सुकुम्बासीहरुले लालपूर्जा पाउनु राष्ट्रको गौरव 

राजनीति भाद्र ९ २०७६ ekhabarnepal
Images

 काठमाडौं,भदौ ९  ।
 करिब ८ लाख भूमिहीन र सुकुम्बासी परिवारको समस्या भूमिको उचित वितरण र ती परिवारको व्यवस्थापन हो भन्दै नेपाल कम्युनिस्ट पार्टीका लागि राष्ट्रिय सभाका प्रमुख सचेतक खिमलाल भट्टराईले मुलुकबाट अब सुकुम्बासी र भूमिहीन छन् भन्ने कुराको अन्त्य हुनु पर्ने माग राखेका छन् ।
आइतबार राष्ट्रिय सभामा छलफलका लागि पेस भएको भूमि सम्बन्धी आठौं संशोधन विधेयकको सैद्धान्तिक छलफलमा भाग लिदै मुख्य सचेतक भट्टराईले भूमिमन्त्रालयले अब भूमिहीन र सुकुम्बासीहरुका नाउँमा अविलम्ब लालपूर्जा वितरण गर्नु पर्ने बताएका हुन् ।
उनले भने, ‘मुलुकमा अब भूमिहीन र सुकुम्बासीहरु छन् भन्ने कुराको अन्त्य हुनु पर्छ । सुकुम्बासी समस्या समाधान गर्ने भन्ने कुरा दशकौंदेखि नगरेर हाम्रो शाख गिरेको छ । सुकुम्बासीहरुले सम्मान पूर्वक लालपूर्जा पाउनु भनेको राष्ट्रको गौरवको विषय पनि हो ।’
नेता भट्टराईले भूमिहीन तथा सुकुम्बासी समस्या समाधान गर्ने उचित बेला आएको भन्दै यसमाथि आजका दिनमा राष्ट्रिय सहमति सरह वातावरण बनेको जिकिर गरे ।
उनले भने, ‘आजको समय हेर्दा यस मुद्दामा लगभग राष्ट्रिय सहमति छ भन्ने मलाई लाग्छ । सबै दलहरुले भूमिहीन र सुकुम्बासीलाई जग्गा दिने भन्ने घोषणा गरेरै चुनाव जितेर आएका छन् । सबैले यो मुद्दाको समाधान चाहेका छन् । अब सुकुम्बासीहरुलाई जग्गाधनी पूर्जा दिएरै सम्मान गर्नु पर्छ ।’
उनले सुकुम्बासी र भूमिहीनहरुलाई जग्गा दिनु पर्ने कुरा कुनै जंगल फँडानी गर्नु पर्ने वा नयाँ जमिन खोज्नु पर्ने विषय नभएको भन्दै भूमिहीन र सुकुम्बासीहरु बसिरहेकै जमिनको व्यवस्थापन गर्ने कुरा नै उक्त मुद्दाको समाधानको सही तरिका रहेको समेत बताए ।
उनले भने, ‘के भूमिहीन र सुकुम्बासीहरुलाई जग्गा दिनु पर्छ भन्ने कुरा नयाँ जमिन खोज्नु पर्ने वा जंगल फँडानी गर्नु पर्ने हो र ? नितान्त जोसँग जमिनको आधिकारिक प्रमाण छैन, र पनि देशैभर कुनै न कुनै जमिनमा बसोबास गर्दै आइरहेका छन् । तिनलाई सोही जमिनको उचित व्यवस्थापन गर्नु हो ।’
सुकुम्बासी समस्या समाधान गर्ने नाउँम यस अघि पनि पटक पटक आयोग बनेको र आजसम्म १५ वटा आयोग बनिसके पनि समस्या ज्यूँकात्यूँ रहेको उनले बताए ।
बहुदलीय व्यवस्था आएदेखि नै बलबहादुर राई, शैलजा आचार्य, ऋषिराज लुम्साली हुँदै गोपाल दहितसम्म आउँदा १५ वटा आयोग बने । तर कामको परिणाम कस्तो आयो भन्ने कुराले आज हाम्रो शाख उच्च बन्न सकेको छैन । समस्या ज्यूँकात्यूँ रह्यो । अब यसको समाधान गर्नै पर्छ कुनै यो सही समय आएको छ ।’
उनका अनुसार भूमिहीन सुकुम्बासी समस्या समाधान गर्नु भनेको सम्बन्धित वास्तविक भूमिहीन र सुकुम्बासी परिवारलाई लालपूर्जा दिने नै हो । अरु कुराले समस्या समाधान नहुने उनको जिरिह छ ।
यस अघि भएका काममा केही गलत नजिर समेत बसेको भन्दै गैरभूमिहीन र जमिन हड्पेर बसेकाहरुलाई भने छानबिन गरेर मात्र वास्तविक भूमिहीनलाई भूमि उपलब्ध गराउनु पर्नेमा उनले सचेत गराएका छन् ।
उनले भने, ‘यदि कसैले त्यस्तो सुकुम्बासी वस्तीमा पनि जग्गा हडपेर बसेको छ । र, अन्यत्र पनि लालपूर्जा छ भने उसले जमिनको मूल्य तिर्नु पर्छ वा छाड्न तयार हुनु पर्छ । गैर सुकुम्बासी र हुकुम्बासीले लालपूर्जा पाउने कुरा रोकिनु पर्छ,’ राष्ट्रिय सभा वैठक पछि निर्माण सञ्चारसँग बोल्दै नेता भट्टराईले भने ।
उनले विधेयक सही समयमा आएको राष्ट्रिय मानोविज्ञान नै सहमतिको उचाइमा रहेको भन्दै यतिबेला यो समस्या समाधान हुनेमा विश्वास समेत व्यक्त गरेका छन् ।
भूमि सम्बन्धी सो विधेयकको स्वागतयोग्य रहेको बताउँदै नेता भट्टराईले यो विधेयक आउँदा सबैभन्दा बढी ध्यान सुकुम्बासी र भूमिहीनहरुको रहेको र अब समस्या समाधान हुन्छ भनी खुसी रहेको समेत बताएका थिए ।


 

प्राप्त प्रतिकृयाहरू

To Top