नेकपामा नेताबारे सार्वजनिक टिप्पणी गर्न नपाइने, जिम्मेवारी हेरफेर 

राजनीति भाद्र ९ २०७६ ekhabarnepal
Ncp

काठमाडौं, भदौ ९
नेपाल कम्युनिष्ट पार्टी(नेकपा)ले नेता तथा कार्यकर्ताले नेताहरुको व्यक्तिगत विषयमा सार्वजनिक रुपमा टिप्पणी गर्न बन्देज लगाएको छ।

नेकपा केन्द्रीय कार्यालय धुम्बाराहीमा भएको सचिवालयको बैठकले कसैबारे व्यक्तिगत टिकाटिप्पणी पार्टीभित्र गर्नुपर्ने र बाहिर गरिए कारवाही गर्ने निर्णय गरेको हो। बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै प्रवक्ता नारायणकाजी श्रेष्ठले पार्टीभित्र तथ्यसंगत ढंगले उठाउनु पर्ने बताए ।

‘हाम्रो पार्टीको नेता वा कार्यकर्ता वा अन्य कमरेडहरुबारे पार्टीको केन्द्रदेखि तल्लो तहसम्मका कुनै कमरेडहरुले कुनै कुरा व्यक्त रुपमा उठाउनु परे त्यसलाई पार्टीभित्र तथ्यसंगत ढंगले वा आफूलाई लागेको कुराहरु उठाउनु पर्नेछ,’ श्रेष्ठले भने, ‘पार्टीभित्र छलफलको विषय बनाउनु पर्नेछ। त्यसलाई सार्वजनिक रुपमा लगिएमा स्पष्टिकरणको प्रक्रियाबाट अघि बढाउँदै आवश्यक कारवाही गरिने छ।’

पछिल्लो समयमा पूर्व एमाले र पूर्व माओवादी फेसबुकसहितका सामाजिक सञ्जालमा घोचपेच तथा नेताहरुबारे टिप्पणीहरु भएका थिए।

कलाई के जिम्मेवारी?

यसैगरी बैठकले विभिन्न विभाग, जनवर्गीय संगठन, जिल्ला इन्चार्ज र सह इन्चार्जको जिम्मेवारी तोक्ने र हेरफेर गरेको छ । बैठकले किरण राई, पद्म राई, देवेन्द्र पराजुली र कल्पना धमलालाई केन्द्रीय सदस्यमा मनोनित गरेको छ। यो सहित नेकपाको केन्द्रीय कमिटी ४ सय ४२ सदस्यीय भएको छ।

धमला र पराजुली नयाँ शक्ति पार्टी नेपालबाट नेकपामा आएका हुन् भने राई द्वय विप्लव नेतत्वको माओवादीबाट आएका हुन्। त्यसैगरी बैठकले विभिन्न जनवर्गीय संगठनमा प्रमुख तथा उप प्रमुख तोकेको छ। राष्ट्रिय सुरक्षा विभागमा प्रमुखमा भानुभक्त ढकाल, उप प्रमुख रामकुमार राईलाई राखिएको छ। राई यसअघि खोटाङ जिल्लाका सह इन्चार्ज रहेका थिए।

विदेश विभागको उप प्रमुखमा विष्णु रिजाल थपिएका छन्। यो विभागका नेतृत्व माधवकुमार नेपालले गर्दै आएका छन् भने विभागमा राम कार्की अर्का उप प्रमुख रहेका छन्। नीति अनुसन्धान प्रतिष्ठानमा उप प्रमुखमा प्रमेश हमाललाई ल्याएको छ। यसअघि उनलाई ललितपुरको सह इन्चार्ज बनाइएको थियो। प्रतिष्ठानमा प्रमुखमा खनाल रहेका थिए। प्रदेशिक मामिला विभागको उप प्रमुखमा डोरमणि पौडेललाई राखिएको छ। गरिबी निवारण तथा सहकारी विभागमा कमल चौलागाई उप प्रमुख बनाइएको छ।

सम्पर्क विभागमा कर्णाली प्रदेशको प्रमुखमा सत्या पहाडी, त्यसैगरी सुदुर पश्चिम सम्पर्कमा कमिटीका इन्चार्जमा वीरमान चौधरीलाई तोकिएको छ। यसअघि चौधरी कैलालीको सह इन्चार्ज रहेका थिए। चौधरीका स्थानमा दीपक देवकोटालाई सह इन्चार्ज बनाइएको छ।

अखिल नेपाल महिला संघको सह इन्चार्जमा अमृता थापा, सीता पौडेललाई थप गरिएको छ। आदिवासी महासंघ नेपाल र सम्वद्ध संगठनहरुको सह इन्चार्जमा सुरेश आले मगर र शेरबहादुर तामाङलाई थप गरिएको छ। नेपाल दलित मुक्ति मोर्चाको सह इन्चार्जमा तिलक परियार र बमलाल विश्वकर्मालाई थप गरिएको छ। प्रेस संगठनको सह इन्चार्जमा महेश्वर दाहाललाई थप गरिएको छ। जनसंस्कृतिक मञ्चको इन्चार्जमा केदार न्यौपाने र सह इन्चार्ज खगेन्द्र राईलाई तोकिएको छ।

यसैगरी खेलकुद महासंघको सह इन्चार्जमा जीवन घिमिरे र अजम्बर काङमाङ, प्रगतिशील इन्जिनियर एसोसिएसनको सह इन्चार्जमा रामकुमार क्राँकी, शिक्षक सम्बन्ध कमिटीका सह इन्चार्जमा हिक्मत कार्कीलाई सह इन्चार्ज बनाइएको छ।

पर्साको इन्चार्जमा रामचन्द्र साह तेलीलाई नियुक्त गरिएको छ। जिल्ला कमिटीमा भएको परिवर्तन ताप्लेजुङका सह इन्चार्जमा इमकुमार म्याङबो, सुनसरीका सह इन्चार्जमा भगवती चौधरी, सिराहाको सह इन्चार्जमा प्रमोदनारायण यादव, कैलालीका दीपक देवकोटालाई राखिएको छ।

कास्कीको सह इन्चार्जमा चुडामणि जंगलीलाई थप गरिएको छ।

प्राप्त प्रतिकृयाहरू

To Top