अवको कम्युनिष्ट पार्टी ब्यावसायिक वनाउनुपर्छ 

बिचार भाद्र ४ २०७६ ekhabarnepal
Dr ghimire


डी.आर.घिमिरे
लामो समयदेखि तदर्थवादमा अडिएको नेकपाको एकता प्रकरण ९० प्रतिशत टुंगिएको छ । यसले धेरै कार्यकर्तालाई खुशी यसकारणले वनाएको छ कि अव पार्टी सुविचारित ढंगले चल्छ । यही बाँडफाँडका कारण पार्टी लामो समय तदर्थवादमा चल्यो । यसले धेरैलाई निराश वनायो । निराश मात्र हैन प्राय ः कार्यकर्ता प्रतिपक्ष जस्ता वने । इतिहासमा पहिलोपटक कम्युनिष्ट पार्टीका कार्यकर्ता कम्युनिष्टजस्ता भएनन् । सरकार आफ्नै छ तर, त्यसप्रकारको अनुभूति गरिएन । नत सरकारले कार्यकर्तावाटै त्यसप्रकारको महसूस गर्न पायो । 
यद्यपि कतिपय असन्तुष्टि अझैपनि होलान् तर, पार्टी जीवनलाई असर पर्ने खालको असन्तुष्टि अव हुँदैनकि भन्ने अपेक्षा गर्न सकिन्छ । यद्यपि जनसंगठनको जिम्मेवारी दिने काम अझै बाँकी छ ।  
पार्टीभित्र एउटा पंक्ति असाध्यै असन्तुष्ट रहेको अवस्थामा यो कार्य विभाजनले केही समाधान निकालेको अनुमान गर्न सकिन्छ । खासगरि वामदेव गौतमको असन्तुष्टिले पार्टी सन्तुलनमै असर परेको देखिएकोमा त्यसको समाधान कार्य विभाजनले दिएको छ । यो कार्य विभाजनले सरकारको स्थायित्वलाइ पनि एक हदसम्म ग्यारेण्टी गरेको छ । शायद यही कारणले हो कि गत आइतबार संसदमा सम्बोधन गर्दै प्रधानमन्त्री केपी ओलीले आगामी निर्वाचनपछि मलाई पनि प्रधानमन्त्री पदमा बस्न मन छैन भनेर भन्नुभयो । यो कुराले पाँच वर्षसम्म यही सरकारले सत्ता चलाउने सहमति भएको छनक दिन्छ । 
किनकि अहिले जे गर्न खोजिदैछ त्यो विधान विपरित छ । नेकपाको विधानमा उपाध्यक्षको व्यवस्था छैन । विधानको धारा १८ ले दुई अध्यक्ष, दुई वरिष्ठ नेता, एक प्रवक्ता र एक महासचिव सहित ४४१ सदस्यीय केन्द्रीय समितिको व्यवस्था गरेको छ । तैपनि यो गौतमलाई उपाध्यक्ष वनाउने प्रस्ताव स्थायी कमिटीमा पेश हुने भएको छ । गौतमलाई उपाध्यक्ष वनाउने कुराको संदेश दिएपछि वसेको सचिवालय वैठक तुलनात्मक रुपमा सहज भएको अनुमान गरिउको छ । यद्यपि यो प्रस्ताव पास गर्नु अघि विधान परिवर्तन गर्न जरुरी छ । जहाँसम्म ईश्वर पोख्रेललाई स्कूल विभागको प्रमुख वनाउने निर्णय हो यसलाई स्वभाविक यस कारणले मान्न सकिन्छ कि उनी प्रथम पुस्ताका एकजना सक्रिय नेता हुन् । यसवाट उनलाई पनि सन्तुष्टि मिलेको छ । गौतम र पोख्र्रलको सन्तुष्टिले पार्टीलाई निर्धक्कसंग चलाउने वातावरण वन्नु सकारात्मक पक्ष हो ।
यद्यपि केही समय वरियताको विवादले हलचल ल्याउन सक्छ कि भनेर पनि अड्कल गर्न थालिएको छ । विगतमा तेस्रो वरियतामा रहेका पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले ‘एक व्यक्ति, एक पद’को विषयलाई पुनः अघि बढाउने उद्घोष गरेका छन् । तर, उनको पछिल्लो टिप्पणीले पार्टीको वरियतामा गलतनै भएको रहेछ भन्ने कुरालाई उनले स्वीकारेका छन् । एकीकरणको घोषणा हुँदा उपचारका लागि चीनमा रहेका नेता झलनाथ खनालले आफ्नो वरियता खोसिएको भन्दै ‘नोट अफ डिसेन्ट’ लेखेका थिए । 
 यी सवैका वावजूद कार्य विभाजनले पार्टीलाई एक ढिक्का वनाएको महसूस गरिएको छ । अझैपनि बाकी जिम्मेवारी कसरी बाँडफाँड हुन्छ भन्ने अवस्था नरहेको हैन । तथापि धेरै समस्या हल भएकोले समस्या आउँदैन र आइहाले पनि सहज ढंगले निकास निस्कन्छ भन्ने अपेक्षा गरिएको पाइन्छ । अहिले दुइतिहाइको सरकारले पनि केही गर्न सकेन भनेर सरकारको चौतर्फी आलोचना भइरहेको छ । यो आलोचनाका पछाडि पार्टी राम्रोसंग परिचालन हुन नसकेको तथ्य यथार्थ हो । त्यसैले अवका दिनमा तलदेखि माथिसम्म जुझारु र अनुशासित कार्यकर्तालाई एकढिक्का वनाएर लैजाने हो भने मुलुकले कोल्टे फेर्न समय लाग्दैन ।
के गर्नुपर्छ त अव ?
क्षमता अनुसारको जिम्मेवारी ः
 हरेक कार्यकर्तालाई पार्टीप्रति अपनत्व सृजना गर्ने हो भने जिम्मेवारी बाँडफाँडमा सन्तुलन मिलाउनुपर्छ । विगतमा गरेको योगदानलाई आत्मसात गर्दै काम गर्न सक्नेलाई जिम्मा दिनुपर्छ । जिम्मा दिने मात्र हैन तदनुसारको काम गरे वा गरेनन् भनेर अनुगमन गर्ने ब्यवस्था मिलाउनुपर्छ ।
पार्टीभित्रका विभागहरुलाई परिचालन गर्नु आवश्यक छ । हरेक विभागले काम गर्ने हो भने पार्टीको हितमा धेरै थोक गर्न सकिन्छ । पार्टीको हितमात्र हैन समग्र मुलुकको निर्माणमा पनि उल्लेख्य भूमिका निर्वाह गर्न सक्ने वनाउन सकिन्छ । यसका लागि हरेक विभागले कार्ययोजना वनाएर कामको थालनी गर्नुपर्छ । वदलिँदो अवस्थामा अवको काम भनेको समृद्वितर्फको यात्रा हो । त्यसका लागि उद्यमशीलताको विकास गर्नैपर्छ ।
स्कूल विभागलाई प्रभावकारी वनाउनुपर्छ ः पार्टीको जिम्मेवारी बाँडफाँडमा जुन तानातान भयो अझ खासगरि स्कूल विभागमा भएको विवादले यसको महत्वलाई स्थापित गरेको छ । यो विभाग आफैमा महत्वपूर्ण छ तर, महत्व त्यतिवेला स्थापित हुन्छ जतिवेला यसलाई क्रियाशील वनाउन सकिन्छ । वदलिंदो परिवेशमा पार्टी कार्यकर्तालाई प्रशिक्षणको आवश्यक छ तर, कस्तो प्रशिक्षण ? विगतको जस्तो दर्शन, क्रान्ति, आन्दोलन वा राजनीति मात्र हैन उद्यमशीलताको विकास कसरी गर्ने, पूँजी निर्माण कसरी गर्ने, हरेक कार्यकर्तालाई स्वरोजगार कसरी वनाउने, राष्ट्रिय आवश्यकता यो हो भनेर तदनुसारको वाटोमा कसरी डोर्याउने ? यस्ता विषयलाई सूत्रवद्व गरेर स्कूल विभाग चलाउनु पर्ने अवस्था छ ।
सरकारले नीति कार्यक्रम र वजेटमार्फत् धेरै कार्यक्रम ल्याएको छ तर, तिनको कार्यान्वयन प्रभावकारी हुन सकेको छैन । अवका दिनमा पार्टीले त्यस्ता कार्यक्रमहरु जुरुक्क उचालेर कार्य क्षेत्रमा नजाने हो भने परिणाम आउनेवाला छैन । यो काममा पनि स्कूल विभागले महत्वपूर्ण भूमिका निर्वाह गर्नसक्छ । पार्टी र सरकारकावीचमा नङ्ग मासुको सम्वन्ध हुन्छ भन्ने कुरालाई स्थापित गर्न सकिएन भने सरकार सफल हुने गुञ्जायस हुँदैन । सरकारले वनाएका कार्यक्रमलाई जनस्तरमा लगेर प्रचार प्रसार गर्ने काममा पार्टीले उल्लेख्य भूमिका निर्वाह गर्न सक्नुपर्छ । 
पार्टीलाई कामकाजी वनाउनुपर्छ ःअवका दिनमा पार्टीलाई कामकाजी र छिटो छरितो वनाउन उत्तिकै जरुरी छ । लम्वेतान भाषण गर्ने तरिका छोडेर सूत्रवद्व रुपमा चाहिने कुरा मात्र गर्ने अभ्यास गर्नुपर्छ । हरेकलाई वोल्नैपर्ने र नवोल्दा आफ्नो कद घटेको महसूस गर्ने काम पनि अवका दिनमा छोड्नुपर्छ । नेतृत्वले उपदेश दिने हैन आफै फिल्डमा खटिएर कम्युनिष्ट आचरण, शैली र परम्परालाई आत्मसात गर्ने परम्परा वसाल्नुपर्छ ।
चिनियाहरु किन सफल हुन्छन् भने उनीहरु असाध्यै मेहनती हुन्छन् र कामप्रति उत्तरदायी हुन्छन् । हरेक कम्पनी वा फर्महरुमा पार्टी कमिटी परिचालित हुन्छन् । भ्रष्टाचार गरे मृत्युदण्ड दिन्छन् । हामीले पनि पार्टीका जिम्मेवार नेतालाई वैठक वसाल्ने र भाषण गर्ने हैन कुनै कम्पनी वा फर्मको नेतृत्व गर्ने जिम्मा दिनुपर्छ । सरकार तलदेखि माथिसम्म छ । यस्तो वेलामा स–सानो इकाइमा भएपनि उत्पादनमा लाग्न जरुरी छ । आम जनतालाईनै त्यसतर्फ आकर्षण गर्नु जरुरी छ । गाउँ गाउँमा विभिन्न परियोजना वनाएर तीनवटै वा कुनै एउटा सरकार र जनताको संयुक्त लगानीमा उपयुक्त परियोजनाहरु सञ्चालन गर्नेतर्फ परिचालित हुनुपर्छ ।
 

प्राप्त प्रतिकृयाहरू

To Top