिन्छ ?भलै रविको मामलामा यो नहुन सक्ला । तर, कोहीप्रति औंला ठडिएपछि त्यसको निराकरण गहिराइमै पुगेर गर्नुपर्छ । 
 स्वयं रविले पनि महसूस गर्नुपर्छ कि स्वस्फूर्त रुपमा उठेको भिडले सच्चाइलाई पिछा गर्छ भन्ने छैन र न्याय दिन पनि सक्दैन । फेरि त्यस्तो भिडले दिने न्याय अन्तिम हुनै सक्दैन । विधि र प्रक्रियाले न्याय नदिएसम्म उनी अभियुक्तनै रहन्छन् । त्यसैले रविका खास सुभेच्छुकहरुले उनी  निर्दोष सावित होउन् भन्ने चाहना राख्ने हो भने यथाशीघ्र छानविन गरियोस् भन्नेनै हो । यसका लागि असहिष्णु वनेर हैन सहिष्णु वनेर आउनु वुद्विमानी हुन्छ । रविले पनि सुरुका दिनमा जसरी छानविनमा सहयोग पुर्याउने वचन दिएका थिए त्यसरीनै छानविनप्रति सहिष्णु वनेर आफुमाथि लागेको कलंकवाट मुक्त हुनुनै उत्तम विकल्प हो ।  
केही दिन यता युट्युब वा फेसवुकमार्फत् आएका समाचारले आतंक सृजना गरेका छन् । शयका शय प्रतिशत गलत सूचना प्रवाह गरिएका छन् । आखिरी यो सव किन भएको छ ? यसका पछाडिको कारण भनेको अस्थिरता सृजना गर्ने एवं सरकारलाई असफल पार्ने त होला तर, यति मात्र कारण हैन । 
घटनाले उठाएका प्रश्नहरु ः
यो घटनाले कतिपय प्रश्न अवश्यै उठाएको छ । खासगरि भिडियो किन सार्वजनिक भयो ? पक्राउ गर्ने प्रक्रिया पुगेन कि ? भिडले निर्णय सुनाउने काम ठिक हो कि हैन ? अनुसन्धान गर्न पाउनु पर्छ कि पर्दैन ? अन्य कोही भएको भए यो हदसम्मको आवाज उठ्थ्यो कि उठ्दैनथ्यो ? अस्मिता कार्कीसंग जोडेर उठेका वैयक्तिक कुरा कति ठिक छन्  ? के यो राज्यप्रतिको असन्तुष्टि हो ? 
यी सवै विषय अनुसन्धान तहकिकात गर्नेले जान्नुपर्छ । तैपनि कतिपय गोप्य राख्नुपर्ने विषय गोप्यनै राख्नु पर्दथ्यो । पीडित परिवारलेनै मागेर भिडियो दिनुपर्ने अवस्था आयो भने पनि प्रहरीप्रति उनीहरुले अविश्वास गरे भन्ने निष्कर्षमा पुग्नुपर्छ । यसले राज्यप्रतिको अविश्वास देखाउँछ ।
जहाँसम्म पक्राउ गर्दा अदालतबाट पूर्जी नल्याई आकस्मिक पक्राउ पूर्जी दिइयो भन्ने प्रश्न छ, यसकोवारेमा यति मात्र भन्न सकिन्छ कि अनुसन्धान गर्नेले पनि विधि प्रक्रिया पुर्याउनु पर्छ र जनताको सेन्टिमेण्ट बुझ्नुुपर्छ । उनी भागेका थिएनन् । एउटा पत्र लेखेर कार्यालयमा हाजिरी गराएको भए के हुन्थ्यो ? त्यसैले अनुसन्धानका लागि पक्राउ गर्नु अनुचित नभएपनि पूर्जी काटेर वा अलि फरक ढंगले पक्रेको भए शायद यस्तो हुने थिएन कि ? तर, यो नै अन्तिम सत्य हैन । फेरि उनलाई समाचारको प्रस्तुतिका कारणले पक्रिएको पनि हैन ।
रह्यो कुरा भिडले गर्ने निर्णय । यो पटक्कै ठिक छैन । यसले अराजकता सृजना गर्छ र कानुनी शासनको धज्जी उडाउँछ । यसवीचमा जसरी प्रदर्शनी भए तीनले दिएको सन्देश रविलाई कुनै छानविन नगरि रिहा गर्नुपर्छ भन्ने हो । के कानुनी राज्यमा यस्तो संभव हुन्छ ? हुँदैन । यसको अर्थ कसैले पनि आफनो धारणा सार्वजनिक गर्नु अनुचित हैन । यस्तो प्रयोग सवै ब्यक्ति, दल, नेता, पेशा वा ब्यावसायिक सस्थाले गर्दै आएका छन् । तर, यस्ता जटिल विषयमा अदालतले निरुपण गर्नुपर्ने मामिलालाई फेसबुक, ट्विटर वा युट्युब जस्ता सामाजिक सञ्जालमार्फत फैसला गर्ने हो भने कानुनी शासन कहाँ रहन्छ ? सडकले निर्दोषीताको प्रमाणपत्र दिनु अनुचित हुन्छ । दिनेनै हो भने तथ्यमा टेकेर प्रमाण मात्र दिनुलाई त्यति अनुचित नमानिएला तर, सडकमै आएर वाध्य पार्न खोज्नु अनुचित हुन्छ । 
अझ चिन्ताको कुरा के हो भने अहिले अस्मितासंग जोडेर जे कुरा आएका छन् त्यो असाध्यै गलत छ । यसले मर्ने त मरिहाल्यो जिउँदालाई पनि मारिएको छ । भोलि उसलाई निर्दोष ठहराउँदा उसको भविष्य के होला ? दोषीनै भएपनि उसलाई बाँच्नु पर्छ कि पदैन ? म्यासेजको स्क्रिनसटले त उ निर्दोषनै भएपनि उसको आचरणमाथि प्रश्न उठायो । के यी सवैको समाचारमूल्य छ ? छ भने ब्यक्तिको जविन ठूलो कि समाचार ? छैन भने यस्ता विषयको निरुपण कसरी गर्ने ?
जहाँसम्म सरकारप्रतिको अविश्वास र निरासाको कुरा हो, सरकारले जतिसुकै धेरै काम गरेपनि जनताको असन्तुष्ठि छ भन्ने बुझेरै अवका स्टेप चाल्नुपर्छ । यसलाई भीडले वा उत्तेजनाले मात्र हो भनेर पन्छिन मिल्दैन । वरु राज्यका तर्फवाट कानुनसम्मत ढंगले पक्राउ गरिएकाले निष्पक्ष छानविन हुन्छ भनेर केही दिन धैर्य गर्नका लागि अपिल गर्न सकिन्छ । 
 जनताका अपेक्षा धेरै छन् । हरेकले आत्मकेन्द्रित भएर सोंच्ने हो भने धेरै नागरिकले केही पनि पाएका छैनन् । सरकार वनेदेखि मुलुकको संरचनात्मक परिवर्तन अनुसार कानुनी ब्यवस्था लगायतका कामले र सत्तारुढ दलको आन्तरिक अब्यवस्थाले सरकारले चाहे जसरी काम गर्न नसकेको सत्य हो । यही कारणले सरकारप्रतिको असन्तुष्ठि वढेको छ र अहिले सडकमा पोखिएका अभिब्यक्तिका केही अंश सरकारप्रतिकै आक्रोस हुन् । 
धमिलो पानीमा माछा मार्ने दाउ
यो घटनालाई सरकारप्रतिको आक्रोस र कुण्ठा भनेर मात्र उम्कने हो भने त्यो पनि अन्याय हुन्छ । यसको पछाडि सरकारविरुद्व प्रोपोगण्डा गर्नेहरुको सक्रियता पनि छ । चितवनमा राप्रपाका बिक्रम पाण्डेले राम्रै मत पाएका हुन् । उनी आर्थिक रुपले काविल छन् । चितवनमा जम्मा भएकालाई हरेक दिन साँझ खानपान गराउने जिम्मा रविकै श्रीमतिको थियो । उनका वावु राप्रपाका जिम्मेवार ब्यक्ति भएकोले पार्टीले आन्तरिक रुपमा निर्णय गरेर ब्यवस्थापन गरेको तथ्य प्राप्त हुनुले आवरणमा जो देखिए पनि भित्री ब्यवस्थापन राप्रपाले गरेको देखिन्छ ।  
कुरा राप्रपाको मात्र हैन जनता सडकमा ल्याउन विप्लव माओवादीको पनि उल्लेख्य भूमिका देखिन्छ । उनीहरुलाई जसरी पनि सरकारविरोधी जनमत देखाउनु पर्ने भएकोले यस्तो भिडलाई उपयोग गर्न खोज्नु अन्यथा हैन । ०६२÷०६३ सालमा आवरणमा एमाले कांग्रेसले आन्दोलनको नेतृत्व गरेपनि भित्री रुपमा जनसागर ओराल्न तत्कालिन माओवादीले ठूलै भूमिका निर्वाह गरेजस्तै अहिले त्यस्तो भूमिका विप्लव माओवादीले गरेको देखिन्छ । पार्टी भूमिगत भएको अवस्थामा यो प्लेटफर्मलाई उनीहरुले राम्रै गरि उपयोग गरेका छन् ।
यता बुटवलको रवि पक्षीय आन्दोलन गर्नका लागि नेपाली कांग्रेसले असाध्यै महत्वपूर्ण भूमिका खेलेको छ । प्रायः सडकमा कांग्रेस, विवेकशील पार्टी र विप्लव माओवादीका कार्यकर्ताले सहकार्य गरेको देखिन्छन् । सम्भवतः यो देशैभरिको सिनारी हो । यसरी हेर्दा सरकारविरुद्वको जनमत तयार गर्ने काममा यो प्रकरणलाई उपयोग गर्न खोजेको देखिन्छ ।  
सामाजिक सञ्जालको अति दुरुपयोग 
अहिले सामाजिक सञ्जालको ब्यापक दरुपयोग भएको छ । नागरिकका महत्वपूर्ण सवालमा उनीहरुको कुनै धारणा  हुन्न । यस्तै प्रकारका घटनामा पनि वोलेको पाइदैन । सम्भवतः सामाजिक सञ्जालले कुनै एउटा विषयमा यति धेरै प्रभाव पारेको यो नै पहिलो घटना हो ।  जहाँसम्म यसलाई नियन्त्रण गर्ने कुरा हो सजिलै त्यस्तो सम्भावना देखिन्न त्यस अर्थमा यो समाजका लागि र मुलुकका लागि चुनौतिपूर्ण छ ।
सामाजिक सञ्जालमा सहभागिताको हिसावले हेर्ने हो भने कुनै सार्वजनिका फोरममा नदेखिएको युवा पंक्तिनै सक्रिय देखिन्छ । कतिपयले नक्कली आइडी खडा गरेर वुिष्टङ्ग गरेका छन् । त्यसैले यिनीहरुको आवाजलाई सुन्ने र सामाजिक सञ्जालको ब्यवस्थापन जरुरी छ । 
अन्तमा हरेक कुरामा नकारात्मक सोंच र चिन्तन हावी भएको अहिलेको परिस्थितिमा युट्यूवलाई अर्थोपार्जनको माध्यम पनि वनाइएको छ । कसैलाई गाली गर्दा वा अस्लिल र अभद्र रुपले हुने यौनका कुरामा जसरी पाठक वढाउन सकिन्छ, सकारात्मक र रचनात्मक विषयवाट सकिदैन । त्यसमानेमा अर्थोपार्जन गर्ने मनोविज्ञानले पनि केही काम गरेको छ । यसरी हेर्दा सरकारप्रतिको असन्तुष्टी, युवाहरुमा देखिएको उच्च महत्वाकांक्षा, घटनालाई सत्ताविरोधी पार्टीहरुले प्रोपोगण्डा गर्ने हतियार वनाउनु, प्रहरीको पक्राउ गर्ने प्रक्रिया अलि अस्वभाविक हुनु, कतिपय स्थापित एवं चर्चित ब्यक्तिले तथ्यभन्दा भावनामा वगेर प्रतिक्रिया दिनु र भावनामा वग्ने आम नेपाली मनोविज्ञान यी सवैको समुच्च रुप रवि लामिछाने पक्राउ पछिको प्रकरण हो । यसको विष्लेषण वहुकोणवाट गरेर मात्र निष्कर्षमा पुग्न सकिन्छ । यो आलेख प्रकाशित हुन्जेल रवि पुर्पक्षका लागि थुना वा धरौटमा रिहा भइसक्ने छन् । तरपनि त्यस कुराले परिस्थितिमा वदलाव आएको मानिने छैन ।

प्राप्त प्रतिकृयाहरू

To Top