झलनाथ खनाल तेस्रो बरियतामा, नेपालले लेखे ‘नोट अफ डिसेन्ट’,इञ्चार्ज–सहइञ्चार्ज तोकिए

राजनीति भाद्र २ २०७६ ekhabarnepal
Ncp sachiwalaya

 बिशेष कमिटी–जनसंगठन र सम्पर्क कमिटीको इञ्चार्ज–सहइञ्चार्ज तोकिए

काठमाडौं,भदौ २   । नेपाल कम्युनिष्ट पार्टी(नेकपा) को सचिवालय बैठकले तेस्रो बरियतामा नेता झलनाथ खनाललाई बनाएको छ । यो निर्णयसँगै हाल तेस्रो बरियतामा रहेका माधवकुमार नेपाल चौँथो बरियतामा झरेका छन् । 

आइतबार बालुवाटारमा बसेको सचिवालय बैठकले नेता खनाललाई तेस्रो बरियतामा ल्याउने निर्णय गरेको हो । यो निर्णयसँगै बरियता घटुवामा परेका नेता नेपालले असन्तुष्टि जनाएका छन् । 

२०७५ जेठ ३ गते तत्कालिन दुई पार्टी(एमाले र माओवादी केन्द्र) बीच पार्टी एकीकरण घोषणा गर्दा अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’को जोडबलमा नेता नेपाललाई तेस्रो बरियतामा ल्याइएको थियो । 

त्यतिबेला नेता खनाल चीन भ्रमणमा थिए । चीन भ्रमणबाट फर्कैलगत्तै नेता खनालले उक्त निर्णय प्रति चर्को असन्तुष्टि जनाएका थिए । साथै उनले उक्त निर्णय गलत भएको भन्दै त्यसलाई पुर्नविचार गर्न त्यतिबेला सचिवालय बैठकमा माग समेत गरेका थिए । 

त्यतिबेला उनको मागबारे अध्यक्षद्वयलगायत अन्य नेताहरु मौन बसे । तर, पार्टी एकता घोषणा गरेको १५ महिनापछि नेता खनालको माग पुरा भएको छ । 

तत्कालिन एमालेमा अध्यक्ष ओलीपछि दोस्रो बरियतामा नेता खनाल थिए । तर, एकीकृत पार्टी बनेपछि उनी चौथो बरियतामा पुगे । नेकपामा अध्यक्षद्वय ओली–प्रचण्ड पछिको तेस्रोे बरियतामा नेता नेपाललाई ल्याइयो । जबकि नेता नेपाल तत्कालिन एमालेमा खनालपछिको तेस्रो बरियतामा थिए । 

शुक्रबार बसेको सचिवालय बैठकमा अचानक यो बिषयले प्रवेश पायो । पाँचौ बरियतामा रहेका नेता बामदेव गौतमलाई उपाध्यक्षमा ल्याउने प्रस्तावसँगै नेता खनालले पनि आफूले तेस्रो बरियतामा पाउनुपर्ने प्रस्ताव राखेका थिए । 

तर, यतिबेला उनको यो प्रस्तावमा अध्यक्षद्वयसहित सचिवालय अघिकाशं (नेता नेपाल बाहेकका) नेताहरुले सहमति जनाएपनि निर्णय भने हुन सकेको थिएन । 

बैठकमा नेता खनालको दावी आएपछि नेता नेपालले पनि तत्कालिन एमालेकै अनुसार पार्टीलाई अगाडि बढाउने भए तत्कालीन उपाध्यक्षहरु युवराज ज्ञवाली, अष्टलक्ष्मी शाक्य र भीम रावललाई सचिवालयमा ल्याउनुपर्ने प्रसंग जोडेका थिए । 

तर, आजको बैठकले नेता खनालको माग पुरा गरेसँगै नेता नेपाल पक्ष भने असन्तुष्ट बनेको छ । 

वरिष्ठ नेता माधव नेपालले चौथो बरियतामा झरेपछि  ‘नोट अफ डिसेन्ट’ लेखेका छन् ।

 बैठकले उपत्यका विशेष जिल्ला कमिटीको इन्चार्जमा लिलामणि पोखरेल, सहइन्चार्ज भानुभक्त ढकाल र अरुण नेपाल तोकेको छ । सो कमिटीको अध्यक्ष राजन भट्टराई र सचिवमा लेखनाथ न्यौपाने तोकिनुभएको छ । सो कमिटी मातहतको युवा विद्यार्थी विशेष कमिटीमा इन्चार्ज माधव ढुंगेल, सहइन्चार्ज कृष्ण केसी, अध्यक्षमा रमेश मल्ल र सचिव सुनिता बराल तोकिनुभएको छ ।

यस्तै मजदुर विशेष जिल्ला कमिटीमा इन्चार्ज विना श्रेष्ठ, सहइन्चार्ज कुमार पौडेल, अध्यक्ष जगत सिंखडा र सचिव नरनाथ लुइटेल, पेशागतमा इन्चार्ज केशव नेपाल, सहइन्चार्ज प्रमेख खनाल, अध्यक्ष प्रेम पराजुली र सचिव तीर्थराज केसी तोकिनुभएको छ । यस्तै उद्योगी व्यवसायी विशेष जिल्ला कमिटीमा इन्चार्ज पार्वत गुरुङ, सहइञ्चार्ज शशी श्रेष्ठ, अध्यक्ष रामप्रसाद सापकोटा र सचिव चन्द्र रिजाल तोकिनुभएको छ । केन्द्रीय सम्पर्क समन्वय कमिटी इन्चार्ज छविलाल विश्वकर्मा र सह डिलाराम आचार्य, झक्कु सुवेदी तोकिनुभएको छ भने अध्यक्षमा प्रल्हाल बुढाथोकी र सचिव नरेन्द्र श्रेष्ठ तोकिनुभएको छ । बैठकले सो कमिटी मातहतको सातै प्रदेशको अध्यक्ष र सचिव तोकेको छ ।

जनवर्गीय संगठनतर्फ ट्रेड युनियनको इन्चार्ज जयपुरी घर्ती र सहइन्चार्ज विनोद श्रेष्ठ, किसान महासंघको इन्चार्ज बामदेव गौतम र सहइन्चार्ज सुनिल मानन्धर तोकिनुभएको छ । अनेमसंघ इन्चार्जमा गोमा देवकोटा र सहइन्चार्जमा कमला रोक्का, राष्ट्रिय युवा संघमा इन्चार्ज महेश बस्नेत, सहइन्चार्ज रामप्रसाद सापकोटा दिपशिखा, अनेरास्वबियूमा इन्चार्ज हितमान शाक्य र सहइन्चार्ज विनोद ढकाल तोकिनुभएको छ । यसैगरी वुद्धिजिवीको इन्चार्जमा अग्नि सापकोटा र सहइन्चार्जमा टंक कार्की, पेशागत महासंघको इन्चार्जमा पम्फा भुसाल र सहइन्चार्जमा विश्वनाथ प्याकुरेल तोकिनुभएको छ ।

यस्तै प्रेस संगठन नेपालमा राजेन्द्र गौतम इञ्चार्ज, ओम शर्मा सहइञ्चार्ज, मानवअधिकार एलाइन्समा थममाया थापा इञ्चार्ज, सत्या पहाडी सहइञ्चार्ज, खेलकुद महासंघमा गणेशमान पुन इञ्चार्ज, हिक्मत कार्की सहइञ्चार्ज, कानून ब्यवसायीमा देव गुरुङ इञ्चार्ज, धर्मनाथ साह सहइञ्चार्ज तोकिनुभएको छ । यसैगरी भूमीहिन सुकुम्कासीमा रामप्रित पासवान इञ्चार्ज, सन्तकुमार चौधरी सहइञ्चार्ज, अपांगता महासंघमा दिपेन्द्र पुन इञ्चार्ज, जया घिमिरे सहइञ्चार्ज, इञ्जिनियरको संस्था पीनमा मनोज थापा इञ्चार्ज, शिक्षक सम्वद्ध संगठनमा मणि थापा इञ्चार्ज र जीवन घिमिरे सहइञ्चार्ज तोकिनुभएको छ ।

यस्तै उद्योग ब्यवसायी महासंघमा मुकुन्द न्यौपाने इञ्चार्ज, श्रीराम ढकाल सहइञ्चार्ज, भूपू सैनिकमा सन्तु दराई इञ्चार्ज, हरि राई सहइञ्चार्ज तोकिनु भएको छ । यस्तै आदीवासी जनजाती महासंघ इञ्चार्जमा गोकुल घर्ती, सहइञ्चार्जमा कमानसिंह लामा, राष्ट्रिय जनसाँस्कृतिक महासंघमा खगेन्द्र राई इञ्चार्ज, गोपाल ठाकुर सहइञ्चार्ज, मुस्लिम संगठनमा हकिकुल्ला खाँ इञ्चार्ज, दलित मुक्ति संगठनमा जगत बिक इञ्चार्ज, दलजित श्रीपाली सहइञ्चार्ज तोकिनु भएको छ ।

नेकपाले प्राध्यापक सम्वद्ध संगठनको इञ्चार्जमा डा. युवराज खतिवडा इञ्चार्ज र नारायण शर्मा सहइञ्चार्ज, स्वास्थ्य सम्वद्ध संगठनमा सुजिता शाक्य इञ्चार्ज, अञ्जना बिसंखे सहइञ्चार्ज तोकेको छ । यस्तै बिपद ब्यवस्थापन सम्वद्ध संगठन इञ्चार्जमा डा. गंगालाल तुलाधर र सूर्य सूवेदी सहइञ्चार्ज, प्रतिष्ठान सम्वद्ध संगठनमा इञ्चार्ज तुलबहादुर गुरुङ, सहइञ्चार्ज धर्मशिला चापागाई, बैदेशिक रोजगारमा श्रीप्रसाद साह इञ्चार्ज, लक्ष्मण पन्त सहइञ्चार्ज तोकिएको छ ।

यसैगरी सहकारीमा धर्मदत्त देवकोटा इञ्चार्ज, पशुपति चौलागाई सहइञ्चार्ज, उपभोक्त हित सम्वद्ध संगठनमा देवी ज्ञवाली इञ्चार्ज र जोखबहादुर महरालाई सहइञ्चार्ज तोकेको छ । बैठकले पार्टी स्कूल बिभागको उपप्रमुखमा बेदुराम भुसाललाई थप गरेको छ भने किसान महासंघको संयोजकमा हरि पराजुलीलाई चयन गरेको छ ।

प्राप्त प्रतिकृयाहरू

To Top