पर्यटनमन्त्रीका एक वर्षे प्राथमिकता (पूर्णपाठ) 

राजनीति भाद्र ९ २०७६ ekhabarnepal
Yogesh bhattarai evesd6dyv5

 काठमाडौं, भदौ ९ : संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री योगेश भट्टराईले चालु आर्थिक वर्षमा सम्पादन गरिने प्रमुख प्राथमिकताका कार्यक्रम सार्वजनिक गरेका छन्।  
सोमबार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलन उनले एक चालु आर्थिक वर्ष २०७६/०७७ मा सम्पादन गरिने प्रमुख प्राथमिकताका कार्यक्रम सार्वजनिक गरेका हुन्। 
 कार्यक्रम अनुसार मन्त्री भट्टराईले यही आर्थिक वर्षबाटै लागू हुने गरी ७० वर्ष माथिका वृद्धवृद्धलाई हवाई टिकटमा ५० प्रतिशत छुटको घोषणा गरेका छन्।  त्यसैगरि अपांगता भएका नागरिकलाई हिन्दुहरूका आराध्यदेव पशुपतिनाथका चारै ढोकासम्म पुग्ने गरी ह्वील चियरसहितको पूर्वाधार बनाइने बताएका छन्।  
मन्त्री भट्टराईले नेपाल वायु सेवा निमगका सबै जहाज उडाउने गरी व्यवस्था गरिने बताएका छन्। उनले चीनको गोन्झाउमा उडान भर्ने सहमति आइसकेको पनि जानकारी दिए।  
उनले लुम्बिनीमा मेडिटेसन सेन्टर सञ्चालनका लागि युनेस्कोसँग छलफल गरिरहेको बताए। भट्टराईले त्रिभुवन विमानस्थलमा सम्माननीयलाई मात्रै गाडीसहित जाने व्यवस्था गरिने उल्लेख गरे। 
 मन्त्री भट्टराईले पर्यटन वर्ष २०२० सफल बनाउनका लागि एक नेपाली एक पर्यटक अवधारणा अघि सारेका छन्। उनले नेपाल भ्रमण वर्ष २०२० मा कम्तिमा २० लाख पर्यटक भित्र्याउन प्रमुख १० ओटा स्रोत बजारहरूको पर्यटक आगमन प्रक्षेपण र त्यसका लागि आवश्यक कार्यक्रम संचालन गर्ने बताएका छन्। 
  चालु आर्थिक वर्षमा सम्पादन हुने प्रमुख प्राथमिकताका कार्यक्रमहरूको सार्वजनिकीकरणमा मन्त्री योगेश भट्टराईले प्रस्तुत गरेका प्रमुख बुँदाहरू 
 जनताको परिवर्तनको चाहना र निरन्तरका संघर्ष पश्चात् जननिर्वाचित प्रतिनिधिहरू मार्फत इतिहासमै प्रथम पटक संविधानसभाबाट नेपालको संविधान जारी भएको हो। राजनीतिक परिवर्तनलाई संस्थागत गर्ने कार्य संविधान मार्फत भएको छ। 
जनचाहना केवल राजनीतिक र शासकीय स्वरुपमा मात्र छैन। यसको सार्थकता त आर्थिक सामाजिक रुपान्तरण र त्यसबाट जीवनस्तरमा पर्ने सकारात्मक प्रभावमा रहन्छ।

 वर्तमान सरकारले उल्लेखित पक्षलाई मनन गरी समृद्ध नेपाल सुखी नेपालीको दूरदृष्टी सहित आवश्यक नीति, योजना र कार्यक्रम कार्यान्वयनतर्फ केन्द्रित रहेको छ।

 मुलुकको समृद्धि र जनताको सुख समावेशी विकासबाट सम्भव छ। समावेशी विकासका लागि तुलनात्मक लाभ भएको एक प्रमुख क्षेत्र पर्यटन हो। यसले केवल आर्थिक पक्षमा मात्र योगदान नदिई जनचेतना, रोजगारी, पूर्वाधार विकास, अन्तर्राष्ट्रिय पहिचान र सभ्यताको विकास सम्म टेवा पुर्याउँछ। 

जनताको आधारभूत सम्बैधानिक आवतजावतको हकको सुनिश्चितता र अन्तर्राष्ट्रिय जगतमा हाम्रो पहुँच र पहिचानका लागि समेत नागरिक उड्डयन क्षेत्रको अत्यन्त महत्व रहेको छ। 

विश्वका केही प्राचीन मुलुकहरूको सूचीमा पर्ने नेपालको सभ्यता, संस्कृति, पहिचान आफैमा मौलिक र अद्वितीय छ। यसको संरक्षण र संबर्द्धन आवश्यक छ। 

संस्कृति, पर्यटन र नागरिक उड्डयनका प्रस्तुत पक्षलाई उजागर गरी यसको विकासको माध्यमबाट नेपाली जनताको मुहारमा समृद्धिको मीठो हाँसो हामीले छर्न आवश्यक छ। त्यसका लागि मेरो इमान्दार प्रयास दिनरात रहनेछ भन्ने कुरा सबै संचारकर्मी साथीहरू र राष्ट्रसेवक कर्मचारिहरूका बीच भन्न चाहन्छु। 
पक्कै पनि यस मन्त्रालयमा मेरो आगमन फरक अवस्थामा रह्यो। त्यसैले तपाईंहरू सबैको विश्वास कायम राख्न मैले धेरै मेहनत गर्नु छ। र यसमा तपाईहरू सबैको साथ रहनेछ भन्नेमा म विश्वस्त छु। 

मैले आफ्नो कार्यलाई व्यवस्थित गर्न र परिणाम मुखी उपलब्धी हासिल गर्न मन्त्रालय, यस अन्तर्गतका विभाग र निकायहरूको परामर्शमा एकवर्षीय कार्ययोजना तयार गरेको छु। एक वर्षको समय विकासका लागि धेरै होइन। चालु आर्थिक वर्षमा हुने नियमित कामका अतिरिक्त हामीले प्राथमिकता दिएका केही प्रमुख पक्षहरूमा मात्र यसका केही प्रमुख पक्षहरूमा मात्र अहिले प्रकाश पार्न चाहन्छु।

 कानूनी तथा नीतिगत सुधार परिवर्तन व्यक्तिबाट शुरु हुन्छ तर जव प्रणालीले यसलाई परिपालन गर्छ तव परिवर्तनले दीगोपना र निरन्तरता हासिल गर्छ। प्रणाली विकासका लागि दीर्घकालीन नीतिगत र कानूनी सुधार आवश्यक छ। अत यस अवधीमा यस मन्त्रालयमा मैले प्रणाली विकासको बलियो जग बसाल्ने छु। त्यसका लागि - शासकीय प्रणालीमा आएको परिवर्तन तथा परिवर्तित सन्दर्भ अनुरुप यस मन्त्रालयको कार्यक्षेत्रसंग सम्बन्धित संस्कृति, पर्यटन र हवाई नीतिको परिमार्जन तथा नयाँ ऐन नियमको तर्जुमा र संशोधन गरिनेछ। 

-नेपालको नागरिक उड्डयन क्षेत्रलाई युरोपियन युनियनको Significance Safety Concern (SSC) बाट हटाउन आवश्यक पूर्व शर्तहरू पूरा गर्ने तथा यसका लागि नागरिक उड्डयन क्षेत्रमा नियामक र सेवाप्रदायक निकायको अलग अलग व्यवस्था हुनेगरी नयाँ कानूनहरू तर्जुमा गर्ने।
- नेपालको पर्यटन क्षेत्रको विकासका लागि नयाँ ऐनको मस्यौदा तयार गर्ने।
- लुम्बिनी, पशुपति र जनकपुर क्षेत्र विकास परिषदका नयाँ कानून तर्जुमा गर्ने। 
-साँस्कृतिक सम्पदाको संरक्षण र व्यवस्थापनमा संघ, प्रदेश र स्थानीय तहसमेतको समन्वय र साझेदारी हुने तथा विकास समिति ऐनबाट गठित संस्थाहरूको कानूनी तथा संस्थागत पुनर्संरचना गर्नेगरी साँस्कृतिक सम्पदा संरक्षण र व्यवस्थापन सम्बन्धी छाता कानून बनाउने।
- हालै मन्त्रालयद्वारा गठित कार्यदलले प्रस्तुत गर्ने प्रतिवेदनलाई समेत आधार मानी नेपाल वायुसेवा निगमलाई सार्वजनिक कम्पनीको रुपमा संचालन गर्ने लगायतको सुधारका लागि आवश्यक कानूनी सुधार गर्ने। 

-नेपाली यात्रुलाई अन्तर्राष्ट्रिय मापदण्ड अनुरुपको बीमा सम्बन्धी व्यवस्था गर्नेगरी कानूनको व्यवस्था गर्ने। 

-नेपालमा नागरिक उड्डयनको विश्वसनीयता बृद्धि गर्न Cape-Town-Convention सम्मिलन गर्ने। 

-नेपालका थप पुरातात्विक एवम् साँस्कृतिक महत्वका स्थलहरू तिलौराकोट, रामजानकी मन्दिर र रामग्रामलाई विश्व सम्पदा सूचीमा सूचिकृत गर्ने प्रकृयाको शुरुवात गर्ने। 

-संघीयताको अवधारणा अनुरुप तोकिएका पर्यटन सेवाहरू प्रदेश सरकार अन्तर्गतबाट संचालन गर्ने गरी हस्तान्तरण गर्ने कार्य गरिनेछ। 

-पर्यटन क्षेत्रको विकास र नेपाल भ्रमण वर्ष, २०२० को प्रभावकारिता नेपाल भ्रमण वर्ष २०२० मा कम्तिमा २० लाख पर्यटक भित्र्याउन प्रमुख १० ओटा स्रोत बजारहरूको पर्यटक आगमन प्रक्षेपण र त्यसका लागि आवश्यक कार्यक्रम संचालन गर्ने। 

-UNWTO को सहकार्यमा सन् २०१९ डिसेम्बर अन्त्यमा Global Tourism Ministers' Conclave गर्ने र New Year in Nepal को Theme सहित सन् २०२० जनवरी १ मा विभिन्न देशका पर्यटन मन्त्रीहरूलाई सहभागी गराई Visit Nepal 2020 भव्य शुभारम्भ गर्ने।

- सन् २०२० जनवरी पहिलो हप्ताभित्र विदेशमा रहेका नेपालका सबै कुटनीतिक नियोगहरू, मिसनहरू तथा सातै प्रदेशका राजधानीमा नेपाल भ्रमण वर्षको भब्य शुभारम्भ गर्ने। यसमा सम्माननीयहरू (Big Six), प्रमुख प्रतिपक्षी दलका नेता र विभिन्न राजनैतिक दलका महत्वपूर्ण नेताहरूको उपस्थितिको व्यवस्था मिलाउने। 

-नेपालबाट बाहिरिने पर्यटकको भिषा स्टाम्पिङ, व्यागेज स्टिकर र बोडिङ पासमा नेपाल भ्रमण वर्षको लोगोसहितको स्टिकर राख्ने व्यवस्था मिलाउन अध्यागमन विभाग र सम्वन्धित विमान कम्पनीहरूसंग आवश्यक समन्वय गर्ने। 

-नेपालका प्रमुख प्राकृतिक तथा साँस्कृतिक सम्पदा अंकित विशेष पोष्ट कार्ड बनाई पर्यटकहरूलाई नेपालबाट बिदा हुँदा नेपालको तर्फबाट धन्यवादसहितको उक्त पोष्ट कार्ड विमानस्थलको प्रस्थान विन्दुमा वितरणको व्यवस्था मिलाउने। 

-गैरआवासीय नेपाली संघको नेतृत्वमा एक नेपाली एक विदेशी साथी नेपाल पठाउ अभियान संचालन तथा विदेशस्थित नेपाली नियोगमा यस संस्थाको सहभागितामा Tourist help desk संचालन लगायतका पर्यटन प्रबर्धनका विविध कार्यक्रम सञ्चालन गर्न नेपाल भ्रमण वर्ष २०२० को सचिवालय र NRNA बीच MoU  गर्ने। 

-नेपालमा तथा विभिन्न देशहरूमा हिमाल आरोहीहरूको भेला, गोष्ठी सेमिनार गर्ने (Summiters' Summit)। नेपाल भ्रमण वर्ष २०२० को अवसरमा हिमालको नामाकरण तथा केही हिमाललाई प्रबर्द्धन गर्न रोयल्टी छुटको व्यवस्था मिलाउने। 

-नेपालमा Tourism Investment Summit आयोजना गर्ने। Tourism satellite Accounting (TSA) को काम सम्पन्न गर्ने। 

-पर्यटन यातायात सेवालाई सहज र सरल बनाउने र मूख्य पर्यटकीय स्थलमा सम्वन्धित निकायसँग समन्वय गरी विद्युतीय सवारीसाधनलाई प्रोत्साहन गर्न अध्ययन गर्ने। 

-Kathmandu Valley By Night को अवधारणा अनुरुप काठमाण्डौ, पाटन, भक्तपुर र कीर्तिपुरमा रात्रीकालीन सम्पदा यात्राको शुरुवात गर्ने। 

-पर्यटनको विविधीकरणका लागि प्रदेश सरकार, स्थानीय तह र निजी क्षेत्र समेतको सहभागिता हुनेगरी नमुनाको रुपमा पाथीभरा, शेफोक्सुन्डो, खप्तड र रारा क्षेत्रमा Lonely Eco-Resort संचालनको व्यवस्था हुनेगरी सम्भाव्यता अध्ययन गरी Modality निर्धारण गर्ने। 

-चितवनको नारायणी नदीमा सामुन्द्रिक किनारा (Sea-Beach) को झल्को दिनेगरी नदी किनारामा प्रदेश सरकार, स्थानीय तह र निजी क्षेत्रसहितको सहकार्यमा आवश्यक भौतिक पूर्वाधारको विकास गरी पर्यटकीय गतिविधि बृद्धि गर्न सम्भाव्यताको अध्ययन गरी मोडालिटी निर्धारण गर्ने।

- चितवनको रामनगरदेखि दियालो बंगलासम्म सन्ध्याकालीन पर्यटकीय गतिविधि बृद्धि गर्न नाइट सफारी पार्क (Night Suffari Park) को विकास गर्न सम्भाव्यता अध्ययन गर्ने। 

-नेपाल भ्रमण वर्ष २०२० को लोगो अंकित Arm Band लाई प्रिमियर लिगका क्लवहरूसंग संझौता गरी अन्तर्राष्ट्रिय फूटवल मार्फत प्रबर्द्धन गर्न प्रयास गर्ने। 

-पर्यटकलाई उपलब्ध हुने सेवा सुविधामा गुणस्तरीयता बृद्धि गर्न यस क्षेत्र सम्बद्ध १२००० जनशक्तिलाई क्षमता विकास तालिम दिने। 

- नेपालको पर्वतारोहणलाई थप सुरक्षित, भरपर्दो र व्यवस्थित बनाउन GPS Tracking आवश्यक व्यवस्था मिलाई कार्यान्वयनमा लिने। 

-नागरिक उड्डयन क्षेत्रको सुधार ७० वर्ष माथिका ज्येष्ठ नागरिकलाई आन्तरिक उडानको हवाई भाडामा ५० प्रतिशत छुट दिनेगरी सरोकारवालासंग छलफल गरी कार्यान्वयन गराउने। 

-उड्डयन क्षेत्रका लागि आवश्यक पर्ने जनशक्ति उत्पादन गर्न अन्तर्राष्ट्रिय स्तरको फ्लाइङ स्कुल सञ्चालन संभाव्यताको अध्ययन गर्ने। 

-सबै प्रदेशका राजधानी जोडिनेगरी अन्तर प्रदेश हवाइ सेवा विस्तार गर्न प्रोत्साहन गर्ने।  

-गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको Civil र Mechanical कार्य २०१९ डिसेम्बर भित्र सम्पन्न गर्ने। र अर्को ३ महिनाभित्र परीक्षण उडान गरी व्यवसायिक उडानको पूर्वतयारी गर्ने। यस विमानस्थलमा विदेशबाट उडान गर्ने हवाई कम्पनीलाई प्रोत्साहन गर्न Incentive Package घोषणा गर्ने। 

-निजगढ अन्तर्राष्ट्रिय विमानस्थल (बारा) को निर्माण कार्यमा शिघ्रताको लागि लगानी बोर्डसंग छलफल गरी लगानीको मोडाटिली तयार गर्ने।

- टांगिया बस्ती व्यवस्थापनको मोडालिटी स्पष्ट गर्ने। वृक्षारोपणको लागि क्षेत्र पहिचान गर्ने। वन तथा वातावरण मन्त्रालयसंग समन्वय गरी Site Clearance गर्ने।

- पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको हालको निर्माण गति कायम राख्दै निर्धारित समयअघि नै सम्पन्न गर्ने व्यवस्था मिलाउने। 

-सवै प्रदेश राजधानीका विमानस्थलहरूलाई कम्तिमा ७० सिट भन्दा माथिका जहाज उडान तथा अवतरण हुन सक्नेगरी स्तरोन्नति र विस्तार गर्ने। यसका लागि सुर्खेत विमानस्थलको विस्तार कार्य शुरु गर्ने। साथै, पर्यटकीय दृष्टीले महत्वपूर्ण भरतपुर विमानस्थलको समेत विस्तार कार्य अघि बढाउने। 

-प्रयोगमा नआएका विमानस्थललाई एयर स्पोर्टस एक्टिभिटी सेन्टरका रुपमा विकास गर्न EOI जारी गर्ने। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको एयर ट्राफिक व्यवस्थापन गर्न काठमाडौं नजिकको (रामेछाप) विमानस्थलको स्तरोन्नती गर्ने। 

-काठमाण्डौबाट प्रमुख आन्तरिक एयरपोर्टमा जाने साना जहाजहरूको उडान निरुत्साहन गर्दै जाने। साथै, काठमाण्डौ बाहिरका विमानस्थलबाट दुर्गम क्षेत्रहरूमा हुने उडानलाई प्रोत्साहन गर्ने। 

-आन्तरिक उडानमा Schedule Flight लाई अनिवार्य उडान गर्ने व्यवस्था मिलाउने। तीनकुनेदेखि गौशालासम्मको सडकलाई दुवैतर्फ संचालनको आवश्यक मापदण्ड बनाउने तथा Butification गर्ने कार्यको शुरुवात गर्ने। 

-त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सुधार मुलुकको हालसम्म एकमात्र अन्तर्राष्ट्रिय विमानस्थलको रुपमा रहेको यस विमानस्थलको अवस्था थप सुधार गर्न जरुरी छ। यसका लागि यस विमानस्थलमा यस विमानस्थललाई बुटिक अवधारणा अनुरुप रुपान्तरण गर्न तोकिएका कार्यहरू समयमै सम्पन्न गर्ने। यस विमानस्थलमा ब्यागेज क्लियरेन्सको कार्य ३० मिनेट भित्र सम्पन्न हुने व्यवस्था मिलाउने।

- त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल २४ सै घण्टा सञ्चालनयोग्य बनाउने। बायोमेट्रिक यात्रुजाँच प्रविधि र अनलाइन भिषा र  इ-पेमेन्टको प्रबन्ध मिलाउने। 

-अध्यागमन सेवा, यात्रु लगेज सेवा र विश्रामस्थल लगायतका महत्वपूर्ण स्थानहरूको सी सी क्यामरा मार्फत प्रत्यक्ष निगरानी गर्ने र तत्काल पृष्ठपोषण र सुधार गर्ने प्रणाली विकास गर्ने। 

-अन्तर्राष्ट्रिय मापदण्ड अनुरुप आधारभूत सेवाको व्यवस्थापन र अनुगमन गर्ने। सेवाको गुणस्तरको मान्यता प्राप्त अन्तर्राष्ट्रिय संस्था (ACI World) बाट ग्रेडिङ गर्ने। आन्तरिक उडान तर्फ सम्माननीय (Big Six) लाईमात्र सवारी साधन सहित विमान नजिक जान पाउने व्यवस्था  गर्ने। साथै, VIP Movement सम्बन्धी मापदण्ड परिमार्जन गर्ने। 

-विमानस्थलबाट संचालन हुने पर्यटकीय सवारी साधनमा जीपीएस प्रणाली राख्ने व्यवस्था मिलाउने। पर्यटकीय ट्याक्सी चालकलाई निर्धारित पोशाक र व्यवहारगत तालिम दिने। डिजिटल प्रविधि समेतबाट पृष्ठपोषण लिने व्यवस्था गरी निरन्तर विश्लेषण तथा आवश्यक सुधार गर्ने। 

-विमानस्थलभित्रका पसलबाट उपलब्ध हुने Food and Beverage को मूल्य निर्धारणको सुझाव दिन कार्यदल गठन गरी सुझाव प्राप्त गर्ने तथा कार्यान्वयन गर्ने। 

-अन्तर्राष्ट्रिय प्रस्थान कक्षतर्फ Duty Free Shop को व्यवस्था गर्ने। 

-नेपाल पर्यटन बोर्डको सूचना डेस्कमा धेरै पर्यटक आउने प्रमुख मूलुकका नागरिकले बोल्ने (अंग्रेजी, चिनिया र हिन्दी) भाषाका सहयोगी तथा सूचना ब्रोसर राख्ने। 

-ट्रान्जिट यात्रुका लागि सुविधा सम्पन्न लाउन्ज व्यवस्था गर्ने। 

-साझा यातायात एवम् पर्यटक यातायात संस्थाहरूसंगको छलफल एवं सहकार्यमा विमानस्थलबाट शहरका विभिन्न पर्यटकीय क्षेत्रमा सटल बस सञ्चालन गर्ने व्यवस्था मिलाउन सम्भाव्यताको अध्ययन गर्ने। 

-Transit यात्रुलाई सहज हुनेगरी आन्तरिक र अन्तर्राष्ट्रिय विमानस्थल जोड्ने बाटोलाई व्यवस्थित गर्ने। 

-त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा रहेको इन्धन भण्डारणलाई भूमिगत (Underground) गर्न नेपाल आयल निगमलाई अनुरोध गर्ने र यसका लागि आवश्यक जमीनको प्रवन्ध नेपाल नागरिक उड्डयन प्राधिकरणले गर्ने। 

-संस्कृति तथा पुरातत्व क्षेत्र भूकम्पले क्षतिग्रस्त विश्व सम्पदा सूचीमा रहेका सम्पदा समेत ३८९ सम्पदाको पुनर्निर्माण शुरुवात गरी १५० सम्पदाको पूननिर्माण सम्पन्न गर्ने। 

-कीर्तिपुरमा रहेको जातीय संग्रहालयलाई राष्ट्रिय साँस्कृति संग्रहालयमा रुपान्तरण गर्नेगरी यसको अवधारणा तयार गर्ने र आवश्यक कानूनको मस्यौदा तयार गर्ने। 

-काठमाण्डौ उपत्यका भित्रका विश्वसम्पदाहरूमा UNESCO को चासो संबोधन हुनेगरी कार्ययोजना बनाइ कार्यान्वयन गर्ने। साथै, युनेस्को World Heritage Center को अनुगमनबाट प्राप्त हुने सुझाव समेतको कार्यान्वयन गर्ने। 

-स्थानीय तहसंगको सहकार्यमा नेपालको उपयुक्त पहाडी क्षेत्रमा मैथिली साहित्यका महाकवि विद्यापतिको शालिक स्थापना गर्ने। 

-नेपाल वायुसेवा निगमको सुधार अन्तर्राष्ट्रिय जगतमा नेपालको पहिचान, पहुँच र ग्रामीण जनताको यातायातको साधनको रुपमा यस निगमलाई अघि बढाउन जरुरी छ। यसका लागि निगमको समग्र व्यवस्थापन सुधार कार्यलाई तीब्रता दिने। 

-निगमको वाइडबडी रियाद र गोन्जाउ उडान गर्ने। सबै विमानहरू सञ्चालनमा ल्याउने। 

-Existing Flight Analysis गरी थप गन्तव्यको उडानको व्यवसायिक कार्ययोजना बनाउने। सबै प्रकारका टिकटलाई अनलाइन बिक्रीमा लैजाने व्यवस्था     मिलाउने।

- निगमबाट सञ्चालित विमानस्थलको ग्राउण्ड ह्याण्डलिङलाई थप व्यवस्थित र प्रभावकारी बनाउने। 

-विमानस्थल भित्र यात्रुहरूलाई ५ वटा नयाँ Shuttle Bus बाट सेवा दिने। निगमको टिकट रद्दपछिको रिफण्ड प्रकृयालाई सरलीकृत गर्ने। 

-निगमको DDA (Due Diligence Audit) गराउने। 

-उडान रद्द र ढिलाइको जानकारी विमानस्थलमा यात्रु पुग्नुपर्ने समयको कम्तिमा २ घण्टा अगाडि यात्रुलाई सूचना दिने। (SMS, Email Or Telephone) 

-पशुपति क्षेत्र विकास पाशुपत क्षेत्रको महिमा सहितको Documentry तयार गरी पशुपति क्षेत्रमा यसलाई प्रदर्शनको व्यवस्था मिलाउने। 

-असक्त, बृद्धलाई पशुपतिनाथ मन्दिरको चारै ढोकासम्म पुग्नका लागि आवश्यक भौतिक पूर्वाधार र पर्याप्त संख्यामा ह्वीलचेयरको व्यवस्था गर्ने। 

-पशुपति मन्दिरको अन्तर्राष्ट्रिय महत्व अनुरुप यस क्षेत्रमा प्रसाद घरको प्रबन्ध गरी नियमित प्रसाद वितरणको व्यवस्था मिलाउने। पशुपतिनाथ क्षेत्रमा थप पाँचवटा विद्युतीय सवारी साधन (Electric Cart) को संचालन व्यवस्था गर्ने। यस क्षेत्रमा पर्याप्त संख्यामा आधुनिक शौचालयको व्यवस्था गर्ने। पशुपति परिसरमा डिजीटल कम्प्लेन बक्सको व्यवस्था गरी पृष्टपोषण लिने र सुधार गर्ने प्रणाली विकास गर्ने।

- दाहसंसकार गर्ने विद्युतीय मेसिन विस्तार गर्ने र सेवालाई नियमित बनाउने।

- पशुपतिनाथ क्षेत्रमा सबैभन्दा धेरै संख्यामा आउने धार्मिक पर्यटकलाई लक्षित गरी कम्तिमा ३ भाषामा प्रचार प्रसार सामाग्री तयार गरी नियमित वितरणको व्यवस्था मिलाउने। 

-यस क्षेत्रमा हुने आरतीको यूट्युव मार्फत प्रत्यक्ष हेर्न सकिने व्यवस्था मिलाउने। साथै विशिष्ट महानुभावबाट भएका भ्रमणका Clip समेत समावेश गरी Short Video बनाई प्रचार गर्ने।

- लुम्बिनी क्षेत्र विकास गौतम बुद्ध र मायादेवीका प्राचीन, ऐतिहांसिक कथा तथा बुद्धका सन्देश समेतलाई समेटेर Documentry तयार गरी लुम्बिनी क्षेत्रमा यसको नियमित प्रदर्शन तथा प्रचार प्रसारको व्यवस्था गर्ने। 

-आन्तरिक शान्ति, तनाव व्यवस्थापन तथा पर्यटकको बसाइ अवधि लम्ब्याउने गरी वातानुकुलीत Dark Chanting Room नियमित संचालनको व्यवस्था गर्ने।

- बुद्ध दर्शन, लुम्बिनी, रामग्राम, गौतम बुद्ध र मायादेवी लगायतका प्राचीन, ऐतिहांसिक कथालाई समेटेर खुला नाटक प्रदर्शनको व्यवस्था मिलाउन अध्ययन गरी यसको प्रबन्ध गर्ने। 

-२ वर्षभित्र लुम्बिनी क्षेत्रको गुरुयोजना बमोजिमका बाँकी कार्यहरू सम्पन्न गर्न Detail Action Plan बनाई कार्यान्वयन व्यवस्था मिलाउने। 

-ग्रेटर लुम्बिनी सर्किट गुरुयोजना तयार गर्ने। लुम्बिनी क्षेत्रमा निर्माणाधीन ५ हजार जना अट्ने Global Peace And Meditation Center निर्माण सम्पन्न  गर्ने।

- यस क्षेत्रको ऐतिहासिकतासंग जोडिएको स्थानीय उत्पादनमा आधारित गीफ्ट सपको संचालनको व्यवस्था  मिलाउने।

- नेपाल भ्रमण वर्षको सन्दर्भमा समेत २५६४ औं बुद्ध जयन्ति भव्य रुपमा मनाउने। 

-तेस्रो World Buddhist Conference गर्ने। लुम्बिनीमा अन्तर्राष्ट्रियस्तरको त्रिपिटक वाचन गराउने। 

-UN, Lumbini Development committee को बैठक आयोजना गर्ने।

- लुम्बिनी क्षेत्रको ऐतिहासिकता समेतलाई मध्यनजर गरी ५ लाख फलफूल लगायतका विभिन्न विरुवा कम्तिमा ३ वर्षभित्र रोप्ने व्यवस्था मिलाउनको लागि गुरुयोजना तयार गर्ने।

- (गौतम बुद्ध फलफूल बाटिका) लुम्बिनीमा पर्यटकको वसाइ अवधि बढाउन बौद्ध-बिहार बसाइ (Temple Stay) अवधारणा विकास गरी कार्यान्वयन गर्ने।

- स्थलमार्गबाट लुम्बिनीमा आउने पर्यटकलाई सहज सेवा दिन रुपन्देही बेलहियामा पर्यटक तथा तीर्थयात्री स्वागत केन्द्र निर्माण गर्ने। 

-जनकपुर क्षेत्र विकास रामजानकीका ऐतिहासिक प्राचीन कथालाई समेटी Documentary तयार गरी प्रदर्शनको व्यवस्था मिलाउने। जनकपुर स्थित गंगासागर आरतीलाई व्यवस्थित गर्न लाइटिङ्ग समेतको प्रबन्ध मिलाउने। 

-रामायण सर्किटको डिजीटल डिस्प्ले तयार पारी जनकपुर क्षेत्रमा राख्ने। स्थानीय तहको समन्वयमा जनकपुरमा आधुनिक बिवाह मण्डप निर्माण गर्ने।

- विविध मन्त्रालय र अन्तर्गतबाट भएका कार्यसम्पादनको पारदर्शिता र सूचनामा सहज पहुँचका लागि मन्त्रालयमा Information and Media Center स्थापना गर्ने। 

-नेपालको संस्कृति, पर्यटन र नागरिक उड्डयन सम्बन्धी विषयमा सम्बन्धित क्षेत्रका विज्ञ, सरोकारवाला र निजी क्षेत्र समेतको सहभागितामा मन्त्रालयमा मासिक रुपमा Thematic Round Table Discssion गराउने।

- राष्ट्रिय अभिलेखालयका महत्वपूर्ण ऐतिहासिक तथा पुरातात्विक दस्तावेजहरूको थप ५० हजार पानालाई Digitization गरी संरक्षण गर्ने।

- पर्वतीय पर्यटनमा मौसम पूर्वानुमानलाई थप भरपर्दो बनाउन सम्बन्धित निकायहरूको समन्वयमा विभिन्न क्षेत्रहरूको मौसम पूर्वानुमानको सूचना नियमित रुपले उपलब्ध हुने प्रबन्ध मिलाउने।

- विदेशमा रहेर नेपाली कला, भाषा र साहित्यमा योगदान दिने विदेशी सर्जक/स्रष्टालाई सम्मान गर्न अन्तर्राष्ट्रिय नेपाली साहित्य पुरस्कारको व्यवस्था गर्ने। 

-मन्त्रालय तथा अन्तर्गतका प्रमुख निकायहरूबाट प्रवाह हुने सेवाको गुणस्तर बृद्धि गर्न र नागरिकको पृष्ठपोषण लिने प्रणालीको विकास गर्न Digital Complain Box को व्यवस्था गर्ने।
 

प्राप्त प्रतिकृयाहरू

To Top