सरकारले आगो निभाउने उपाय गर्नुपर्छ

राजनीति भाद्र ७ २०७६ ekhabarnepal
Dr ghimire


डी.आर.घिमिरे
पत्रकार शालिकराम पुडासैनीको आत्महत्यामा प्रकरणले अहिले मुुलुक तातेको छ । उनलाई आत्महत्या गर्न बाध्य पारेको आरोपमा टेलिभिजन कार्यक्रम सञ्चालक रवि लामिछाने, पत्रकार युवराज कँडेल र नर्स रुकु (अस्मिता) कार्की पक्राउ गरेर चितवन लगे पछि जिल्ला प्रहरी कार्यालय र जिल्ला अदालत वरपरको स्थिति कावु वाहिर पुगेको छ । स्थिति चितवनको मात्र हैन देशैभरि तात्दैछ । चितवनको राप र ताप बुटवलसम्म आइपुगेको छ ।
चितवनमा सबै दलका जिल्ला तहका नेताहरुले प्रदर्शन नगर्न अपिल गरे पनि प्रदर्शन वढ्दै गएको छ । केही क्षेत्रमा निषेधाज्ञा नै जारी गरे पनि अवस्था नसुध्रिनु अर्को चिन्ताको विषय वनेको छ । जो मरेको छ उसले न्याय पाओस् भन्ने आवाज भन्दा पनि यतिवेला छानविनको दायरामा परेको एकजनालाई रिहाई गर्नुपर्ने आवाज वुलन्द वनेको छ । ‘मलाई मर्ने बाध्य पार्ने तिमी हौ, तिमीलाई नेपालको कानुनअनुसार कार्बाही होस् । हत्यारा तिमी हौ’ भनेर मृत्युपूर्व शालिकरामले गरेको आर्तनादलाई तथ्यले हैन आवेग र भावनामा जवर्जस्त गलत सावित गर्न खोजिदैछ । 
शालिकरामले न्युज २४ टेलिभिजनमा संगै काम गरेका थिए । तत्पश्चात् उनी असन्तुष्ट भएर माउन्टेन टेलिभिजनमा गए । त्यसभित्रका अन्तरनिहित कुरा उनैले जानुन् । तर, एक युवतीलाई बलात्कार गरेको भन्दै रविको समुहले आरोपित गरेको पिडा सहन नसकेपछि उनी डिप्रेसनमा पुगे र आत्महत्या गर्ने अवस्थामा पुगे । मृतक शालिकरामले भिडियोमार्फत् यही भनेका छन् । 
किटानीका साथ अभियोग लागेपछि छानविन हुनु आरोपित ब्यक्तिका लागि पनि आवश्यक छ । यसो गर्दा आरोपको कलंकवाट सदाका लागि निर्दोष हुन सकिन्छ । तर, विडम्वना शुरुका दिनमा छानविनमा सहयोग गर्छु भन्ने रविले त्यस प्रकारको भूमिका निभाउन सकेनन् । वरु भिडको पछि लागेर ‘सेन्टिमेन्ट क्याच’ गर्न खोज्दैछन् । नेपालको प्रमाण ऐन २०३१ को दफा ११ ले कुनै मरेको व्यक्ति आफैँले मर्न लागेको अवस्थामा होश छँदै आफ्नो मृत्युको कारणका सम्बन्धमा व्यक्त गरेको कुरा प्रमाणमा लिने ब्यवस्था भएकोले रवि छानविनका लागि पक्राउ परेका हुन् । 
उनी पक्राउ परेपछि उनीप्रति अन्याय नहोस् भनेर सुभेच्छुकहरुले चिन्ता प्रकट गर्नु अन्यथा हैन । किनकि कैयौं घटनामा प्रहरीले निर्दोषलाई दोषी करार गरेर अभियोग लगाएका उदाहरण पनि छन् र तिनलाई अदालतले छोडेका पनि छन् । तर कानुन हातमा लिने गरिनै यो हदसम्म सडक प्रदर्शन गर्नु सर्वथा अनुचित छ । 
यो घटनाले मिडियाप्रति जनताको सेन्टिमेन्ट कस्तो छ भन्ने पनि सन्देश दिएको छ । उनी कार्ड होल्डर पत्रकार हुन् वा नहुन् उनलाई दुनियाले वुझ्ने पत्रकारकै रुपमा हो । त्यस अर्थमा टेलिभिजनमार्फत् उनले उठाएका विषयवस्तुका कारणनै उनी यति धेरै लोकप्रिय वनेका हुन् । वेथिति र भ्रष्टाचारका विषयले एउटा उमेर समूहको समुदायलाई आकर्षित गरेको रहेछ भन्ने सच्चाइलाई हामीले मान्नैपर्छ । तर, अहिलेको भिडले यो पनि बुझ्न जरुरी छ कि हरेक सुन्दर वस्तुभित्र सडेका चिज पनि हुन सक्छन् । कैयौं साधु सन्तहरु वलात्कारका घटनामा मुछिएका हुन्छन् । भारतमा एकसेएक दिग्गज स्वामीहरुका कर्तुतहरु सार्वजनिक भएपछि जेल परेका उदाहरण त प्रसस्तै छन् । के रविको मामलामा यस्तो हुन सक्दैन भनेर ग्यारेन्टी गर्न सकिन्छ ?
त्यसै पनि भिडले न्याय दिने काम अनुचित हो । यद्यपि मानिसको ठूलो समूह उनको समर्थनमा देखिएको छ । तर, त्यो कस्तो भने कुण्ठा पोख्नका लागि वा निरासाको अभिब्यक्ति हो कि भन्ने देखिदैछ । तर, के यस्तो कुण्ठाले न्याय दिन्छ ? स्वयं रविले पनि महसूस गर्नुपर्छ कि स्वस्फूर्त रुपमा उठेको भिडले सच्चाइलाई पिछा गर्छ भन्ने छैन र न्याय दिन पनि सक्दैन । उनलाई एकछिन लागेको हुन सक्छ मेरो समर्थनमा ठूलो जनमत छ । तर, त्यो जनमतले दिएको न्याय अन्तिम फैसला हैन । विधि र प्रक्रियाले न्याय नदिएसम्म उनी अभियुक्तनै रहिरहन्छन् ।
त्यसैले रविका खास सुभेच्छुकहरुले उनी  निर्दोष सावित होउन् भन्ने चाहना राख्ने हो भने यथाशीघ्र छानविन गरियोस् भन्नेनै हो । यसका लागि असहिष्णु वनेर हैन सहिष्णु वनेर आउनु वुद्विमानी हुन्छ । रविले पनि सुरुका दिनमा जसरी छानविनमा सहयोग पुर्याउने वचन दिएका थिए त्यसरीनै छानविनप्रति सहिष्णु वनेर आफुमाथि लागेको कलंकवाट मुक्त हुनुनै उत्तम विकल्प हो ।  
अहिले सामाजिक सञ्जालको प्रभाव यति धेरै वढेको छ कि मूल धारको पत्रकारितालाई यसैले डोर्याएको छ । कैयौं विषयमा जनमत वनाउनुपर्ने मिडियाहरु सामाजिक सञ्जालकै प्रभावमा परेको अनुभूति हुँदैछ । सामाजिक सञ्जाल र युट्युबमा हल्ला, अफवाह र अनेकन उत्तेजक टिप्पणीहरूका बाढी आएका छन् । आफैं अनुसन्धानकर्मी भएझैं गरेर तथ्यभन्दा धेरै भ्रामक, अनुमान र अफवाह फैलाउने प्रवृत्ति यस्ता सञ्जाल र युट्युबमा बढ्दै गएका छन् ।
सामाजिक सञ्जालवाट कतिसम्म आपराधिक काम भएका छन् भन्ने कुराको लागि एउटै उदाहरण काफि छ । केही दिन अघि सार्वजनिक भएको समाचार अनुसार प्रहरी प्रधान कार्यालयको सचिवालयमा कार्यरत सई विजय यादवले सञ्चारकर्मी लामिछानेलाई हतकडी लगाइरहेको र उनको बर्दीसहितको तस्बिर फेसबुकमा आयो । यसको तथ्य खोज्दै जाँदा थाहा भयो कि २०७० सालमा उनी पर्सामा कार्यरत रहँदा तत्कालीन एसपी हालका प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालको कमान्डमा भारतमा शृंखलाबद्ध हत्या र डकैती मच्चाइरहेको बब्लु दुवेलाई पक्राउ गर्दाको फोटोमा बब्लुको टाउको हटाएर रवि लामिछानेलाई जोडिएको रहेछ । 
राजनीतिक, धार्मिक वा जातीय विषयमा यसरीनै फोटो जोडेर वा फोटोसप चलाएर अनेकन भ्रम सृजना गर्दै जाने हो भने यहाँ कसैले पनि कानुनी राज्य स्थापित गर्न सक्दैन । समाजमा आगो झोस्न सजिलो छ तर, त्यसलाई निभाउन चन्द्रेको वाउले पनि सक्ने छैन । यो हदसम्मको निकृष्ट कार्यले मुलुक कहाँ पुग्छ ? समाज कहाँ पुग्छ ? यस्तो गर्नेलाई कारवाही गर्नुपर्छ कि पर्दैन ? केही दिन यता युट्युबवालाले यस्तै आतंक मच्चाएका छन् । 
केही दिन यता युट्युब वा फेसवुकमार्फत् आएका समाचारका शीर्षकहरु यस्ता छन्– प्रचण्डले रिस फेर्न रविलाई फसाएको खुलासा । २ करोडसँगै रवि सिध्याउने खतरनाक खेलको भयो पर्दाफास । सर्वोच्च अदालतका वकिलले गरे डरलाग्दो खुलासा, हत्यारा पत्ता लाग्यो, रवि लामिछाने निर्दोष सावित । काली माताले खुलाइन् वास्तविकता । 
यस्ता शयका शय प्रतिशत गलत सूचना प्रवाह गर्नेमाथि कारवाही गर्नेतर्फ अव पनि ढिलाइ भयो भने यसले थप जटिल र अप्रिय अवस्था आउने भएकोले गृह प्रशासन सचेत् हुन जरुरी छ । यूट्यूववाला को हुन् जसले पहिलेनै हत्या भयो भनेर घोषणा गर्छन् । यिनीहरुका मुख्यतः दुइवटा उद्वेश्य देखिन्छन्– पहिलो फ्लोवर वढाएर सित्तैमा पैसा आउँछ । अर्थात् दुःख गर्नुपर्दैन । अर्को अस्थिरता सृजना गर्न पनि सकिन्छ । अझ नगिच पुगेर हेर्ने हो भने यिनलाई स्थिरता वा अस्थिरतासंग पनि त्यति चाँसो छैन । पैसा भए पुग्छ । वरु यिनलाई कसले कतिवेला उपयोग गर्छ भन्ने हेक्का नहुन सक्छ । त्यस अर्थमा मसिनो गरि अध्ययन गर्न सकिएन भने र समयमै यसको निराकरण गर्न सकिएन भने धेरै ठूलो समस्या आउनेवाला छ ।
यतिवेला सम्झनु पर्छ यस्ता भिड कसैको  लागि पनि उचित छैनन् । राजनीतिक पार्टीहरुले हेक्का गर्नुपर्छ कि यो अवस्थाले भोलि जो कसैलाई वगाउन सक्छ । यो चुनौति राजनीतिकर्मी र मिडियाकर्मीका लागि मात्र हैन समग्र समाजका लागि हो र सवैका लागि हो । त्यो भिडमा अहिले कतिपय राजनीतिक दलका समर्थक वा सुभेच्छुक पनि होलान् तर तिनीहरु पार्टीले औपचारिक निर्णयले पठाइएका हैनन् । त्यसैले साझा धारणा वनाएर नियन्त्रण गर्नका लागि ढिला गर्नु हुन्न । यो कुरा अर्कै हो कि त्यसका लागि वल प्रयोग गर्नुको साटो अन्य विकल्पहरु के हुन सक्छन् ? त्यो गरिहाल्नु पर्छ । यसका लागि आवश्यक पर्यो भने कर्फ्यूसमेत लागु गर्न सकिन्छ ।

 
 

प्राप्त प्रतिकृयाहरू

To Top